विश्वकपअघि अर्जेन्टिनाको सानदार जित

Read Time = 6 mins

दोहा । फिफा विश्वकप कतार २०२२ अघिको दाबेदार अर्जेन्टिनाले सानदार जित हात पारेको छ । स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच-शून्यको फराकिलो अन्तरले पराजित गरेको हो । युएईको मैदान मोहम्मेद विन जायदमा भएको खेलमा अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले दुई तथा जुलियन अल्भारेज, लियोनेल मेस्सी र जोअक्विन कोरेआले समान एक-एक गोल गर्नुभयो ।

जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको अर्जेन्टिनाका लागि २५औँ मिनेटमा एन्जल डि मारियाले अग्रता दोब्बर पार्नुभयो । ३६औँ मिनेटमा एन्जल डि मारियाले र ४४औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले चार-शून्यको अग्रता लिएको थियो । दोस्रो हाफको ६०औँ मिनेटमा जोआक्विन कोरेआले एक गोल थप्दै अर्जेन्टिनालाई पाँच-शून्यको जित दिलाउनुभयो ।

अब विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि अर्जेन्टिनाले २६ नोभेम्बरमा मेक्सिको र ३० नोभेम्बरमा पोल्याण्डसँग खेल्ने तालिका छ ।

यस्तै, अर्को अभ्यास खेलमा क्रोएसियाले साउदी अरेबियालाई एक-शून्य गोलअन्तरले पराजित गरेको छ । क्रोएसियाको जितमा एन्डरेज क्रामारिचले निर्णायक गोल गर्नुभएको थियो । क्रामारिचले ८२औँ मिनेटमा खेलको एकमात्रै गोल गर्नुभएको थियो । क्रामारिच ५८औँ मिनेटमा ब्रुनो पेट्कोभिचको स्थानमा मैदान छिर्नुभएको थियो ।

समूह ‘एफ’ मा रहेको क्रोएसियाले २३ नोभेम्बरमा मोरोक्को, २७ नोभेम्बरमा क्यानडा र १ डिसेम्बरमा बेल्जियमसँग खेल्नेछ । यता, समूह ‘सी’ मा रहेको साउदी अरेबियाले २२ नोभेम्बरमा अर्जेन्टिना, २६ नोभेम्बरमा पोल्याण्ड र ३० नोभेम्बरमा मेक्सिकोसँग खेल्नेछ ।

जर्मनी र पोल्याण्डले पनि आ-आफ्नो खेलमा जित हात पारेका छन् । जर्मनीले एसियाली प्रतिद्वन्द्वी ओमानमाथि एक-शून्यको जित निकाल्यो । जर्मनीको जितमा निकलस फुलक्रुगले ८०औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । विश्वकपको समूह ‘ई’ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापान, २७ नोभेम्बरमा स्पेन र १ डिसेम्बरमा कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, विश्वकपकै अन्तिम अभ्यास खेलमा पोल्याण्डले चिलीलाई एक-शून्यले पराजित गर्‍यो । घरेलु मैदानमा पोल्याण्डको जितमा क्रिजस्तोफ पियाटिकले खेलको ८५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पोल्याण्ड विश्वकपमा समूह ‘सी’ मा रहेको छ । पोल्याण्डले २२ नोभेम्बरमा मेक्सिको, २६ नोभेम्बरमा साउदी अरेबिया र ३० नोभेम्बरमा अर्जेन्टिनासँग खेल्नेछ ।

यसपल्टको विश्वकपमा छनोट हुन असफल भएको इटालीले भने अल्वानियामाथि तीन-एकको पुनरागमन जित निकाल्यो । इटालीको जितमा भिन्सेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल फर्काउनुभयो ।

खेलको १६औँ मिनेटमा एड्रियन इस्माजिलीले निडिम वजरामीको पासमा गोल गर्दै अल्वानियालाई अग्रता दिलाउनुभएको थियो । २०औँ मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । २५औँ मिनेटमा भिन्सेन्जो ग्रिफोले नियाकोमो रास्पडोरीको पासमा गोल गर्दै इटालीलाई दुई-एकको अग्रता दिलाउनुभयो । त्यसपछि ६४औँ मिनेटमा भिन्सेन्जो ग्रिफोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै इटालीको जित पक्का गर्नुभएको थियो ।

यस्तै, विश्वकपअघिको अन्तिम अभ्यास खेलमा स्वीडेनले मेक्सिकोलाई दुई-एकले पराजित गर्‍यो । स्वीडेनको जितमा मार्कुस रोडेन र म्याटिएस भानवर्गले गोल गर्नुभयो । मेक्सिकोका अर्नेस्टो भेगाले एक गोल फर्काउनुभयो ।
विश्वकपमा मेक्सिको समूह ‘सी’ मा रहेको छ । मेक्सिकोले पोल्याण्ड, अर्जेन्टिना र साउदी अरेबियासँग खेल्नेछ । स्वीडेन भने विश्वकपमा छनोट हुन नसकेको टोली हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?