वियोगी बुढाथोकीलाई चिन्ने धेरै आयामहरू छन् । नेपाली साहित्यमा निरन्तर साधनारत रहेका वियोगी कवि, गजलकार, साहित्यिक पत्रकार, निबन्ध÷नियात्राकार, कुशल प्रशासक, सङ्गठक, सम्पादक र प्रकाशकसमेत हुन् । उमेरले सत्तरीको वरपर पुगेर पनि उत्तिकै फुर्तिलो र विनोदप्रियतालाई हेरेर उनलाई कतिपयले हाँसो गरेर भन्ने गर्छन् वियोगीजीलाई बुढो हुने अधिकार छैन । उहाँ काम गरिरहन जन्मिनुभएको हो र उहाँले त्यो काम छोड्न पाउनुहुन्न । हुन पनि पच्चीस वर्षे जोश र जाँगर लिएर सधैँ अथक किसिमले लागिरहनु उनको व्यक्तित्वको पहिलो पहिचान हो । साथै उनी यो देशका एकजना कृषक पनि हुन् ।
व्यक्तित्त्वका यति धेरै प्रकारलाई उनले न्याय गरेरै निर्वाह गर्दै आइरहेका छन् । अहिले उनको मुक्तककार व्यक्तित्वका बारेमा केही कुरा गर्न खोजिएको छ । व्यक्तिको स्वभावको प्रतिबिम्ब धेरै हदसम्म उसका सिर्जनामा पर्ने कुराका दृष्टान्त पनि वियोगी हुन् । सरल स्वभाव र सफा मनका धनी वियोगी सकारात्मक सोच र चिन्तन भएका व्यक्ति हुन् । उनको यही सरलपनलाई उपयोग गर्नेर फाइदा लिने ठूलै जमात अहिले पनि विद्यमान छ । सिधासाधा व्यक्ति भएका कारण सबैमाथि छिट्टै विश्वास गर्नुर उनैबाट समेत धोका पाउनु उनको स्वभावगत विशेषता नै हो । जसको शिकार उनी धेरैपटक भइसकेका छन् र पनि सबैप्रति सधैँ भरोसा गर्नु उनको धर्म हो जसलाई उनले छोड्न सक्दै सक्दैनन् ।
मूलतः कविताको लघुतम रूप चतुष्पदी श्लोक संरचनालाई आधार मानेर लेखिने अनि युग र जीवनका सौन्दर्य एवं बेथितिलाई विषय बनाएर संक्षिप्त अभिव्यक्तिमा हृदय र बुद्धिका तन्तुहरूमा झङ्कार वा कम्पन उत्पन्न गराउने साहित्यको चोटिलो विधा मुक्तक हो ।
व्यक्तिको प्रभाव कृतिमा परेजस्तै सम्बन्धको प्रभाव पनि लेखकमा पर्ने रहेछ । वियोगीको निजी स्वभावबारे यो पंक्तिकारले केही कुरा भन्नु त्यसैको परिणाम हो । सबै क्षेत्रमा रीत र विधानको अपेक्षा गर्ने भएकाले आफ्नो सिर्जना पनि यसै उद्देश्यका निम्ति सहायक होस् भन्ने उनको चाहना पाइन्छ । उनी ढाँट्न, मिलाएर कुरा गर्न र बनाबटी जीवन बाँच्नै सक्दैनन् र त उनले व्यक्तिको यथार्थ जीवनचर्यालाई काँटछाँट नगरिकनै प्रस्तुत गर्दछन् । मुक्तक विधामा विशेष काम गरिसकेका उनको मुक्ततक विधाको पछिल्लो कृति मुक्तक मल्लिका प्रकाशित छ ।
मुक्तक विधाका विषयमा पछिल्लो समयमा केही बहसहरूचलेका छन् र यस विधाको सैद्धान्तिकता र ऐतिहासिकताका बारेमा यताका वर्षमा केही काम भइसकेका छन् । मूलतः कविताको लघुतम रूप चतुष्पदी श्लोक संरचनालाई आधार मानेर लेखिने अनि युग र जीवनका सौन्दर्य एवं बेथितिलाई विषय बनाएर संक्षिप्त अभिव्यक्तिमा हृदय र बुद्धिका तन्तुहरूमा झङ्कार वा कम्पन उत्पन्न गराउने साहित्यको चोटिलो विधा मुक्तक हो । व्यङ्ग्य, कटाक्ष र माधुर्य मुक्तक पहिचानका खास आधार हुन् । पूर्वीय वाङ्मय नै मुक्तकको आधारभूमि भएपनि मुक्तक भन्ने विधा विशेष पूर्वीय साहित्यमा पाइँदैन । काव्य/कविताका व्यङ्ग्यात्मक छोटा अभिव्यक्तिलाई मुक्तकको ऐतिहासिक पृष्ठभूमिगत आधार मानेर सहित्यका अन्य विधाजस्तै मुक्तक विधालाई पनि पुरानो मानिएको हो ।
