थरिथरिका मतदाता : तपाईं कस्तो ?

A A- A+

✍️ डा.शान्तिकृष्ण अधिकारी

आज राति १२ बजेबाट आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने प्रचारप्रसारको कामको अन्त्य हुनेछ । त्यसपछिको मौन अवधिमा विगतका अभ्यासलाई हेर्दा उम्मेदवारहरू मतदाताका घरमा सुटुक्क गएर आफूसँग सहमत गराउने कार्यलाई भने रोक्दैनन् तर खुलेयाम मलाई भोट दिनुस् र फलानालाई नदिनुस् भने भन्दैनन् । निर्वाचन कानुनअनुसार आजबाट आफ्ना राम्रा कामका र योजनाका बारेमा मतदाताहरूलाई बताउने र अरूका हावादारी योजनाका सन्दर्भमा खिल्ली उडाउने कर्मको पूर्णतः समापन भएको छ । यसर्थमा भन्नु पर्दा आजसम्ममा उम्मेदवारका बारेमा मतदाताहरूले जे जति बुझ्न पाए, त्यसैका आधारमा नै भावी पाँच वर्षका लागि आफ्नो अधिकार नेतालाई सुम्पँदै प्रतिनिधि छान्नुपर्ने छ ।

चुनावी प्रचारप्रसार कार्यको अन्त्य भएसँगै अब फुटबल पूर्णतः मतदाताको खुट्टामा आएको छ । पेनाल्टी किक हान्दा त गोलपोस्टमा एकजना गोलकिपर अवरोधका रूपमा उभिएको हुन्छ, चुनावको यो खेलमा मतदाताका अगाडि त्यही एकजना गोलकिपर पनि रहने छैन । आफ्नो खुट्टामा आएको बललाई गोलपोस्टभित्र हानेर विजयतिर पाइला लम्काउने कि गोलपोष्ट बाहिर बल फ्याँक्ने मतदाताकै हातमा निर्भर छ । आफू र आफ्ना सन्ततिको उज्ज्वल भविष्यको कामना गर्ने मतदाताले गोलपोष्टभित्र बल प्रहार गर्ने प्रयास गर्दछन् भने देश र सन्ततिका जीवनका बारेमा रत्तिभर नसोच्नेहरूले के गर्छन् यसै भन्न सकिन्न ।

कुन दर्शन, सिद्धान्त, विचारले मुलुक र जनतालाई अग्रगमनतर्फ लैजान्छ भन्नेमा व्यक्तिपिच्छेका अलग-अलग धारणा रहेको पाइन्छ । कुन व्यवहारको नेता जनताका समस्यामा सम्वेदनशील हुन्छ भन्नेमा पनि समाजको आआफ्नै मान्यता विकास भएको देखिएको छ ।

फुटबलमा गोल गर्ने भनेजस्तो चुनावमा सही ठाउँमा मतदान गर्ने भनेको संविधान, ऐन, कानुनहरूको संरक्षण र सम्बद्र्धन गर्ने प्रयासमा सामेल हुनु हो । उद्देश्य बमोजिमको कार्यमा सक्रिय उम्मेदवारहरूलाई मतदान गरी चुनाव जिताउन सकियो भने सफलता प्राप्त हुन्छ । अन्यत्र मतदान गर्न पुगियो भने फुटबल खेलमा गोलपोस्टबाहिर बल हाने जस्तै हुन्छ । सारांशमा भन्नु पर्दा खाली गोलपोस्ट पाउँदा खेलाडीले कदापि पोस्ट बाहिर बल फ्याँक्नु हुँदैन । त्यसैले स्थिर, धीर र देशप्रति चिन्तित रहेर उपयुक्त तरिकाले मतदान गर्नुपर्दछ ।

विसं २०४८ देखिका चुनावहरूमा भएका मतदानहरूलाई विश्लेषण गर्दा विभिन्न खाले मतदाता देखिएका छन् । कस्तो उम्मेदवारलाई जिताउने भन्नेमा फरकफरक सोच रहेको पाइन्छ । राजनीतिक वादहरूका कारण पनि मतदाताहरूका रोजाइमा भिन्न भिन्न राजनीतिक दलहरू पर्ने गरेका छन् । कुन दर्शन, सिद्धान्त, विचारले मुलुक र जनतालाई अग्रगमनतर्फ लैजान्छ भन्नेमा व्यक्तिपिच्छेका अलग-अलग धारणा रहेको पाइन्छ । कुन व्यवहारको नेता जनताका समस्यामा सम्वेदनशील हुन्छ भन्नेमा पनि समाजको आ-आफ्नै मान्यता विकास भएको देखिएको छ । यिनै मतदाताका छुट्टाछुट्टै मतदानशैलीलाई विश्लेषण गर्दा नेपालमा भएगरेका मतदान गर्ने आधारहरू र मतदाताहरूका प्रकारलाई केलाउने प्रयास गरिएको छ ।

