सप्तरीको दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सप्तरीको दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । राजविराज नगरपालिका-७ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा रहेको “क” र “ख” मतदान केन्द्रमा सबै महिला कर्मचारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

उक्त मतदान केन्द्रमा मतदान अधिकृत देखी सहयोगी र सुरक्षाकर्मी सबै महिलालाई खटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले जानकारी दिएका छन् । जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचन केन्द्र महिला मैत्री र नमूना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिला परिचालन गरिएको जानकारी दिनुभएको छ ।

महिला कर्मचारी परिचालन भएको उक्त मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत, एक/एक जना सहायक मतदान अधिकृत, चार/चार जना सहायक कर्मचारी र दुई/दुई जना सहयोगी पनि महिलालाई नै नियुक्त गरिएको छ । उक्त मतदान स्थल “क” मतदान केन्द्रको मतदान अधिकृत गङ्गा सुनुवार र “ख” मतदान केन्द्र मतदान अधिकृतमा निशाकुसुम पौडेल हुनुहुन्छ। उक्त मतदान केन्द्रमा “क” र “ख” मा गरि कुल १ हजार ५ सय ५७ मतदाता छन् ।

सूचना अधिकारी मेहताका अनुसार जिल्लाभरमा कुल ५ सय ३६ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये १ दर्जन भन्दा बढी मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई पनि प्रदान गर्ने उद्देश्यले जिल्लाको एक दर्जन भन्दा बढी स्थानमा महिलालाई मतदान अधिकृत बनाइएको सूचना अधिकारी मेहताले जानकारी दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?