चुनावी सुरक्षामा तीन लाख सुरक्षाकर्मी परिचालन

मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन दिन्नौँ : गृह मन्त्रालय

डिबी शर्मा
Read Time = 14 mins

काठमाडौं । सरकारले निर्वाचनमा मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारेको छ । सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको सपष्ट पारेको हो । गृहसचिव विनोदप्रकाश सिंहले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताउनुभयो । शुक्रबार निर्वाचन पूर्व-तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव सिंहले त्यस्ता गतिविधि सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने बताउनुभयो । अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहहरूलाई कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ । ‘शान्तिपूर्ण चुनाव बहिष्कार गर्नेहरूसँग हामी ‘एग्रेसिभ’ थिएनौँ । तर, केही दिनयता हिंसात्मक विषयहरू देखिने सम्भावना देखिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता गतिविधि र क्रियाकलाप गर्ने समूह, व्यक्ति, संगठनलाई कानुनी दायरामा ल्याउने प्रयास गरिरहेका छौँ । कुनै पनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सरक्षामा क्षति हुने कुरा सह्य हुनेछैन । त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न हामी सक्षम छौँ ।’

गृहसचिव सिंहले मतपेटिका मत गणनास्थलसम्म ल्याउन सुरक्षा निकायको सवारीसाधन प्रयोग नगरिने स्पष्ट पार्नुभयो । सवारी साधनको अभाव रहेका विकट ठाउँहरूमा भने मतदान अधिकृतले माग गरे अनुरुप सशस्त्र प्रहरीको सवारीसाधन प्रयोग गर्न सकिने उहाँको भनाइ छ । हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ‘तीन लाख सुरक्षाकर्मी परिचालन’ गरिने उहाँले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि नेपाली सेना देशभरका कुनै पनि स्थानमा ३० मिनेटभित्र पुग्ने गरी सुरक्षा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मतदान केन्द्रहरूलाई आधार बनाएर सेनाका बेस क्याम्पहरू बसाइएको छ । निर्वाचनमा ७४ हजार ८४९ नेपाली सेना परिचालन गरिएको मन्त्रालयले जनाएको छ । गृहसचिव सिंहका अनुसार इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । निर्वाचन सुरक्षाका लागि निजी क्षेत्रका हेलिकप्टरलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

निर्वाचन पर्यवेक्षणका लागि ४६ संस्थाबाट सात हजार आठ सय पर्यवेक्षकहरू खटिने
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग कडा भएको नभई संविधानलाई कार्यान्वयन गरेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा पूर्व–पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दल र उम्मेदवार एवं कार्यकर्ताहरू अनुशासित भए कडा भएको अनुभव नै गर्न नपर्ने बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलहरू अनुशासित हुँदै जानु सबैका लागि खुशीको कुरा भएको बताउनुभयो । ‘निर्वाचन आयोग कडा भएको छैन । फुटबल खेल्दा रेफ्रीले रेड कार्ड देखाएन भने रेफ्री कडा भएको होइन, खेलाडी गतिला भएका हुन् । अनुशासित भएका हुन्,’ उहाँले भन्नुभयो, ‘साँच्चै यो मुलुकमा राजनीतिक खेलाडीहरू अनुशासित हुँदै गएका हुन् भने खुसीको विषय हो । हामी हिजो जस्तो थियौँ अहिले पनि त्यस्तै छौँ । कानुनले कसैलाई वर वा पर भन्न हुँदैन । ठूलो वा सानो भन्नु हुँदैन । कानुनले गर्ने व्यवहार पनि बराबर हुन्छ ।’

उहाँले निर्वाचन पर्यवेक्षणको लागि ४४ वटा नेपाली र दुई विदेशी गरी ४६ वटा संस्थाहरूबाट सात हजार आठ सयजना पर्यवेक्षकहरू निर्वाचन पर्यवेक्षणका लागि खटिने बताउनुभयो । आसन्न निर्वाचनमा १८ वटा कूटनीतिक नियोगका विभिन्न टोलीहरू पनि पर्यवेक्षणका लागि आएको बताउनुभयो । ६ देशका निर्वाचन व्यवस्थापन निकायका निर्वाचन आयोगका प्रमुखहरूले पनि निर्वाचनको पर्यवेक्षण गर्ने उहाँले बताउनुभयो ।

