धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करणको तयारी अन्तिम चरणमा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 7 mins

बाँके । सद्भावको शहर भनेर परिचित नेपालगञ्जमा यही मंसिर २४ गते धारा नेपालगञ्ज म्याराथनको आठौं सस्करण हुनेभएको छ । विभिन्न धार्मिक मन्दिर, छिमेकी देश भारतसँगको सम्बन्ध, विभिन्न समुदायको मिश्रित बसोवास भएको हुँदा सद्भावको शहर नेपालगञ्जमा अन्तर्राष्ट्रिय म्याराथनले मान्यता दिएपछि उत्साहित हुँदै यसपटक विभिन्न ११ विधामा स्पर्धा हुने धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो । आयोजकले म्याराथनको सर्वोच्च निकाय एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) को क्यालेण्डरमा समावेश भएपछिको पहिलोपटक हुन लागेको आठौं धारा नेपालगञ्ज म्याराथनलाई पर्यटनसँग जोडिएको नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले बताउनुभयो ।

तयारीको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठकुरीले नेपालगञ्जवासीका लागि यो अवसर भएको हुँदा यसलाई सम्पन्न गर्न तथा नयाँ खेलाडी उत्पादन गर्न लागि उत्सवको रूपमा लिनुपर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय स्वरूप ग्रहणगर्नु नेपालगञ्जवासीका लागि गौरवको बिषय भएको हुँदा यसलाई आन्तरिक तथा बाहृय पर्यटनसँग जोडन सके आर्थिक सामाजिक रूपमा प्रगति गर्न सकिने बताउनुभयो ।

यसैगरी टाइटल स्पोन्सर धारा तेलको उत्पादन केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले धारा तेल र म्याराथनको सम्वन्ध अन्योन्याश्रित रहेको बताउँदै सहकार्य गरेर अगाडि बढने र अन्तर्राष्ट्रिय जगतमा नेपालको उत्पादनहरूको बजार विस्तार गर्न आजको आवश्यकता भएको समेत जिकिर गर्नुभयो । नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंह, इभेन्टका सिओ सौगातविक्रम शाह, अन्तर्राष्ट्रिय संयोजक तीर्थ ओलीलगायतकाले मान्यता पाएपछि थप उत्साहित भएको हुँदा यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
दश वर्षे द्वन्द्वलाई औपचारिक विट मार्दै तत्कालीन अवस्थामा विद्रोही र राज्यबीच बृहतशान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगञ्ज म्याराथनले २०७२ सालदेखि आफनो आत्रा आरम्भ गरेको थियो । देशमा आमनिर्वाचनका कारण यसपटक भने मंसिर २४ मा गर्न लागिएको छ । धारा नेपालगञ्ज म्याराथनमा खेलाडीहरूलाई नगद पुरस्कार तथा सम्मान समेत गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका अगाडी सुरु/समापन गेट रहने आठौं धारा म्याराथन जानकी गाँउपालिकाको केही स्थानहुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रूपटमा फर्किएर नेपालगञ्ज बजारको बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ । यो रुटलाई यसै वर्षदेखि एम्सले मान्यता दिएको हो ।

प्रतियोगीतामा पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष खुला, पाँच किमी महिला खुला, पाँच किमी स्कुलस्तरीय छात्र, तीन किमी स्कुलस्तरीय छात्रा, किडस रन-आठ वर्षदेखि १२ वर्ष उमेर समूह), दुई किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।

म्याराथन (४२.१९५किमी) मा प्रथम पुरस्कार एक लाख ५० हजार, दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोेलाई १५ हजारा, पाँचौंलाई १० हजार, छैटौं लाई आठ हजार, सातौंलाई सात हजार र आठौंलाई ६ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी, महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई आठ हजार, छैटौंलाई सात हजार, सातौंलाई ६ हजार र आठौं हुनेलाई पाँच हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।

यसैगरी पुरुष १० किमि खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, तथा महिला पाँच किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तस्रो हुनेलाई सात हजार रुपैयाँ नगद प्रदान गरिने बताइएको छ । यस्तै, विद्यालय स्तरिय पाँच किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाँच हजार एवं तीन किमी छात्रातर्फ प्रथमलाई १० हजार, दास्रोलाई सात हजार र तेस्रोलाई पाँच हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी हिृलचेयरमा शीर्ष तीनजनालाई १० हजार, सात हजार र पाँच हजार नगदले पुरस्कृत गरिने बताइएको छ । कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागीसमेत गराइने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?