भर्सटायल संगीतकार योगेन्द्र उपाध्याय

Read Time = 8 mins

काठमाडौं । निरन्तरको मिहिनेत अनि लगावका कारण संगीत सिर्जनामा स्थापित नाम हो योगेन्द्र उपाध्याय । लामो समयदेखि संगीत साधनामा क्रियाशील योगेन्द्र उच्च कोटिका संगीतकार हुनुहुन्छ । अब्बल नेपाली संगीतकारको नाम लिँदा छुटाउनै नहुने एउटा संगीत सर्जक हुनुहुन्छ योगेन्द्र ।

संगीत सिकेर, संगीत पढेर, संगीतमै होमिनुभएका योगेन्द्रको दैनिकी नै संगीतमय छ । संगीतको रियाजबाट सुरु हुने उहाँको दैनिकी संगीत सिर्जना, गीत रेकर्ड तथा संगीत प्रशिक्षणमै बित्ने गर्छ । अझ यतिबेला त उहाँ द भ्वाइस अफ नेपाल सिजन-४ मा कोच प्रमोदको एड्भाइजर हुनुहुन्छ । टिम प्रमोदमा रहनुभएका भ्वाइसका ट्यालेन्टहरूलाई थप स्तरीय बनाउनमा उहाँको समय बितिरहेको छ । योगेन्द्रमा संगीतको अथाह ज्ञान भएका कारण आफूले पनि कैयौं पटक गीत रेकर्ड गर्नुअघि उहाँसँग राय लिने गरेको कोच प्रमोदले भ्वाइसको मञ्चमै बताउनुभयो । द भ्वाइस अन्तर्राष्ट्रिय गायन रियालिटी शो हो । त्यसको नेपाल फ्रेन्चाइज द भ्वाइस अफ नेपालको कोच हुनु आफैंमा ठूलो उपलब्धि हो । अझ कोचको एड्भाइजर हुनु भनेको चानचुने कुरा हुँदै होइन । उत्कृष्टभन्दा उत्कृष्ट सर्जकले मात्र यस्तो अवसर पाउने गर्छन् । जुन यसपटक योगेन्द्रले प्राप्त गर्नुभएको छ ।

संगीतको सुरमा खेल्न सक्ने खुबीका कारण योगेन्द्रले आफूलाई भर्सटायल संगीतकारका रूपमा स्थापित गर्नुभएको छ । उहाँले आधुनिक, पप, लोक, भजनलगायतका जनरामा उत्कृष्ट संगीत सिर्जना गरी नेपाली सांगीतिक आकाशमा पस्किनुभएको छ ।

त्यसो त योगेन्द्रले संगीतकै औपचारिक अध्ययन गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट संगीतमा माष्टर डिग्री गर्नुभएको छ । योगेन्द्रले त्रिभुवन विश्वविद्यालयभन्दा अघि विभिन्न संगीत पाठशाला तथा स्कुलहरूमा संगीतको अध्ययन गर्नुभएको थियो । जहाँ उहाँले विभिन्न गुरुहरूबाट संगीतको वयावहारिक ज्ञान पाउनुभयो । तर, उहाँ त्यतिमै सीमित हुनुभएन । व्यावहारिक ज्ञानसँगै संगीतको सैद्धान्तिक ज्ञान पनि आवश्यक हुने महसुस गरी उहाँले संगीतमै उच्च शिक्षा लिनुभयो । यसरी सिकेका ती प्रत्येक ज्ञानले आज उहाँलाई अब्बल संगीतकारका रूपमा स्थापित गरेको छ ।

संगीतको सुरमा खेल्न सक्ने खुबीका कारण उहाँले आफूलाई भर्सटायल संगीतकारका रूपमा स्थापित गर्नुभएको छ । योगेन्द्रले आधुनिक, पप, लोक, भजनलगायतका जनरामा उत्कृष्ट संगीत सिर्जना गरी नेपाली सांगीतिक आकाशमा पस्किनुभएको छ । वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी संगीतमा रागको ज्ञान भएमा मात्र सुरमा खेल्न सकिने भन्दै योगेन्द्र यसमा निपूर्ण भएको बताउनुहुन्छ । योगेन्द्रको संगीत सुन्दा सजिलै उत्कृष्ट संगीतकार भन्न सकिने उहाँको भनाइ छ ।

त्यसो त योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार हुनुहुन्छ । रेडियो नेपालले गर्ने वर्गीकरणमा उहाँ ‘ए’ ग्रेडको संगीतकारका रूपमा सूचीकृत हुनुहुन्छ । सरकारी प्रसारणको एकमात्र रेडियो, रेडियो नेपालले संगीतकर्मीहरूको ग्रेडिङ गर्ने गर्छ । नेपालमा रेडियो नेपालको ‘ए’ ग्रेडको संगीतकारलाई प्रतिष्ठित व्यक्तिका रूपमा लिने गरिन्छ ।

त्यसो त योगेन्द्रले औपचारिकरूपमा आफ्नो संगीत रेकर्ड गर्नुअघि विभिन्न संगीत प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिलसमेत गर्नुभएको छ । पशुपति संगीत कला प्रतिष्ठानको आयोजनामा २०६७ सालमा सम्पन्न भक्ति संगीत प्रतियोगिता र कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सम्पन्न राष्ट्रिय भक्ति संगीत प्रतियोगिता २०६८ मा योगेन्द्र प्रथम हुनुभएको थियो । संगीतकारका रूपमा सफलता प्राप्त भइरहँदा उहाँले २०७१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगितामा पनि प्रथम स्थान हासिल गर्नुभएको थियो । यो प्रतियोगिता जितेपछि उहाँको सांगीतिक यात्रा थप परिष्कृत हुँदै आयो । अग्रजहरूको हौसलाले उहाँले औपचारिकरूपमा आफ्नो संगीतमा गीत रेकर्ड गराउनुभयो ।

शब्दको भावअनुसार संगीत सिर्जना गर्न सक्ने योगेन्द्र संख्यात्मकरूपमा भन्दा गुणात्मकरूपमा अब्बल गीतसंगीत सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । ‘काटिमा कुटी’, ‘क्लियर कट’, ‘सँगै हिँडौँ न’ लगायतका सोलो एल्बम बजारमा ल्याउनुभएका योगेन्द्रका दर्जनौं गीतहरू बजारमा आएका छन् । संगीत सिर्जनासँगै गीत लेखन र गायनमा पनि योगेन्द्र उत्तिकै क्रियाशील हुनुहुन्छ । उहाँले २०६८ सालमा रेडियो नेपालबाट स्वर परीक्षासमेत पास गर्नुभएको थियो ।

संगीतका प्रशिक्षकसमेत रहनुभएका योगेन्द्रले आफ्ना उत्कृष्ट सिर्जनाका लागि क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९, जिनियस म्युजिक अवार्ड २०७६, इमेज अवार्ड २०७२ लगायतका अवार्डहरूमा उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्नुभएको छ भने तेस्रो म्युजिक एण्ड फेसन अवार्ड २०७८ लगायतका थुप्रै सम्मानहरू प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?