मूलतः विधागत रूपमा मुक्तक नेपाली साहित्यमा आधुनिक कालको देन हो । अझ विधागत अभियानको थालनी धेरैपछि मात्र हुन सकेको भन्ने समीक्षकको धारणा पाइन्छ । २०७० सालमा पोखरामा सम्पन्न नेपाल मुक्तक प्रतिष्ठानको भेलामा मुक्तकको विधागत सैद्धान्तिक स्वरूपका बारेमा बृहत् छलफल भई केही सैद्धान्तिक अधार निर्माण हुनसकेको भन्ने केही मुक्तक अभियन्ताहरूको धारणा पाइन्छ । यसरी हेर्दा मुक्तकलाई अन्य विधाबाट औपचारिक रूपमा भिन्न पहिचान गरी सैद्धान्तीकरणको प्रयास गरिएको समय धेरै भएको छैन तर यताका वर्षमा मुक्तकले पुनर्जागरणसहित गति लिएको पाइन्छ ।
नेपालको सन्दर्भमा मुक्तकको सैद्धान्तीकरणर विधागत विकासमा विशेष चासो लिएर अघि बढ्नेमध्येका एक अभियन्ता हुन् वियोगी बुढाथोकी । अहिले पनि उनी नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष हुन् । यस अर्थमा वियोगी र मुक्तकका बिचको सम्बन्ध पनि घनिष्ट छ भन्न सकिन्छ । वियोगीबाट यसपूर्व नै ‘वियोगीका वियोगहरू’ र ‘झिल्का लिएर साँझमा’ मुक्तक संग्रह प्रकाशित भइसकेका छन् । साथै ‘किरिङ मिरिङ सडकमा अलपत्र’ नियात्रा संग्रहमै पनि मुक्तकले सानदार उपस्थिति जनाइसकेका छन् । साथसाथै विभिन्न पत्रपत्रिकाहरूमा वियोगीका मुक्तकहरू आइ नै रहेका छन् ।
वियोगीको मुक्तककार व्यक्तित्वका बारेमा विद्वान् समालोचकहरूले आफ्नो आधिकारिक अभिव्यक्ति दिइसकेको अवस्थामा यो छोटो आलेखमा केही भन्ने चेष्टा गर्नु भनेको सूर्यलाई बत्तीको उज्यालोमा खोज्ने प्रयत्न गर्नु हो । जसरी कविता र गजलमा वियोगी सफल थिए तीभन्दा कम शक्तिशाली वियोगीका मुक्तक छैनन् बरू यही क्रममा मुक्तक लेखनले प्राथमिकता पाउँदै जाने हो भने मुक्तककार वियोगी बुढाथोकी अरू बुढाथोकीभन्दा अझ सशक्त बन्ने सम्भावना बढेको छ ।
सिर्जनाले निरन्तरको साधनामा विशिष्टता हासिल गर्दै जान्छ । साधनाले सर्जकका सीमाहरूमा कसी लगाउँदै जान्छ र सिर्जना अब्बल बन्दै जान्छ । वियोगीका मुक्तकहरू अहिले साधनाको कसीमा छन् र उत्तरोत्तर अब्बल बन्दै गएका छन् । ‘मुक्तक मल्लिका’ मा आइपुग्दा वियोगीका गजलहरूले मुक्तकको उचाइ लिइसकेको अनुभव हुन्छ । भीमदर्शन रोक्काको-
‘रात केबल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ,
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केबल एउटा मेरै भर बाँकी छ ।’
