मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

फाइल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरुलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालीको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरुले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई/चार हजार कमाई हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भिम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे-गलकोट खण्डमा काम गर्दै आउनु भएको छ ।

गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनु भएका पगरीलाई मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपाली गाउँमा मतदान गर्न जानु भएन । पटक-पटक मतदान गर्दै आउनु भएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरु भौतारिएर काम खोज्दै बागलुङ आउनु परेको बताउनुहुन्छ ।

“मैले अहिलेसम्म ३/४ पटक भोट हालेर नेताहरुलाई जिताएँ तर, उनीहरुलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताहरुले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ” पगरीले भन्नुभयो-“त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेता ज्यूहरुले फोन त गर्नु भएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।”

काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समुहमा काम गरि राख्नु भएको छ । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनु भएका मगरलाई निर्वाचन बारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगरले दुई पटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिनु भएका मगर बाध्यताले बागलुङसम्म आएको बताउनुहुन्छ ।

“म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खान लाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइ दिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ” मगरले भन्नुभयो “विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नु परेको छ, गाउँमा एउटा सामान्य काम मिलाई दिएको भए म किन यहाँ आउनु पर्थ्याे र ?”

मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताउनुभयो । उहाँले चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको बताउनुहुन्छ । मगरले आफूले पहिलो पटक मतदान गर्ने अवसर गुमाएकोमा दुख व्यक्त गनुभयो ।

“म अघिल्लो निर्वाचनहरुमा विदेशमा थिए, भोट हाल्न पाइएन, यसपाली पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्लै भए, पहिलो पटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई ?” उहाँले भन्नुभयो- “भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनु परेको हो ।”

रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडक खण्डमा ढुङ्गा बोक्ने र गिट्टी बालुवा मुछ्ने काम गर्दै आउनु भएको छ । उहाँले रामेछापदेखि बागलुङसम्म रहरले नभई बाध्यताले आउनु परेको बताउनुभयो । उहाँले गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउनुहुन्छ । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरुको फोन आए पनि वास्तै नगरि काम गरि रहेको खत्रीको भनाई छ ।

खत्रीले भन्नुभयो-“हामी रहरले आएका हैनौँ, बाध्यताले आएका हौँ, घरमा स-साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरुको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरि रहेका छौँ, चुनाव आयो भोट हाल्न आउनु पर्‍यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरुले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्न, नेताहरुले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।”

उहाँले गाउँबाट दैनिक दर्जन बढी युवाहरु रोजगारीका लागि देश विदेशमा भौतारिँदा जनप्रतिनिधिले यस तर्फ ध्यान नदिएको उहाँको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्धालाई नेताहरुले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो-“नेताले हामीहरुलाई भोटका लागि मात्रै प्रयोग गरि रहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुन सकेको छैन, भाषण मात्रै ठूला ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरु रोजगारीका लागि गाउँ छोडि रहेका छन्, तर जनप्रतिनिधिले भने यस तर्फ ध्यान दिनै सकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन ।”

लोकमार्गको घोँडाबाँधेदेखि गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरुले गरेको बाचा पुरा नगरेपछि निराश भएर यसपाली भोट हाल्न गाउँ नगएको उनीहरु बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?