जुम्लामा दुईवटा अस्थायी मतदान केन्द्र कायम

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins
A A- A+

जुम्ला । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा थप दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका अनुसार जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्ला र जिल्ला कारागार कार्यालयमा एक/एक वटा अस्थायी मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएकाछन् ।

नेपाल सरकारले कैदीवन्दीलाई पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् । जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा १०६ मतदान केन्द्र, ८३ वटा मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार ६३८ जना मतदाता रहेको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र-१ (क) मा ३६ हजार ७८३ जना र प्रदेशसभा (ख) मा ३१ हजार ६३८ जना मतदता संख्या रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?