म हिट र फ्लपको पछि लाग्दिन : शंकर थापा ‘स्माइल’

Read Time = 8 mins

शंकर थापा ‘स्माइल’ पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार हुनुहुन्छ । शंकरद्वारा संगीत भरिएका एकपछि अर्को गीत लोकप्रिय छन् । पछिल्लो समयको चल्तीको भाषा प्रयोग गर्ने हो भने कयौं गीतहरू ‘करोड क्लब’मा छन् शंकरका । आधुनिक, पप, लोक आधुनिक, लोक पप, रक, क्लासिकलजस्ता विधामा आफूलाई अबल सावित गरिसक्नु भएका शंकरको संगीत स्थापितदेखि नवप्रवेशीसम्मका गायक गायिकाका लागि ‘डिमाण्डेड’ मानिन्छ । एकपछि अर्को गीत हिट भएकाले शंकरको संगीतमा काम गरे हिट भइन्छ भन्ने लोभ पनि देखिन्छ गायक गायिकामा । त्यतिमात्र होइन शंकरले उत्कृष्ट सिर्जनाका लागि थुप्रै अवार्डसमेत प्राप्त गर्नुभएको छ । यति व्यस्त हुनुन्छ कि दैनिकजसो उहाँका गीतहरू रेकर्ड भइरहेका छन् । आफू म हिट र फ्लपको पछि नलाग्ने निरन्त संगीत सिर्जना गर्दै उत्कृष्टता दिने प्रयासमा रहेको बताउनुहुने संगीतकार शंकर थापा ‘स्माइल’सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

तपाईंले संगीत गरेका गीतहरू एकपछि अर्को हिट भइरहेका छन् । गीत हिट हुने सूत्र के छ ?
तपाईंले भने जस्तै त्यस्तो सूत्र नै भन्ने त के हुन्छ र खै । आफूले इमानदार भएर संगीत गर्ने हो । मैले कुनै पनि गीत सिर्जना गर्दैगर्दा यो चल्छ वा चल्दैन भनेर सोच्दिन । कसरी उत्कृष्ट काम गर्ने भन्नेमै ध्यान रहन्छ । म हिट र फ्लपको पछि लाग्दिन । मलाई लाग्छ इमानदार प्रयास गर्ने हो भने दर्शकको पनि मन जित्न सकिने रहेछ ।

त्यसो भए संगीत सिर्जना गर्दा केमा ध्यान दिनु हुन्छ त ?
संगीत सिर्जना गर्दा सबैभन्दा पहिला शब्दलाई ध्यान दिन्छु । शब्दको भावअनुरूपको मेलोडी सिर्जना गर्ने कोसिस गर्छु । त्यही अनुरूपको एरेन्ज र स्वरलाई प्राथमिकता दिन्छु । सकेसम्म सरल बनाउन सकियो भने सबैले सहजै गुनगुनाउन सक्नुहुन्छ भन्ने लाग्छ मलाई । त्यसैले मैले जुनसुकै राग वा जनराका गीतलाई पनि सरल बनाउने कोसिस गर्छु । त्यसमा नेपाली मौलिकपन ल्याउने मेरो कोसिस सधैं रहन्छ । सिर्जनामा मौलिकता दिनसके नेपाली संगीत प्रेमीका लागि आफ्नोपन र विदेशी संगीत प्रेमीका लागि नौलो मेलोडी हुन जान्छ । सायद यिनै कुराले होला तपाईंले भनेको जस्तो मेरा अक्सर गीतहरूलाई श्रोताहरूले मन पराइदिनु भएको ।

मैले जुनसुकै राग वा जनराका गीतलाई पनि सरल बनाउने कोसिस गर्छु । त्यसमा नेपाली मौलिक पन ल्याउने मेरो कोसिस सधैं रहन्छ । सिर्जनामा मौलिकता दिनसके नेपाली संगीत प्रेमीका लागि आफ्नो पन र विदेशी संगीत प्रेमीका लागि नौलो मेलोडी हुन जान्छ ।

