फिफा : रोनाल्डोबिनै पार्चुगलको जित

Read Time = 4 mins

दोहा । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिनै पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को तयारीस्वरूप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियामाथि चार-शून्यको सानदान जित हात पारेको छ । लिस्बनमा बिहीबार राति भएको पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाआओ मारियोले एक-एक गोल गर्नुभयो । खेलको नवौं मिनेटमा ब्रुनोको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लिएको थियो ।

३५औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा दुई-शून्यको अग्रता दिलाउनुभयो । ८२औं मिनेटमा गोन्कालो रामोसले र त्यसको दुई मिनेटपछि जोआओ मारियोले गोल गर्दै पोर्चुगललाई चार-शून्यको जित दिलाउनुभयो । अस्वस्थताका कारण रोनाल्डो नाइजेरियाविरुद्धको खेलमा टोलीमा हुनुहुन्थेन । समूह ‘एच’ मा रहेको पोर्चुगलले विश्वकपमा २४ नोभेम्बरमा घानासँँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि २८ नोभेम्बरमा उरुग्वे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नाइजेरिया विश्वकपमा छनोट हुन असफल टोली हो ।

अर्को खेलमा स्पेनले जोर्डनलाई उसकै मैदानमा तीन-एकले पराजित गर्‍यो । स्पेनको जितमा अन्सु फाती, पाब्लो गाभी र निको विलियम्सले गोल गर्नुभयो । जोर्डनका हम्जा अल डरडोउरले एक गोल फर्काउनुभयो । खेलको १३औं मिनेटमा अन्सु फातीको गोलबाट स्पेनले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा पाब्लो गाभीले गोल गर्दै स्पेनको अग्रत दोब्बर पार्नुभयो ।

८४औं मिनेटमा परिवर्तित खेलाडी निको विलियम्सले गोल गर्दै स्पेनलाई तीन-शून्यले अघि बढाउनुभयो भने इन्ज्युरी समयमो हम्जाले गोल गर्दै खेललाई तीन-एक को स्थितिमा टुंग्याउनुभयो । स्पेन विश्वकपमा समूह ‘ई’मा छ । स्पेनले २३ नोभेम्बरमा कोस्टा रिका, २७ नोभेम्बरमा जर्मनी र १ डिसेम्बरमा जापानसँग खेल्ने तालिका छ ।

यता, जापानले सुरुवाति अग्रता लिए पनि क्यानडासँग दुई-एकले हार व्यहोरेको छ । क्यानडाको जितमा स्टेभन भिटोरिया र लुकास ड्यानियल काभालिनीले गोल गर्नुभयो । जापानका युकी सोमाको एक गोल गर्नुभयो । खेलको नवौं मिनेटमा युकी सोमाको गोलबाट जापानले सुरुवाती अग्रता लिएको थियो । २१औं मिनेटमा स्टेभन भिटोरियाले खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । इन्ज्युरी समयमा लुकास ड्यानियलले पेनाल्टीमा गोल गर्दै क्यानडालाई जित दिलाउनुभयो ।

अब दुवै टोली विश्वकपमा होमिनेछ । समूह ‘ई’मा रहेको जापानले मंसिर ७ गते बुधबार जर्मनी, ११ गते आइतबार कोस्टा रिका र १५ गते बिहीबार स्पेनसँग खेल्नेछ । यता, समूह ‘एफ’मा रहेको क्यानडाले मंसिर ७ गते बुधबार बेल्जियम ११ गते आइतबार क्रोएसिया र १५ गते बिहीबार मोरोक्कोसँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?