सडक कालोपत्रेको माग गर्दै मेयरलाई बुझाइयो चार मागपत्र

हिमालय टाइम्स
Read Time = 6 mins

खोटाङ । खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गर्न माग गर्दै स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई एकैदिन चारवटा मागपत्र बुझाएका छन् ।

उदयपुरको गाईघाट-दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा भारत कन्ट्रक्सन/ सिद्धी शाही जेभी र देवनारायण पवन/ मैनाचुली / खाम्पाचे जेभीले चरम ढिलासुस्ती गरेको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीयले छुट्टाछुट्टै मागपत्रमार्फत तत्काल काम सुचारु गराउन माग गरेका हुन् ।

चरम ढिलासुस्ती भइरहेको महुरे-फोक्सिङटार सडक कालोपत्रेको अवस्थाबारे अवलोकनमा पुगेका मेयर भट्टराईलाई बुईपा र विजयखर्कका स्थानीयले एक/एकवटा तथा राजापानीका स्थानीयले दुई मागपत्र बुझाउँदै तत्काल काम सुचारु गराउन वा नगरे ठेक्का तोड्नका लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

महुरे-फोक्सिङटार सडक आसपासका स्थानीयले कालोपत्रेको काम अलपत्र हुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएको, भएका काममा पनि गुणस्तर काम नभएको, सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको, सडक दुर्घटना भएको गुनासो गरेका छन् । मागपत्रमा निर्माण व्यवसायीले ज्यालादारी कामदार र होटल व्यवसायीलाई तिर्नुपर्ने रकमसमेत वर्षौसम्म नतिरेको उल्लेख गरेको पाइएको मेयर भट्टराईले बताउनुभयाे ।

‘ठेक्का लागेको वर्षौसम्म सडक कालोपत्रे भएन । हिँड्डुल गर्न सास्ती भयो । निर्माण व्यवसायीले हामीलाई टेरेन, ठग्यो भन्ने गुनासो आएको छ,’ मेयर भट्टराईले भन्नुभयाे, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई बोलाएर तत्काल काम सुचारु गराउनु पर्‍यो । काम गरेन भने ठेक्का रद्द गर्नेसम्मको कारबाही अघि बढाउनुपर्‍यो भन्ने माग आएको छ । यसबारेमा हामी केही न केही कारबाही अघि बढाउँछौँ ।’

महुरे-फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो । सो सडक कालोपत्रेको काम दुई खण्डमा भइरहेको छ । महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे-राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति एवं अहिले प्रदेश (क)का उम्मेदवार हुनुहुन्छ ।

यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ-फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । कोभिड-१९ को महामारी कारण देखाएर दुबै खण्डको म्याद पटकपटक थप हुँदैआएको छ ।

काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका छन् । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधिले वर्षौँसम्म उधारो नतिर्दा दर्जनौं साना व्यवसायी मारमा परेको पञ्चारदोबाटोका स्थानीय व्यवसायी अष्टकुमार श्रेष्ठले गुनासो गर्नुभयाे ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले भने २६ कात्तिकदेखि महुरे-राजापानीको सिमपानी सडकको काम सुचारु गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?