१) विवेकशील मतदाता :
यस प्रकारका मतदाता अत्यन्त सानो संख्यामा भेटिन्छन् । विवेकशील मतदाताहरूले राजनीतिक दलहरूका घोषणापत्रहरूको अध्ययन गर्ने गर्दछन् । घोषणापत्रमा सम्पन्न हुनसक्ने कार्यहरूको मात्रै योजना प्रस्तुत गरिएको छ कि जनतालाई गुमराहमा राख्न अतिरञ्जित गरी योजनाहरू प्रस्तुत गरिएको छ भनी मूल्यांकन गर्ने गर्दछन् । त्यो दलको जनशक्ति र क्षमता घोषणापत्रमा उल्लेख गरिएबमोजिमका कुराहरू सम्पन्न गर्न योग्य छन् कि छैनन् भन्ने पनि चिन्तन गर्दछन् र आफ्नो मत कहाँ हाल्ने भनी निर्णय गर्दछन् ।

यही पटकको चुनावका लागि लेखिएको घोषणापत्रको अध्ययनमात्र होइन कि विवेकशील मतदाताहरूले राजनीतिक दलहरूका विगतका वाचाहरूका सन्दर्भमा समेत विश्लेषण गर्दछन् । बोल्नका लागि बोली दिने, जनतालाई आफूतर्फ आकर्षित गर्नका लागि मात्र योजना प्रस्तुत गर्ने र चर्का नारालाई चुनावी मुख्य हत्कण्डा बनाएर जनता ढाँट्न माहिर राजनीतिक दलहरूको पहिचानसमेत गर्दछन् र आउँदो निर्वाचनमा कसलाई विजयी बनाउने भन्ने निक्र्यौल गर्दछन् । सकेसम्म गलत उम्मेदवार र खराब राजनीतिक दलमा आफ्नो मत नजाओस् भनी गम्भीर हुने गर्दछन् ।

कोही स्वतन्त्र उम्मेदवार छ भने पनि ऊ के कति कारणले उम्मेदवार बन्यो र उसलाई मत दिन हुन्छ कि हुँदैन भन्नेमा ध्यान दिने पनि यही विवेकशील मतदातावर्ग नै हो । कुनै राजनीतिक दलका सिद्धान्त, विचार र आदर्श त उपयुक्त छन् तर त्यो दलको उम्मेदवार आफ्नो क्षेत्रमा गलत प्रवृत्तिको पर्‍यो भने के गर्ने भन्ने पनि सोचेरमात्रै निर्णय गर्दछन् । सारांशमा भन्नु पर्दा लोकतन्त्रको संरक्षण गर्न सक्ने, संविधानका उद्देश्यबमोजिमका कार्य गर्नसक्ने, कानुनी राज्यको अवधारणालाई सदा मान्ने र सोहीअनुसारका कार्यहरूमात्र गर्ने उम्मेदवार नै यो वर्गको रोजाइमा पर्दछन् ।

आफ्नो क्षेत्रको उम्मेदवार पहिलोपटक चुनावमा लड्दैछ भने उसलाई विश्वास गर्ने आधारको खोजी गर्दछन् । यसभन्दा अघि पनि चुनाव लडेर पटक–पटक जितेको व्यक्ति नै पुनः उम्मेदवारका रूपमा अगाडि आएको छ भने उसका विगतका क्रियाकलापको समीक्षा गर्दै उसलाई भोट दिने र नदिने भनी निश्चय गर्ने वर्ग पनि यही नै हो । यो वर्गको आफ्नो भन्ने कोही हुँदैन । खालि देश र जनताका लागि को योग्य छ र को छैन भन्नेमा संवाद गर्दै जो मुलक र मुलकवासीप्रति समर्पित छ, उसैलाई चयन गर्नु नै आफ्नो धर्म ठान्ने वर्ग विवेकशील मतदाताको वर्ग हो ।

२) दलप्रति आस्थावान् मतदाता :
नेपालमा यस्ता मतदाताहरू पाइन्छन् जसलाई कुनै कुराको मतलबै हुँदैन खालि आफूले आस्था राखेको दलले चुनाव जित्छ कि जित्दैन भन्नेमात्रै हुन्छ । विगतदेखि यही दललाई भोट दिँदै आइयो, आफ्ना बाआमाले पनि यसैलाई भोट दिए, हजुरबा हजुरआमाको पनि यही दल प्यारो थियो । त्यसैले यसैलाई भोट दिइन्छ भन्ने मतदाताहरूको संख्या अधिक छ । हजुरबाले मत दिँदा त्यो पार्टीका नेताको सिद्धान्त र व्यवहार कस्तो थियो र वर्तमानमा के छ भन्ने वास्तै नगर्ने मतदाताहरू प्रशस्तै भेटिन्छन् । आफ्नो हात काटे पनि अन्यत्र त भोट दिइँदैन भन्नेहरूले नै नेपालका राजनीतिक दलहरूलाई जीवित राख्दै आएका छन् ।

