मतदानको लागि गृहजिल्ला जानेको लर्को, चुनावका लागि सात लाख मतदाताले उपत्यका छाड्दै

अनिल क्षेत्री
Read Time = 7 mins

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न घर फर्केनेको लर्को लागेको छ । पछिल्ला दिनहरूमा उपत्यकाका कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा यात्रुको भिड लाग्ने गरेको छ । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ-आफ्नै क्षेत्रमा फर्किन लागेका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार सम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैँ-तिहारलगत्तै निर्वाचनको चहलपहल सुरु भए पनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यो संख्या सात लाख पुग्ने देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

चुनावकै लागि विभिन्न पार्टीहरूले र व्यक्तिगत खर्चमा समेत गाडी रिजर्भ गरेर मतदाताहरूलाई जिल्ला जिल्लामा र स्थानीय निर्वाचन क्षेत्रमा लैजाने काम भइरहेको छ । निर्वाचनका लागि उपत्यकाबाट गृह जिल्लामा मतदाता लैजान दलहरूबीच प्रतिस्पर्धा नै चलेको छ । आइतबार हुने निर्वाचनका लागि गाडी रिजर्भ गरेर लैजान उम्मेदवारहरूले प्रतिनिधि नै खडा गरेका छन् । पार्टी समर्थित कार्यकर्तालाई ती प्रतिनिधिले फोन गरेर पायक पर्ने ठाउँमा बोलाई गन्तव्यसम्म लैजाने गरेका छन् । जसका कारण पछिल्ला दिनहरूमा सरदर दैनिक सञ्चालन हुने गाडीहरूको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र सोहीअनुसार गाडीहरू सञ्चालन भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । खासगरी चुनावका लागि उपत्यका भित्रका भन्दा लामा रुटका गाडीहरूको प्रयोग बढी भइरहेका छन् ।

चुनावका लागि यात्रु बाहिरिने क्रम शनिबार साँझसम्म रहने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार टिकट काटेर जाने यात्रुको संख्या कम भएपनि गाडी रिजर्भमा जानेको संख्या धेरै छ । बुधबार–बिहीबारयता उपत्यका छाड्ने यात्रुको संख्या एक लाख १३ हजार ४४१ रहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले भन्नुभयो, ‘अघिपछि उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या लगभग उस्तै हुन्छ । अहिले भित्रिनेभन्दा पनि बाहिरिने यात्रुको संख्या धेरै छ । बुधबार सात हजार ७०९ सवारीमा ५५ हजार १४७ यात्रु बाहिरिएका थिए । बिहीबारदेखि शुक्रबार बिहानसम्म आठ हजार सवारीमा ५८ हजार २९४ यात्रु बाहिरिएका छन् ।’

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनाव भन्दा कम सवारी र यात्रु बाहिरिएका पनि शुक्रबार र शनिबार अझै बढी यात्रु र सवारी बाहिरिने प्रवक्ता भट्टको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विभिन्न पार्टीका उम्मेदवारले आ-आफ्नो हिसाबले काठमाडौंमा विद्यार्थीलगायत सर्वसाधारणलाई गाडी रिजर्भ गरेर लैजाने गरेको जानकारी दिँदै भन्नुभयो, ‘योपटक चुनावमा जानेको संख्या कम हुनुको कारण तिहारका लागि गएकाहरू कमै फर्किए, चुनावका लागि भन्दै धेरै उतै बसे । त्यसैले अहिले जाने यात्रुको चाप स्थानीय तह निर्वाचनको भन्दा कम भएको हो । स्थानीय तहको चुनावमा करिब १० लाख हाराहारी यात्रु बाहिरिएका थिए ।’
दशैँमा करिब २० लाख यात्रुले उपत्यका छाडेर घर गए पनि चुनावकै लागि भनेर ३० प्रतिशत काठमाडौं नफर्किएको सिटौलाको भनाइ छ । कात्तिक २२ देखि २५ गतेसम्म २७० सार्वजनिक सवारी रिजर्भ गरेर सुरक्षाकर्मी चुनावका लागि विभिन्न जिल्ला गएका थिए । गाडी समयमै नपुग्ने ठाउँमा हवाईजहाज र हेलिकप्टरमार्फत उम्मेदवारले मतदाता लैजाने गरेका छन् ।

दैनिक ६० हजार यात्रु उपत्यका छाड्दै
चुनावको मुखमा दैनिकजसो ६० हजार हाराहारीमा यात्रुहरूले सडकमार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत बुधबार एकैदिन ५८ हजार २९४ जना यात्रुहरूले उपत्यका छाडेकोमा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र एक लाख हाराहारीमा यात्रुहरूले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । शनिबार उपत्यका छाड्ने यात्रुहरू थप बढ्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ । निर्वाचनको मौन अवधि सुरु भएपछि दलहरूले गाडी नै रिजर्भ गरी मतदाता ओसार्न थालेका छन् । यसकारण राजधानीबाहिर जानका लागि विभिन्न नाकामा मतदाताको घुइँचो देखिएको छ । पूर्वदेखि पश्चिमसम्मकै केही बस नेताहरूले रिजर्भ गरेको यातायात व्यवसायीको भनाइ छ । कुनै जिल्लाबाट त नाम लिष्टसहित फलानो व्यक्तिमात्र भनेर पनि गाडीहरू रिजर्भ गरिएको छ । टाढा–टाढाका मतदाताहरूको लागि शुक्रबार सम्मको लागि मात्र गाडी रिजर्भ गरिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?