-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जा स्थायी घर भै काठमाण्डौं वसोवास गर्ने दिपबहादुर छन्त्याल सहित ८ जनाको एक टोली शनिवार धवलागिरि गाउँपालिका वडा नं २ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो ।
म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गूर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उहाँको परिवार सहितको टोली काठमाण्डौंदेखि बेनीआएर गुर्जा जान थालेको हो ।
सडक संजालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा ७ सय ५४ जना मतदाता छन् । ती मध्ये करिब १ सय मतदाता गाउँ बाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिडेर लुलाङदेखि गुर्जा पुग्न वाध्य भएका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताउनु भयो ।
मतदानका लागि गाउँ बाहिर रहेकाहरु गाउँ आउन सुरु भएको उहाँले जानकारी दिनुभयो । लुलाङसम्म सवारीसाधन र त्यसपछि १ दिनको पैदल यात्रा गरेर पुगिन जिल्लाको अति विकट गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिनुभयो ।
आइतवार (भोलि) हुने निर्वाचनका लागि गुर्जामा २० जना कर्मचारी खटाइएको छ । जिल्लाकै अत्यन्त दुर्गम र सुरक्षाको दृष्टिकोणले पनि संवेदनशील मानिएको गुर्जामा आवश्यक सुरक्षाकर्मीसहितको टोली समेत पठाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनु भयो ।
एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ८ जना निर्वाचन कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन् ।
यहाँ भोली हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका