आम निर्वाचनलाई महोत्सवका रूपमा लिऔँ : संयुक्त गठबन्धन

डिबी शर्मा
Read Time = 5 mins
A A- A+

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आम मतदातालाई मंसिर ४ गते मतदानमा जान सामूहिक अपिल गरेको छ । बिहीबार संयुक्त वक्तव्य जारी गर्दै गठबन्धनले आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गरेको हो । पाँच वर्षमा हुने आम निर्वाचनलाई महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन गठबन्धन दलहरूले अपिल गरेका हुन् । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गरेका हुन् ।

अपिलमा गठबन्धन सरकार बनेपछि समयमै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट स्थानीय तहको निर्वाचन सम्पन्न गरेको स्मरण गरिएको छ । विगतमा संविधानमाथि आक्रमण भएको बताउँदै अब फेरि संविधानमा कुनै आक्रमण हुन नदिने प्रतिबद्धता गठबन्धनले गरेको छ । निर्वाचन परिणामले प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदांगो पार्दै परास्त गर्ने गठबन्धनको विश्वास छ । ‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुईपटक गरेको प्रतिनिधिसभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ,’ अपिलमा भनिएको छ, ‘गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन् ।

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोला : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको बताउँदै हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको उहाँले बताउनुभयो । कुनै पनि किसिमको बाधा व्यवधान नहुने स्पष्ट गर्दै सबै नेपाली नागरिकलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘सबै देशवासीले आ-आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।’

आफ्नो र आफ्ना सन्तानको भविष्य सम्झेर मतदान गर्नुहोस्  ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब स्पष्ट निर्णय लिने बेला आएको बताउनुभएको छ । बिहीबार एक अपिल जारी गर्दै एमाले अध्यक्ष ओलीले मतदाताले एकपटक हाल्ने भोटले आगामी पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने निक्र्योल गर्ने बताउनुभएको छ । आफ्नो र आफ्ना सन्तानको भविष्य सम्झेर मतदान गर्न ओलीले अपिल गर्नुभएको हो । ‘प्रिय मतदाता अब स्पष्ट निर्णय लिने समय आएको छ । चार गते हाल्ने भोटले कसको हातमा देश सुम्पने निक्र्योल गर्छ,’ अपिलमा उहाँले भन्नुभएको छ, ‘भोट हाल्नुअघि दुई कुरा ख्याल गरेर मतदान गर्नुहोला । तपाईंको आफ्नै भविष्य र तपाईंको सन्तानको भविष्य सम्झेर मतदान गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?