एमालेका बागी उम्मेदवार रामवीरको घोषणा : यसपटक अत्याधिक मतले जित्छु, अर्कोपटक चुनाव लड्दिनँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  काठमाडौं ७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिनुभएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।

बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिह्न लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गर्नुभयो ।

काठमाडौं ७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ ।

नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छट्पटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबी समेत गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।

एमालेका इमान्दार कार्यकर्ता आफुसँगै रहेको दाबी गर्दै नेता मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवारसँग भएको जस्तो गरे पनि आफूसँग निरन्तर छलफल भइरहेको बताउनु भयो।   काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन साहलाई सहयोग गर्नका लागि संसदमा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ ।

गुठी विधेयकको विरोध गरेका कारण नै आफुमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?