अचेल त करोड क्लबको ट्रेण्ड छ क्यारे । तपाईंका दर्जनौं गीत करोड क्लबमा छन्, कस्तो महसुस गर्नु हुन्छ ?
म एउटा संगीत साधक हुँ । यसअर्थ मेरा लागि आफ्ना अघिल्ला गीतभन्दा कत्तिको अब्बल संगीत सिर्जना गर्न सके भन्ने कुराले बढी अर्थ राख्छ । यद्यपि त्यसमा व्यावसायिक सफलता प्राप्त भएमा झनै ऊर्जा मिल्दो रहेछ । डिजिटल प्रविधिको प्रयोगसँगै अचेल युट्युबमा प्राप्त भ्युजका आधारमा करोड क्लब भन्न थालियो । आफ्ना सिर्जना करोडौं मान्छेले सुन्नु, हेर्नु र मनपराउनु पक्कै खुशीको कुरा हो । यसले अझै जिम्मेबारी थप्दो रहेछ । अझ उत्कृष्ट संगीत सिर्जनाका लागि प्रेरणा मिल्दो रहेछ ।

अहिले त दैनिकजसो गीत रेकर्ड भइरहेको छ यहाँको ? अधिकांश समय स्टुडियोमै व्यस्त देखिनुहुन्छ, अनि संगीत सिर्जनाका लागि समय कसरी व्यवस्थापन हुन्छ त ?
म हरेक बिहान संगीतको रियाज गर्नेगर्छु । आफूलाई गीतमा अभ्यस्त तुल्याउँछु । दिनको समय प्रायः स्टुडियामा बित्छ । कहिले रेकर्डिङ, कहिले एरेन्ज, कहिले लाइभ बाजा राख्नुपर्छ, कहिले मिक्सिङमा बस्नुपर्छ । साँझको समय प्रायः संगीत सिर्जना गर्नेगर्छु । यसको अर्थ साँझमात्र भन्ने होइन । कहिले बिहानी प्रहरमै संगीत सिर्जना हुन्छ भने रेकर्डिङ नभएको दिनको समयमा सिर्जना हुन्छ । सिर्जनालाई समयले छेक्दैन भन्ने बुझेको छु । यसअर्थ समय व्यवस्थापन गरेर काम गर्नुपर्दैन । संगीतले जीवनलाई अनुशासित बनाउने रहेछ । त्यही अनुशासनले समय व्यस्थापन गर्न सजिलो हुने रहेछ ।

डिजिटल प्लेटफर्ममा भ्युजको मात्र चर्चा हुने हो कि, चर्चा अनुसारको आर्थिक लाभ पनि हुन्छ ?
अहिले थुप्रै डिजिटल प्लेटफर्ममा गीतसंगीत उपलब्ध छन् । केहीले प्याकेजमा किन्ने गरेका छन् भने केहीले रोयल्टी दिने गरेका छन् । युट्युबजस्ता केही प्लेटफर्महरूबाट भ्युज र त्यसमा उपलब्ध विज्ञापनलगायत विविध मापदण्डका आधारमा रकम उपलब्ध हुन्छ । हिट गीतहरू डिजिटल प्लेटफर्ममा मात्र नभएर रेडियो, टेलिभिजन, विभिन्न सांस्कृतिक कार्यक्रम, मेला महोत्सवमा बढी बज्ने गर्छन । ती सबैबाट स्रष्टा तथा सर्जकले रोयल्टी पाउने गर्छन् । यसरी हेर्दा गीत जति चर्चामा हुन्छ, जति लोकप्रिय हुन्छ आर्थिक रूपमा त्यत्ति नै लाभ हुन्छ । त्यतिमात्र होइन यहाँ हिट गीतकार, हट गायक, हिट संगीतकार बढी व्यस्त छन् । यसर्थ गीत हिट हुनु भनेको चर्चामात्र हुनु होइन । थप व्यस्त र आर्थिक रूपमा पनि समुन्नत हुनु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?