सहरी विकासले स्वीकृत गरेका सात योजनाको निर्णय बदर गर्न निर्देशन
निर्वाचन आयोगले सहरी विकास मन्त्रालयले हालै स्वीकृत गरेको सातवटा विभिन्न योजनाहरू बदर गर्ने निर्देशन दिएको छ । शुक्रबार सहरी विकास मन्त्रालयका सचिवलाई पत्र लेख्दै आयोगले उक्त निर्णय बदर गर्न निर्देशन दिएको हो । मन्त्रालयले यही मंसिर १ गते सचिव स्तरीय निर्णयबाट विभिन्न सातवटा योजनाहरू स्वीकृत गरेको आयोगलाई जानकारी गराएको थियो । आयोगको पत्रमा भनिएको छ ।’ यस विषयमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्ने गरी त्यस मन्त्रालयको मिति मंसिर १ को सचिव स्तरबाट भएको निर्णय बदर गरी सो को जानकारी ढिलोमा मंसिर ३ गते बिहान ११ बजेसम्म आयोगको इमेल ठेगानमा वा निर्वाचन आयोग नेपाल, कान्तिपथ, काठमाडौंमा प्राप्त हुने गरी पठाउन अनुरोध छ ।’ पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल कान्तिपथमा स्वयं उपस्थित भई देहायका विषयमा लिखित स्पष्टीकरण पेश गर्नुहुन आयोगले अनुरोध गरेको हो । अन्यथा निर्णय गर्ने अधिकारीउपर निर्वाचन आयोग नेपालबाटै कारबाही प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।

सही मतदान कसरी गर्ने ?
यसपालिको संघीय निर्वाचनमा मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदाताले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका दुई गरी चारवटा मतपत्रमा छाप लगाउन पाउनेछन् । प्रतिनिधिसभामा एक भोट एक उम्मेदवारलाई र अर्को भोट एउटा पार्टीलाई दिन पाउनेछन् । प्रदेशसभामा पनि प्रतिनिधिसभा जस्तै एउटा व्यक्ति र अर्को पार्टीलाई भोट पाइनेछ । अब लागौँ मतदान गर्ने तरिकातिर । मतदान केन्द्रभित्र प्रवेश गरिसकेपछि मतदाताले सबैभन्दा पहिला मतदाता नामावलीमा नाम रुजु गराउनुपर्छ । त्यसपछि बायाँ हातको बुढीऔँलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाउन लगाउनुपर्छ । पहिलो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्याएर मतपेटिकामा खसाल्नुपर्छ । त्यसपछि दोस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्याएर मतपेटिकमा खसाल्नुपर्छ । त्यसपछि तेस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्याएर सेतो मतपेटिकमा खसाल्नुपर्छ । अन्तिममा चौथो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्याएर मतपेटिकामा खसाल्नुपर्छ ।

निर्वाचनपूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको पर्यवेक्षण प्रतिवेदनको निष्कर्ष

निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचनपूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको छ । समितिले निर्वाचनपूर्व कुनै पनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तीक्तता रहेको अवस्था नपाएको बताएको छ ।

निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरूले विगतको तुलनामा सुदृढ रूपमा निर्वाचनको तयारी गरेको समितिले जानकारी दिएको छ । समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली, उम्मेदवार दर्ता, निर्वाचन आचारसंहिता पालना, सुरक्षा प्रबन्ध, मतपत्र, मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएको समेत प्रतिवेदन सार्वजनिक भएको छ । निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताउनुभयो । उहाँले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचार प्रसारका सामग्रीहरू टाँस्ने तथा प्रचार प्रसारमा समेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताउनुभयो ।

त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताउनुभयो । उहाँले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताउनुभयो । उहाँले राजनीतिक पार्टीका उम्मेदवारहरूले निर्वाचन आंचारसंहिताअनुसार मौन अवधिको राम्रो रूपमा परिपालना गरेको देखिएको बताउनुभयो । श्रेष्ठले मौन समय भनेको मतदाताहरू निर्वाचनका न्यायाधीशहरू भएकाले आफूले पाएको सूचनाहरूको आधारमा आफ्नो विवेक प्रयोग गर्नलाई सोच्ने समय भएको बताउनुभयो । उहाँले मौन समय अविचलित, अप्रभावित र हस्तक्षेपरहित समय भएको बताउनुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको देखिएको बताउनुभयो । उहाँले निर्वाचन व्यवस्थापनमा सुधार, राजनीतिक दलहरूले आचारसंहिताको बाटोमा हिँडेको र कर्मचारीहरूमा जागरुकता आएको उल्लेख गर्नुभयो । उहाँले विकशित मुलुकको जस्तो निर्वाचन प्रणाली होस् भन्ने सबैको अपेक्षा रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?