भन्ने मुक्तक पंक्तिलाई आफ्नो आदर्श ठानेर मुक्तक लेखनमा प्रेरित बनेका वियोगीको लक्ष्य निश्चय पनि उच्चकोटीको मुक्तक साधना गर्नु रहेको छ । मुक्तकको विशिष्टतालाई पहिचान गर्दै वियोगीले एक ठाउँमा भनेको यो भनाइ उद्धरणयोग्य लाग्यो ‘गागरभित्रको सागर रहेछ मुक्तक । त्यतिमात्र नभएर आँखाको गाजल रहेछ, स्वादे जिब्रोका लागि चटनी रहेछ । ओठको लाली रहेछ, रहेछ निधारको टीका पनि । थप भन्नुपर्दा महिलाले सर्लक्क पारेको कपालमा र पुरुषले मयलपोष वा सुट टाईमा सुहाउने कोटको माथिल्लो खल्तीको छेउमा सिउरिएको सुन्दर फूल रहेछ मुक्तक ।’ वियोगीको माथिको भनाइले वियोगीका मुक्तकहरू सौन्दर्यका अनुपम दृष्टान्त हुन् भन्ने त बुझियो, साथै मुक्तक व्यङ्ग्य र कटाक्षमा सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रका विसङ्गति र विकृतिप्रतिको तिखो प्रहार पनि हो भन्ने कुरा पनि वियोगीका मुक्तकहरू पढेपछि बोध हुन्छ ।
‘मुक्तक मल्लिका’ भित्रयुग र जीवनका प्रेम, पीडा, हर्ष र विष्मातका कोमल र कठोर अभिव्यक्तिले मुक्तकको आकार लिएका छन् । प्रेमले उत्कर्षता पाप्त गर्दाका प्रेमिल भावहरूले मनलाई बेलगाम दौडाउँदाको सुखानुभूति र बेथितिको विस्मातले विहृवल बन्दाका दर्दमय अनि विद्रोही चेतनाले विस्फोटन खोज्दाका आक्रोशहरू समेत यी मुक्तकमा अनुभव गर्न सकिन्छ । सौन्दर्यको खोजी रूपमा होइन सारमा हुनुपर्दछ । हामीले चाहेको सुन्दर जीवन र जगत्के यही विकृृतिले ढाकिएको कुरूप संसार हो त ? के हाम्रो बलिदान यसैका निम्ति थियो त ? होइन भने हामीले सधैँ एकै किसिमको पीडा किन बेहोरी रहनुपर्र्नेे ? भन्ने ध्वन्यात्मक असहमति यो संग्रहका मुक्तकहरूमा व्यञ्जित भएको पाइन्छ । झट्ट सुन्दा मदिराप्रेमीका लहडका अभिव्यक्ति जस्ता लाग्ने यी मुक्तकहरूको आक्रोश सत्ता र शक्तिका पुजारीहरूप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
वियोगीबाट यताको समयमा नियमितजसो मुक्तकहरू लेखिएका छन् भन्ने कुरा ‘मुक्तक मल्लिका’ को प्रकाशनबाट थाहा हुन्छ । प्रायः प्रत्येक दिन लेखिएका मुक्तकहरू यहाँ समाविष्ट छन् । मुक्तकलाई जीवन र जीवनलाई मुक्तकमा रूपान्तरण गरेको जस्तो लाग्छ वियोगीले । हामीले दिनहरू जसरी बिताउन विवश र बाध्य छौँ तिनको यथार्थचित्र मुक्तकमा प्रतिबिम्बित भएको पाइन्छ । बन्नुपर्ने त देश नै हो विषय स्रष्टाका सिर्जनामा तर ती विषय रहर लाग्दा नभई कष्टकर कुराको ताँती बनेर आएपछि वियोगी मुक्तकमा बेस्सरी छट्पटाएका छन् ।
कर्णालीको कुपोषण र भोकमरीको पीडाले, सुस्ताको भूमिहरणको पीडाले र निर्मला पन्तको बलात्कार र हत्याको पीडाले वा अरू पनि सबै प्रकारका पीडाले स्रष्टा नै रुनु पर्ने ! के यो देशमा कुनै सरकार छैन ? अनि भएको सरकारको कुनै दायित्व नै छैन ? जनताले सधैँ बेथिति नै व्यहोर्नुपर्ने ? भन्ने मौलिक प्रश्नले छुँदा कतिपटक वियोगीले पिएका छन् र उनले यो पनि सङ्कोच नमानी भनेका छन् । पिउनु उसको निजी जीवन हो तर उसका भोगाइ निजीमात्रै नभएर सार्वजनीन छन् र सबैको व्यथा एउटा प्रतिनिधि स्रष्टाले पोखेको छ जुन ज्यादै मार्मिक छ । जब सबैतिरको प्रहार शिरमा व्यहोर्नु परेको छ त्यसको प्रतिक्रियास्वरूप पिएका छन् र पोखिएर गरेका छन् ।
