कोहलपुरमै एक किलो बन्दाको १५० रुपैयाँ !

रासस
Read Time = 6 mins

बझाङ । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए ।

व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । ‘हामीले पनि किनेरै बेच्ने हो । १० रुपैयाँ नाफा नखाएर कसरी व्यापार गर्नु’, व्यापारी विनिता गिरीले भन्नुभयो, ‘हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा पाँच/दश रुपैयाँ नाफा त खानै पर्‍यो नि ।’

उहाँका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुग्नुभएको थियो । उहाँ अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित पर्नुभयो । ‘सिजनअनुसार सबै ठाउँमा १०/२० रुपैयाँ पर्ने बन्दाको मूल्य कोहलपुरमा १५० भन्यो’, उहाँले भन्नुभयो, ‘कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोधेँ, बन्दाको प्रतिकेजी रु १५० । गलत सुनेँ कि भनेर फेरि सोधेँ, रु १५० । अर्को स्टलमा सोधेँ, रु १५० नै । म त ट्वाँ परेँ ।’

प्रमुख विष्टले बन्दाको प्रतिकेजी रु १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताउनुभयो । ‘अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ रुपैयाँ छ । बित्थडचिरको आनन्दपुरमा १५ रुपैयाँ, मुस्याखान बैतडीमा १० रुपैयाँ, खोड्पे बैतडीमा १४ रुपैयाँ, अनारखोली डडेल्धुरामा १५ रुपैयाँ, धनगढीको दुवै हाटबजारमा ७० रुपैयाँ, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रुपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो !’

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताउनुभयो । ‘म त अचम्ममा परेँ, उहाँले भन्नुभयो, ‘मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन् ? उपभोक्ताले कति पाए र बिचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।’

यही विषयमा बुझ्न खोज्दा एकपटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको संकेत गर्दै प्रमुख विष्टले भन्नुभयो, ‘हुनत तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले कालीमाटी कृषि बजारमा यही प्रसंगमा बुझ्न खोज्दा झण्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिनँ ।’

व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १३० रुपैयाँदेखि १४० मा खरिद गरेको बताउनुभयो । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उहाँको भनाइ थियो । ‘कोहलपुरमा बेसिजनमा त यो मूल्य ठिकै हो । यसपटक भने निकै बढेको छ । कृषकले नै बढी लिएको, ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि १०÷१२ रुपैयाँ त नाफा खानु पर्‍यो ।’ व्यापारी जिसीले भन्नुभयो ।
अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य सय रुपैयाँको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । ‘अहिले बन्दाको थोक मूल्यसमेत ८०/९० रुपैयाँ छ ।’ अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उहाँले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?