खासमा यो प्रवृत्ति भएका राजनीतिक दलहरूका कार्यकर्ता हुनुपर्ने हो तर यहाँ मतदाताहरू छन् । कार्यकर्ता भनिएका मौका नपाए अर्को दलमा जाने, आर्थिक लाभ गर्न नसके आफू संलग्न रहेका दलका विरुद्धमा जाने र अन्यत्रबाट प्रलोभन आएमा आफ्नै दलका उम्मेदवारका विरुद्धमा सक्रिय हुने गर्न थालेका छन् तर मतदाताहरू भने अविचलित नै छन् । यस्ता मतदाता नेपाली कांग्रेसका पक्षमा ठूलो संख्यामा देखिन्छन् भने नेकपा एमालेका पनि त्यस्तै हाराहारीमै छन् । यिनलाई आफ्ना पार्टीका नेताहरू भ्रष्टाचारमा संलग्न भए कि भएनन्, संविधानविरोधी कार्यमा होमिए कि होमिएनन्, कानुन तोड्न कत्तिको तल्लीन भए, जनताको आस्थाको थलो संसद्को स्थिरताका लागि काम गरे कि संसद्लाई पंगु बनाउन क्रियाशील रहे जस्ता कुराहरूको वास्तै नरहेको देखिन्छ ।

हामीलाई झुक्याएर नेतामात्रै धनी बने, जनतालाई कंगाल बनाउने काम गरे, हाम्रा गाउँको स्तर बढाउनेतर्फ अग्रसर भएनन् भन्ने पनि मतलब नगरी आफूले विश्वास गर्दै आएको पार्टीको नेतालाई नै मतदान गर्दछन् । सत्तामा रहँदा कुन दलले समाजवादको नारा दिएर त्यसैका लागि कार्यक्रमहरू ल्यायो, कुन दलले साम्यवादको नारा दिएर पूँजीवादको चरम रूपलाई आत्मसात् गर्‍यो भन्ने पनि चिन्तन गर्दैनन् । कुन दलका नेताले प्रधानमन्त्री निवास रहेको बालुवाटारै आफ्ना नाममा ल्याउने प्रयत्न गरे या कुन दलका नेताले चाहे जति नगरे पनि विकासका केही पूर्वाधारहरू खडा गरे भन्ने पनि नसोची आफ्नो पुरानो विश्वासलाई डग्मगाउन नदिने मतदाताहरू पर्याप्त भेटिन्छन् ।

३) हौवाका पछि लाग्ने मतदाता :
प्रत्येक चुनावमा कसैको न कसैको एक्कासि लहर आउने गर्दछ । गगन थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, प्रदीप पौडेलहरू जस्ता केही नेताहरू छन् जो दशकौंदेखि राजनीतिका माध्यमबाट देश र जनताका सेवामा जुटेका थिए र विश्वास पनि आर्जन गरेका थिए, त्यसैले तिनका बारेमा केही बढी चर्चा परिचर्चा हुँदा अचम्म मान्नुपर्ने हुँदैन । उनीहरूले चुनाव जित्नु भनेको सामान्य नै हो, हारे भने केही प्रश्नहरू उब्जिएलान् तर मुलुक र मुलुकवासीका नाममा एकपटक सिन्को पनि नभाँचेकाहरू चुनावमा उभिन्छन्, त्यस्ताका बारेमा पनि चुनावी लहर व्यापकरूपमा आउने गरेका कुरालाई भने सरलरूपमा विश्लेषण गर्न सकिँदैन ।

राजनीतिक दलहरूका विरुद्धमा चर्का नारा लगाउँदैमा जो कसैका पक्षमा त्यत्तिकै लहर आउँदैन । विकृतिहरूका विरुद्धमा आवाज उठाउँदै आएको कोही छ र ऊ चुनावमा स्वतन्त्र रूपमा आयो भने पनि उसले त्यति चर्चा सहजै पाउन सक्दैन ।

