आज मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाइने

स्वच्छ र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न समितिको निर्देशन

कृष्ण भुसाल
Read Time = 12 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले आज (बिहीबार) मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बिहीबार मध्यरात पछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, ‘विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । कानुनमा मौन अवधि भनेको रहेनछ । शून्य समय पनि भन्यौँ । तर, ४८ घण्टा भनेको स्थिर समय हो ।’ भण्डारीले भन्नुभयो, ‘आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुनेछ ।’ यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । यस्तै, निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार (हिजो) राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला हुनेछन्  । त्यस्तै, निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय आयोगले गरेको छ ।

यस्तै, उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन गृह मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । बुधबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमार्फत मातहतका सबै निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन गृह मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको हो । बैठकले निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायत कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू नगर्न नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार चुनावी मैदानमा छन्  । एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि आयोगले १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकेको छ । आयोगका अनुसार निर्वाचनमा दुई लाख ४७ हजार कर्मचारी खटिएका छन् । त्यस्तै, निर्वाचन सुरक्षामा दुई लाख ९८ हजार म्यादी सहितका सुरक्षाकर्मी परिचालन हुँदै छन् ।

सुनसरी ४ (२) मा लोसपाका सन्तोष मेहताको उम्मेदवारी खारेज
निर्वाचन आयोगले सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा उठ्नुभएका लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जनाएको छ ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानुनी व्यवस्थाबमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको आयोगले उल्लेख गरेको छ ।

मेहताको उम्मेदवारी बदर भए पनि नयाँ छपाइ गरी मतपत्र लैजान समय अभावका कारण असम्भव भएकाले उहाँको चुनाव चिन्हमा परेका मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

देशभरको निर्वाचन सुरक्षा चुस्त : गृह
गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको छ । गृह सचिव विनोद प्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको बताउनुभयो । उहाँले निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्थालाई सुनिश्चितता गरिएको छ ।

हामीले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरू सम्पन्न गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसबाट प्रदेश र जिल्लास्तरका सुरक्षा निकायहरूसँग, समितिहरूसँग छलफल भएको छ । त्यहाँ सबै ठाउँको प्रतिवेदनको आधारमा हेर्दा सुरक्षा व्यवस्था चुस्त छ ।’ उहाँले हरेक मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेर आवश्यकता अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो ।

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै, विभिन्न ६ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार सहितको प्रतिनिधिमण्डल नेपाल आउँदै छ ।

यस्तै, बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भुटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारीको टोली नेपाल आउँदै छ । श्रीलंकाबाट दुई निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण कोरियाबाट इलेक्सन कमिस्नर किम चाङ-बोसहितको टोली नेपाल आउन लागेको पनि आयोगले जनाएको छ । उहाँहरू काठमाडौं उपत्यकालगायत नजिकका जिल्लामा पर्यवेक्षणका लागि जानेछन् ।

यसैगरी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्ति पनि चुनावी पर्यवेक्षणमा खटिनेछन् । निर्वाचन आयोग ऐनको दफा ६ ले कुनै स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि निर्वाचन आयोगले अनुमति दिन्छ ।

उपत्यकामा मतदानको दिन बिहान चार बजेदेखि सवारीसाधन सञ्चालनमा प्रतिबन्ध
काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान चार बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान चार बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्ड अनुसारका अनुमति प्राप्त सवारी साधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ ।

निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा बिक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?