नेपालको जितमा अन्जनको गोल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । तीनवर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

८३औं मिनेटमा अन्जन विष्टले नेपालका लागि निर्णायक गोल गर्नुभएको थियो । सुनिल बलको क्रस पासमा उहाँले पोस्ट नजिकैबाट गोल गर्नुभएको हो । राष्ट्रिय टोलीका लागि उहाँको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । उहाँ खेलको प्लेयर अफ द म्याच पनि चुनिनुभयो ।

त्यसबाहेक खेलमा पटकपटक मौका पाएपनि दुबै टोलीले सदुपयोग गर्न सकेनन् । खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले पाएको सुवर्ण अवसर खेर फाल्नुभयो । उहाँले पोस्ट नजिकै बल पाएपनि ढिला प्रहार गर्नुभयो । ११औं मिनेटमा गोलरक्षक दीप कार्कीले खतरा टार्नुभयो । काउन्टर अट्याकमा पाकिस्तानका एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न सक्नुभएन । उक्त बल कार्कीले नियन्त्रणमा लिनुभएको थियो । ४५औं मिनेटमा अब्दुल्लाह इकवलको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

यस खेलमा गोलरक्षक दीप कार्कीले पहिलो रोजाईमा मौका पाउनुभयो । नियमित गोलरक्षक तथा कप्तान किरण चेन्जोङ भारतमा आइलिग खेल्न व्यस्त रहनुभएका कारण उहाँले मौका पाउनुभएको हो । नेपाली टोलीको कप्तानी रोहित चन्दले गर्नुभएको थियो ।

नेपालको डिफेन्समा कप्तान रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र सुजल श्रेष्ठ तथा मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सेसेहाङ आङ्देम्वे हुनुहुन्थ्यो भने फरवार्डमा अन्जन विष्ट, विमल घर्तीमगर र आयुष घलान हुनुहुन्थ्यो ।

यसै खेलमार्फत मिडफिल्डर आवास लामिछानले राष्ट्रिय फुटबल टोलीमा डेब्यु गर्नुभएको छ । आवास ५७औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । आवासले गत सिजन विभागीय नेपाल एपिएफ क्लबबाट खेल्दै आहा गोल्डकपको उपाधि जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?