राजनीतिक दलहरूका विरुद्धमा चर्का नारा लगाउँदैमा जो कसैका पक्षमा त्यत्तिकै लहर आउँदैन । विकृतिहरूका विरुद्धमा आवाज उठाउँदै आएको कोही छ र ऊ चुनावमा स्वतन्त्र रूपमा आयो भने पनि उसले त्यति चर्चा सहजै पाउन सक्दैन तर आफैँ विकृतिका खाडलमा फसेको व्यक्ति पनि चुनावी चर्चाको केन्द्रमा एक्कासि कसरी पुग्छ भन्ने चाहिँ सोचनीय छ । किन अधिकांश मिडियाहरू त्यस्ता हौवाहरू फिँजाउन सक्रिय हुन्छन् र भूमिगत शक्तिहरू तिनलाई साथ दिन्छन् जवाफ पाउन सकिएको छैन । अहिलेकै निर्वाचनका सन्दर्भलाई हेर्ने हो भने पनि सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठेका छन् । सत्तामा पुगेका राजनीतिक दलहरू नेपालका लागि अफापसिद्ध नै भएका भए सबै ठाउँका ती स्वतन्त्र उम्मेदवारलाई जिताउने प्रयत्न हुनुपर्ने थियो तर एकादुई मात्रै चर्चामा छन् । यस्तै चर्चाहरूलाई आधार बनाएर मतदान गर्ने मतदाताहरू पनि नेपालमा ठूलै संख्यामा भेटिने गरेका छन् ।

४) आर्थिक प्रलोभनका आधारमा मतदान गर्ने मतदाता :
सबैभन्दा खराब प्रकृतिका मतदाता यो वर्गमा पर्दछन् । मोटर साइकलमा पेट्रोल हालिदिएबापत मत दिने, एक दुई हजार रुपैयाँमा मत बेच्ने र भोलि तिम्रा सन्ततिलाई जागिर दिउँला आदि कुराहरू नेताले भनेका आधारमा मत दिने वर्गको संख्या पनि नेपालमा सानो छैन । वास्तवमा मुलुकलाई भोलि तिम्रा सन्ततिलाई रोजगारी दिन सक्ने अवस्थामा पुर्‍याउँछु भन्ने नेतालाई जिताउनुपर्ने हो तर केही मतदाताहरू एक दुई छाक मासु चिउरा खुवाएकै भरमा पनि मत दिने गर्दछन् । मुलुक यस्तै कार्य गर्ने नेताहरूका कारण बिग्रँदै गएको छ भने यस्ता मतदाता पनि जित्नुपर्नेलाई हराउन र हराउनु पर्नेलाई जिताउने कार्यमा सहभागी हुँदै आएका छन् ।

५) स्वरूपबाट प्रभावित मतदाता
यस्ता पनि मतदाता देखिएका छन् कि जसलाई उम्मेदवारको कुनै पनि राजनीतिक र समाजसेवाको योग्यताको मतलब छैन । यदि पुरुष उम्मेदवार छ भने उसको लवाइ-खुवाइ र फुर्तीफार्तीलाई हेरेर यत्तिको राम्रो पाएपछि अरू कसलाई छान्ने भन्ने पनि देखिएका छन् । युवादेखि प्रौढसम्मका कतिपय मतदाताहरूले सुन्दर महिला उम्मेदवार देखेपछि उसैलाई मतदान गर्छु भन्ने पनि भेटिएका छन् । सुन्दरताले संसद्को प्रभावकारितामा कुनै तात्विक असर पार्दैन, त्यहाँ त राजनीतिक चेतको व्यक्तित्व चाहिन्छ भन्ने ख्याल गरेको देखिँदैन ।

अन्त्यमा,
यस्ता अन्य वर्गहरूमा पनि मतदातालाई विभाजन गर्न सकिन्छ, यी त केही उदाहरणमात्र हुन् । आफूलाई कुन वर्गमा राख्ने मतदाता स्वयंकै स्वविवेकमा भर पर्दछ । नातागोताको उम्मेदवारभन्दा अर्को योग्य छ भने अर्कैलाई नै मत दिनुपर्दछ । छरछिमेकी या आफूसँग जानपहिचान भएको भन्दा मुलुक र जनताको भाग्य फेर्न अर्को सक्षम देखिन्छ भने अर्कैलाई जिताउनु श्रेयष्कर हुन्छ । युवाको नारा घन्किएको छ तर अवसरवादी र स्वार्थी युवाभन्दा आफ्नै क्षेत्रमा लडेको पाको नेता असल पनि हुनसक्दछ ।

मुख्यतः यो संविधानले दलीय शासनमार्फत लोकतान्त्रिक गणतन्त्रको कल्पना गरेको छ । शहीदका रगतबाट आर्जित यो संविधान र संविधानका उद्देश्य रक्षार्थ सक्रिय दल र उम्मेदवारहरूलाई मतदान गर्दा नै सबैको जय हुनेछ । त्यसका लागि आफूलाई विवेकशील मतदातामा दर्‍याउन सकेमा नै आफ्नो त भलो छँदैछ देश र जनताले पनि सुख पाउने दिन आउँने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-11-17 8:29 am

Bibek hin matdata nai habi hune sthiti

छुटाउनुभयो कि ?