पोखरा म्याराथनको तयारी सुरु

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारीसँगै १७औँ संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाउनुभएको छ । अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब पाँच लाख नगद पाउनेछन् । गत वर्ष चार लाख रहेको पुरस्कार राशि यो वर्ष एक लाख बढाइएको छ ।

त्यसैगरी म्याराथन ४२.१९५ किमीतर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म सबै पुरस्कार राशि बढाइएको छ । अध्यक्ष पराजुलीका अनुसार दोस्रो, तेस्रो र सान्त्वनातर्फ क्रमशः नगद तीन लाख, दुई लाख र ३० हजार नगद पुरस्कार रहेको छ भने गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्नेछन् । गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

त्यसैगरी हाफ म्याराथन महिलातर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले एक लाख ५० हजार, द्वितीयले एक लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्नेछन् । म्याराथनअन्तर्गत नै हुने १० किमी महिला तथा पुरुष दौडका विजेताले क्रमशः प्रथम हुनेले ३०, द्वितीय हुनेले २० र तृतीयले १५ हजार नगत प्राप्त गर्नेछन् । कार्यक्रमअन्तर्गत नै विद्यालयस्तरीय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशि बढाइएको छ भने हिृवलचियर महिला पुरुष तथा दृष्टिविहीन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशि बढाइएको मञ्चले जनाएको छ ।

गत केही संस्करणमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण फरक-फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरू एकै पटक एकै समय फागुन ६ गते शनिबार नै हुने अध्यक्ष पराजुलीले बताउनुभयो । योसँगै म्याराथनतर्फ दौड पूरा गर्ने १०० जना, हाफ म्याराथनतर्फ ५० जना, १० किमी पुरुषतर्फ २०० जना, महिला १० किमीतर्फ १०० जना र छात्र-छात्रासमेत गरी करिब एक हजार मेडलका साथमा प्रमाण पत्रसमेत वितरण गरिनेछ ।

पोखरा म्याराथनको तयारीसँगै मञ्चले खेलाडी दर्ता प्रक्रियासमेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मूल संयोजकत्वमा २२ सदस्यीय विभिन्न समितिसमेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार खेलाडीले पोखरा म्याराथनको वेबसाइटमार्फत् नाम दर्ता गर्न सकिनेछ । १७औँ संस्करणबाट एक साताअगावै दर्ता प्रक्रियासमेत रोक्ने आयोजकले जनाएको छ ।

पोखराको प्रतिष्ठित उद्योगमध्ये एक सुजल डेरीको उत्पादन सफल दूध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके मुख्य सहयोगीका रूपमा छन् ।

यस्तै, मञ्चले हालै गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले प्राप्त गरेको सफलताप्रति खुशी व्यक्त गरेको छ । प्रदेशहरूमध्ये गण्डकी प्रदेश उत्कृष्ट नतिजाका साथ प्रथम हुनु सबैका लागि खुशीको विषय रहेको बताउँदै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरूलाई बधाई दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?