पराजय ब्यहोरेका थापा र केसी जित्ने दाउमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा चलेको छ । यस पटक बागलुङमा पाँच दलीय गठबन्धन र नेकपा एमाले बीचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको बागलुङमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि अहिले चुनावमा होमिएको छ ।

प्रतिनिधि सभामा गठबन्धबाट क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा शिक्षा मन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल उम्मेदवार बनेपछि चार वटा प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । त्यस मध्ये बागलुङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका दीपेन्द्र बहादुर थापा उम्मेदवार हुनुहुन्छ । उहाँसँग नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अन्य तीन क्षेत्र मध्ये यस क्षेत्रमा थापा र केसी बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाका अधिकांश नेताको ध्यान यही क्षेत्रमा छ । थापा र केसीले यसभन्दा अगाडि भएका विभिन्न निर्वाचनमा हार ब्यहोर्नु भएको छ । त्यस कारण यसपाली दुवै जनालाई जित हात पार्ने चर्को दबाव छ । २०७० सालमा भएको संविधान सभा निर्वाचनमा पराजय हुनु भएका केसी र २०७४ को प्रदेश सभा सदस्यमा हारेका थापा यस पटक जित आफ्नो पक्षमा पार्ने दाउमा हुनुहुन्छ ।

अहिलेको निर्वाचनमा थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने केसी एमालेको मात्रै भरमा हुनुहुन्छ । केसीले त्यस बेला कांग्रेस नेता स्व. हरि खड्कासँग पराजित हुनु भएको थियो । खड्काले एक हजार छ सय मतान्तरले केसीलाई पराजित गर्नु भएको थियो । त्यस बेला खड्काले १३ हजार ५०० मत प्राप्त गर्दा केसीले ११ हजार ९०० मत ल्याउनु भएको थियो । खड्का निर्वाचित भएको केही समयमा दुर्घटनामा परि मृत्यु भएपछि संविधानसभा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उहाँकी पत्नी चम्पादेवी खड्काले एमाले नेतृ मनकुमारी केसीलाई पराजित गर्नु भएको थियो ।

त्यस यता यस क्षेत्रमा एमालेले आफ्नो संगठनलाई मजबुत बनाउँदै गएको छ । अघिल्लो निर्वाचनमा एमालेका नेता इन्द्रलाल सापकोटासँग पाँच हजार ९२६ मतान्तरले पराजित हुनु भएका थापाले ११ हजार ९८९ मत पाउनु भएको थियो । सापकोटाले भने १७ हजार ९१५ मत प्राप्त गर्नु भएको थियो । त्यस बेला सापकोटालाई नेकपा माओवादी (केन्द्र) र राष्ट्रिय जनमोर्चाले सघाएको थियो ।

गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा गठबन्धन थोरै मतले अगाडि देखिन्छ । बागलुङ पालिकाका ११ र काठेखोला गाउँपालिकाका आठ गरि १९ वडा यस क्षेत्रमा पर्छन् । त्यस मध्ये छ वडा एमाले र १३ वडा गठबन्धनले जितेको छ । बागलुङ नगरपालिकाको १२, १३ र १४ नम्बर वडा प्रदेश (ख) मा पर्दा थापालाई जित निकाल्न मुस्किल हुने धेरैले आँकलन गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनले १६ हजार ६१ मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ३७० मत पाएको थियो । यो मत परिणामलाई हेर्दा गठबन्धन एक हजार ६९१ मतले अगाडि देखिन्छ । यस क्षेत्रमा थापा र केसीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावी मैदानमा होमिनु भएको छ ।

२७ मनदान स्थल र ६२ मतदान केन्द्र रहेको यस क्षेत्रमा ५० हजार ५८० मतदातारहेका छन् । अस्थायी मतदाताका लागि दुई मतदान केन्द्र पनि यही क्षेत्रमा स्थपना गरिने भएको छ । जिल्ला कारागारमा रहेका ५२ जना कैदीबन्दीले पनि यही क्षेत्रबाट मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो । अस्थायी मतदाताले प्रतिनिधि सभा तर्फ समानुपातिक मतदान मात्रै गर्न पाउने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?