उनले आफ्नो र आफूजस्तैका सरलपनको संकेत गर्दै मुक्तकमा भनेका छन् ‘विश्वास गर्नु मेरै कमजोरी, रित्तिएपछि पिउन थालेँ, काम हुनु तर आफ्नो नहुनु सिद्धिएपछि पिउन थालेँ ।’ ‘त्यो दिन जीवनभर नभुल्ने खोइ के के कुरा भए, उनान्सय अपूरा एक प्रतिशत मात्र पूरा भए, समयसँगै सम्झौता गर्न असफल एक्लो यात्री मधुशालाबाट फर्किंदै थिएँ हेर्नेका शब्द छुरा भए ।’ यी अभिव्यक्तिमा मदिराको गन्धभन्दा बढी एक स्वाभिमानी चरित्र भएका व्यक्तिको विवशता र बाध्यताको कठोर एवं पीडाजन्य अभिव्यक्ति पाइन्छ ।
धेरैले बोल्न नसकेका र नपाएका कुरा वियोगीका मुक्तकले बोलेका छन् । सज्जन मानिसलाई अनेक बाहानामा किनारा लगाइएको छ, लाभ लिनेले जसरी पनि लाभ लिएकै छन् । यो विडम्वनापूर्ण अवस्थालाई सङ्केत गर्दै सटिक पारामा वियोगीले भनेका छन् ‘हिजो जोर रहेछ बिजोरमा परियो, आज बिजोर रहेछ जोरमा परियो, भन्नेहरूले न यताको न उताको भने आफू त नामकै प्रिय झोरमा परियो ।’ झट्ट सुन्दा सामान्य हाँसोजस्तो लागे पनि यसभित्र प्रत्येक इमानदार व्यक्तिको यथार्थ अवस्थाको चित्र लुकेको छ ।
सानो आकारको पुस्तकमा धेरै कुरा अटाइएको यो मुक्तक संग्रह समसामयिक नेपालको शब्दचित्र नै बन्न पुगेको छ । सबै क्षेत्रमा सुधार र समृद्धिको चहना राखिएको यो कृति देशको मौलिक स्वरूप हो । यहाँ उठाइएका प्रश्नहरू सबै देशप्रेमी नागरिकका प्रश्न हुन् ।
यसरी नै असलहरू सधैँ किनारा लाग्ने खेल सदियौँदेखि समाजमा चलिआएको छ र त यदाकदा स्रष्टामा विद्रोहको आक्रोश पनि उठेको छ–नलगाऊ कफ्र्यु मलाई सडकमा उभिएर गाँठी कुरा बोल्नु छ, मभित्र उकुसमुकुस भएर मडारिएका शब्दको ढोका खोल्नु छ, देशका लागि बोल्दा कसैलाई नोक्सानी भए माफ गर्नुहोला आगो हुँ विभेद, विकृति र विसङ्गतिको व्यवहारलाई पोल्नु छ ।’ यसरी नै हरेक क्षेत्रमा देखिएका असहजताबाट प्रत्येक नागरिक चिन्तित छन् र ती सबैको आबाज वियोगीहरूका मुक्तक वा साहित्यबाट बोलिएको छ । यी र यस्तै धेरै मार्मिक मुक्तकहरू यो संग्रहमा सजिएका छन् ।
सानो आकारको पुस्तकमा धेरै कुरा अटाइएको यो मुक्तक संग्रह समसामयिक नेपालको शब्दचित्र नै बन्न पुगेको छ । सबै क्षेत्रमा सुधार र समृद्धिको चहना राखिएको यो कृति देशको मौलिक स्वरूप हो । यहाँ उठाइएका प्रश्नहरू सबै देशप्रेमी नागरिकका प्रश्न हुन् । सारमा भन्दा जीवनका यथार्थहरू जे जस्ता छन् तिनलाई त्यस्तैमा प्रकट गर्दाको मौलिक स्वरूप वियोगीका मुक्तकहरूको विशेषता हो । देश र जनतालाई केन्द्रमा राखेर हेरिएका जिम्मेबार दृष्टि वियोगीका मुक्तक हुन् । स्पष्टवादिता, निष्कपट स्वभाव र सङ्गतिको चाहना राख्ने वियोगी जीवन र जगतलाई सबै दृष्टिले सुन्दर देख्न चाहन्छन् । वियोगीका आँखाले मुक्तकमा देखेको संसार हेर्न उनकै मुक्तकको पठन र मनन् आवश्यक छ । मुक्तक अभियन्ता वियोगीको स्वस्थ एवं सिर्जनशील जीवनको निम्ति थप शुभकामना व्यक्त गर्दछु ।