इफाप्काको ४५ औँ सम्मेलन मालेमा सुरु

Read Time = 4 mins

काठमाडौं । संरक्षणसहित निर्माण अझ समुन्नत विश्व निर्माण गरौँ भन्ने नाराका साथ एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का) को ४५ औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमा सुरु भएको छ । सम्मेलनलाई नेपाली प्रतिनिमिण्डलतर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भूकम्प र कोरोनाका कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको बताउनुभयो ।

नेपालमा नौ सय मेगावाटका अरुण दोस्रो र अपर कर्णाली जस्ता जलविद्युत् परियोजना, दुई हजार छ सय ८० मिटर लामो सुरुङमार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको पनि उहाँले जानकारी गराउनुभयो । नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रका रूपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको अध्यक्ष सिंहले बताउनुभयो ।

४६औँ इफाप्का सम्मेलन आगामी १२ देखि १८ महिनाभित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना हुने भएको छ ।

साथै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको उल्लेख गर्दै हरित पूर्वाधार विकासलाई नेपालले प्राथमिकता दिएको बताउनुभयो । पूर्वाधार विकासमार्फत् आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलको बलियो प्रतिबद्धता रहेको र सोहीअनुसार ऐन नियम तर्जुमा भइरहेको सिंहको भनाइ थियो ।

उहाँले पछिल्लो समय रुस-युक्रेन युद्धको असरका साथै जग्गा प्राप्तिमा झमेला, साइट क्लियरेन्स समस्या, निर्माण सामग्री अभाव, मूल्यवृद्धि, दक्ष तथा प्राविधिक जनशक्ति अभावलगायतका कारण नेपाली निर्माण उद्योग कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुभयो ।

४६औँ इफाप्का सम्मेलन आगामी १२ देखि १८ महिनाभित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना हुने पनि उहाँले जानकारी गराउनुभयो । ४५ औँ सम्मेलनको समाप्तिसँगै महासंघका अध्यक्ष सिंह नै इफाप्काको अध्यक्षसमेत हुनुहुनेछ । इफाप्का महासचिवको जिम्मेवारी भने महासंघका सल्लाहकार वीरेन्द्र पाण्डेले सम्हाल्नुहुनेछ । सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालतर्फबाट देशभरका निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । महासंघका अनुसार नेपालले सन् १९९३ मा इफाप्काको सदस्यता लिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?