निर्वाचनको मौन अवधि सुरु

प्रचार प्रसारका कुनै पनि गतिविधि गर्न नपाइने, मंसिर २२ अघि नै सबै नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी

यज्ञराज पाण्डे
Read Time = 13 mins

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगायत सुरक्षाका सबै तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाइने, प्रचारप्रसार गर्न नपाइने बताउनुभएको हो ।

मतगणनाको काम नभएसम्म सभा, जुलुस लगायतका प्रचार प्रसारको काम गरे २५ हजार सम्मको जरिवाना गर्ने उहाँले बताउनुभयो । निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलबाट मतदान गर्नसक्ने थपलियाले जानकारी दिनुभयो । उहाँले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचनविरोधी कामलाई रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताउनुभएको हो ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार ४१२ र दुई हजार १९९ समानुपातिक गरी कुल पाँच हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ तीन हजार २२४ र समानुपातिकतर्फ तीन हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ ।

यस्तै, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ । पत्रकार सम्मेलनमा आयुक्त थपलियाले मंसिर २२ गतेभित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताउनुभएको हो । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक मतसमेत गणना गरी विजयी हुनेहरूको नामावली २२ गतेअघि नै तयार गरिनेछ ।

निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिए कर्मचारी
निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान स्थलमा खटिएका छन् । मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित सबै जिल्लामा कर्मचारी र सुरक्षाकर्मी पठाउने काम पूरा भएको छ । भौगोलिक विकट तथा टाढा टाढा मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पठाइएको निर्वाचन आयोगले जनाएको छ ।

मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाई सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।

अस्वाभाविक मतदान भए फेरि मतदान : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि मतदान केन्द्रमा अस्वाभाविक मतदान भए पुनः मतदान गर्ने बताउनुभएको छ । बिहीबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले योपटक मतदाताभन्दा बढी मत नहुने दाबी गर्नुभएको हो । ‘योपल्ट मतदाताभन्दा बढी मत हुने छैन । हामीले मतगणना प्रारम्भ गर्नुभन्दा अगाडि कुन कुन वडाको कुन कुन मतदान केन्द्रमा कति मत खस्यो ? र, त्यो बाहिरी आँखाले हेर्दा अस्वाभाविक लाग्ने हुन्छ कि हुँदैन ? अर्थात् उदाहरणको लागि कहीँ शतप्रतिशत मतदान भयो, सुन्दा साह्रै राम्रो बुझ्दा अत्यन्त कठिन । यस्तो विषयलाई समेत हेरेर यदि अस्वाभाविक मतदान भएको छ भने आयोगले फेरि अर्को मतदान गर्छ’, प्रमुख थपलियाको भनाइ छ ।

मौन अवधिमा भोज भतेर गर्न नपाइने आयोगको भनाइ
निर्वाचन आयोगले मौन अवधिको समयमा भोज भतेर गर्न नपाइने बताएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले उम्मेदवारले भोज भतेर गर्ने, पूजा लगाउने, तथा घरबाहिर मान्छे भेला गरेर जन्मदिन मनाउन नपाइने बताउनुभएको हो । उहाँले यस्ता क्रियाकलाप भए वा नभएको बारे सुरक्षा निकाय, निर्वाचन अधिकृत लगायतलाई अनुगमन गर्न लगाएको बताउनुभयो ।

संवेदनशील मतदानस्थलमा हेलिकप्टरबाट पनि अनुगमन गरिने
आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ । प्रमुख आयुक्त थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताउनुभएको हो । यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उहाँले बताउनुभयो । यस्तै, नेपालको सीमा क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताउनुभयो । उहाँले वारेसमार्फत मतदान गर्न नमिल्नेसमेत बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘वारेस राखेर मतदान गर्ने दिन गए, त्यस्तो प्रक्रिया हुन दिँदैनौँ’ । मतदान शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको उल्लेख गरेको बताउँदै निर्वाचन अगाडि मतदातालाई प्रभाव पार्ने गरी कुनै काम नगर्नसमेत प्रमुख आयुक्त थपलियाले आग्रह गर्नुभयो ।

घुम्ती टोली परिचालन गरिने
आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ । आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरीलगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताउनुभयो ।

‘१ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदा सम्मको समय संवेदनशील मानिन्छ । त्यो बेलामा मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्ने लगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका थिए,’ उहाँले भन्नुभयो, ‘यी विषयमा स्थानीय सुरक्षाकर्मीसहित यहाँबाट पठाएको टोलीले समेत हेर्नेछ, अनुगमन गर्नेछ ।’

उहाँका अनुसार टोलीले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकारसमेत प्रयोग गर्नेछ । ‘अति संवेदनशील ठाउँहरू र हिजो इतिहासमा पनि र विभिन्न कालखण्डमा भौगोलिक विकटता भएको ठाउँमा उहाँहरूलाई सम्पूर्ण अधिकार दिएर पठाउनेछौँ,’ पौड्यालले भन्नुभयो, ‘शान्ति सुरक्षा भंग गर्ने प्रयास भएमा गोली चलाउनसमेत आदेश दिनसक्ने गरी अधिकार प्रत्यायोजन भएको छ ।’

मौन अवधिमा गैरकानुनी र आचारसंहिताविपरीत काम गरेमा तत्काल कारबाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरपालिका लगायत सुगम र तुलनात्मक रूपमा शान्ति सुरक्षा भएको ठाउँमा जाने छैन । दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरूलाई समेट्ने गरी टोली खटाउने तयारी भएको हो । सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कनु भनी त्यो टोलीलाई म्याण्डेट दिइने आयोगले जनाएको छ ।

स्थिर समय र निर्वाचनका दिन नियोकले दुई हजार पर्यवेक्षक परिचालन गर्ने
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचार प्रसारका क्रममा तराईका केही जिल्लाहरूमा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग भएको पाइएको बताएको छ । नियोकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नियोकमा महासचिव देविकानन्द तिमिल्सिनाले तराईका केही जिल्लामा निर्वाचन प्रचार प्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलहरूबीच झडप, दलका नेता र उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको उल्लंघन र प्रचार प्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग गर्नुका साथै निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको बताउनुभयो । उहाँले नियोकले असोज महिनाको अन्तिम साताबाट नै निर्वाचन पूर्व-अवधिको प्रर्यवेक्षण गर्न नेपालका ७७ वटै जिल्लामा ७७ तालिमप्राप्त दीर्घकालीन पर्यवेक्षकहरू खटाएको बताउनुभयो ।

महासचिव तिमिल्सिनाले पर्यवेक्षकहरूले निर्वाचन आयोगको तयारी, मतदाता रिपोर्टिङ प्रणाली प्रयोग गरी आफ्नो आफ्नो जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको बताउनुभयो । उहाँले नियोकले निर्वाचनको दिन र स्थिर समयको दिन सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न सात प्रदेश र ७७ वटै जिल्लामा करिव दुई हजार छोटो अवधिका पर्यवेक्षकहरू परिचालन गर्ने बताउनुभयो । उहाँले डाटा सेन्टरमा मतदानको दिन मतदान स्थलमा कुनै पनि अप्रिय घटना भए त्यसको विववरण डाटा सेन्टरमा राखिएका (९८००८३४१४७ र ९८४१४५५५०४) नम्बरमा सम्पर्क गर्नसक्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?