फुटबलको पहिलो विश्वकप अघि र पछि

Read Time = 11 mins

दोहा । सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकप फुटबलको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण घटनामध्ये गनिन्छ । अहिले फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल बनेको छ तर कुनै समयमा फुटबललाई खेलसमेत मानिँदैनथ्यो । फुटबल कहिलेदेखि कहाँबाट सुरु भयो भन्ने यकिन तथ्य नभए पनि यसको इतिहास तीन हजार वर्षभन्दा लामो रहेको मानिन्छ । हजारौँ वर्षमा फरक फरक चरण पार गर्दै स्वरूप फेर्दै फुटबल अहिलेको अवस्थामा आएको फुटबलका विज्ञ बताउँछन् ।

फुटबललाई इसापूर्व ३०२ सय वर्षअघि चीनमा खेलिने खेलको नजिक रहेको पनि बताइन्छ । सुजु नामक उक्त खेलको नियम लिखित रूपमा नभेटिए पनि बाहिर छाला र भित्र चराको प्वाँख राखेर बनाइएको बललाई गोडाले हानेर खेल्ने गरिन्थ्यो । सोही खेलको परिमार्जित संस्करण जापानमा पनि खेल्ने गरेको बताइन्छ । इतिहासविद्का अनुसार केमारी नामक उक्त खेल विभिन्न पर्वमा खेल्ने गरिन्थ्यो ।

त्यस्तै, ग्रिसमा पनि खुट्टाले बल हान्ने खेल प्रचलनमा रहेको अभिलेख पाइन्छ । जसमा छालाको बल बनाएर भित्र विभिन्न जनावरको रौँ राखेर खेलिन्थ्यो । त्यसपछि सातौँ शताब्दीतिर हावा भरेको बल पहिलोपटक प्रचलनमा आएको बताइन्छ ।

केही ठाउँमा सांस्कृतिक महत्वका रूपमा त कहीँ सैनिकहरूलाई अभ्यास गराउन खेलाइने फुटबललाई दर्शकसहित छुट्टै मैदानमा खेल्ने र धेरै मानिसलाई मनोरञ्जन दिन योग्य खेलको रूपमा भने लिइन्थेन । १८औं शताब्दीको अन्त्यतिर फुटबल खेल बेलायत भित्रियो ।
त्यसपछि उन्नाइसौँ सदीको मध्यसम्म आइपुग्दा फुटबलका धेरै नियम परिमार्जित गरी एउटा पूर्ण खेलको रूपमा विकास भयो । सोही नियममा आधारित रहेर अहिले फुटबल खेलिन्छ ।

ओलम्पिकमा फुटबल
सन् १८९६ मा आयोजना भएको पहिलो ओलम्पिक खेलमा नौ वटा खेल समावेश थिए । जसमा फुटबल थिएन। त्यति वेलासम्म फुटबल नयाँ खेलको रूपमा बिस्तारै चर्चामा आउँदै थियो । सन् १९०० मा नयाँ शताब्दीको सुरुवातको अवसरमा ओलम्पिकले फुटबलसहित दशवटा अरू खेल थप्यो । जुन फुटबलका लागि ऐतिहासिक घटना मानिन्छ ।

सन् १९०० को ओलम्पिकमा फुटबलका लागि बेलायत, फ्रान्स र बेल्जियमको नेतृत्व गर्दै तीन राष्ट्रिय क्लब सहभागी भए । जसमा बेलायतको अपटोन पार्कले स्वर्ण जितेको थियो । त्यसपछि १९०४ को ओलम्पिकमा तीन र १९०८ को ओलम्पिकमा ६ टोली सहभागी थिए ।
बिस्तारै फुटबलको लोकप्रियता विश्वभर बढ्दै गयो । जस कारण १९१२, १९२० र १९२४ को ओलम्पिकमा फुटबलका लागि प्रतिस्पर्धा गर्ने देशहरूको संख्या पनि ११, १४, २२ गर्दै क्रमशः बढ्दै गयो । शुरुदेखि नै सबैभन्दा बलियो टोलीको रूपमा रहेको बेलायतलाई टक्कर दिने अरू नर्वे, बेल्जियम, उरुग्वे जस्ता टोली निस्किए ।

१९२० को ओलम्पिकमा बेल्जियमले स्वर्ण पदक जित्यो भने त्यसपछिका १९२४ र १९२८ ओलम्पिकको स्वर्ण उरुग्वेले लग्यो । त्यति वेलासम्म फुटबलको क्रेज अर्को स्तरमा पुगिसकेको थियो ।

ओलम्पिकमा अन्य खेलहरूसँगै एउटा खेलको रूपमा खेलाइँदा तत्कालीन फिफा अध्यक्ष जुलेस रिमेटलाई फुटबल छायाँमा परेको भान भयो र फुटबलको लागि छुट्टै प्रतियोगिता आयोजना गरिनुपर्ने विचार आयो। सोही अनुरूप सन् १९३० मा पहिलो फुटबल विश्वकप आयोजना हुने घोषणा भयो ।

पहिलो विश्वकप
विश्वकपको घोषणा भए पनि कुन ठाउँमा आयोजना गर्ने भन्ने टुंगो थिएन । आफ्नो स्वतन्त्रताको सय वर्ष पूरा भएकाले पहिलो विश्वकप उरुग्वेमा आयोजना गर्न उरुग्वे सरकारले फिफालाई अनुरोध गरिरहेको थियो । त्यतिवेला ओलम्पिकमा स्वर्ण जित्ने टोली नै विश्व विजेता कहलिन्थ्यो । लगातार दुईपटकको विश्व विजेता टोलीले स्वतन्त्रताको सय वर्ष पहिलो विश्वकपको आयोजना गरेर मनाउँछौँ भन्दा फिफाले हार्न सकेन र पहिलो विश्वकप १९३० जुलाई १३ देखि ३० सम्म उरुग्वेको मोन्तेभिदियोमा आयोजना हुने निश्चित भयो ।

पहिलो विश्वकपमा अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, रोमनिया, पेरु र आयोजक उरुग्वे गरी १३ देश सहभागी थिए । तीमध्ये उरुग्वेसहित युगोस्लाभिया, अर्जेन्टिना र अमेरिका आ-आफ्नो समूहको विजेता बन्दै सेमिफानलमा प्रवेश गरे ।
ग्रुप तीनमा रहेको उरुग्वेले रोमनिया र पेरुलाई हराउँदै सेमिफानल पुगेको थियो । जहाँ उसले ब्राजिल र बोलिभियालाई हराउँदै समूह दुई को विजेता बनेको युगोस्लोभियाको सामना गर्नुप¥यो भने अर्को सेमिफाइनलमा अर्जेन्टिना र अमेरिका भिड्दै थिए । अर्जेन्टिना र उरुग्वे दुवै टोलीले ६–एक गोल अन्तरको जित निकाल्दै पहिलो विश्वकपको फाइनलमा प्रवेश गरे ।

१९३० जुलाई ३० मा भएको फाइनल खेल प्रत्यक्ष हेर्न ९० हजारभन्दा बढी मान्छे पुगेका थिए । दुई वर्षअघि भएको १९२८ को ओलम्पिक फाइनलमा भेटेका प्रतिद्वन्द्वी पहिलो विश्वकपको फाइनलमा पनि भेट भएका थिए । जसकारण पहिलो विश्वकप फाइनलको हाइप अर्को स्तरमा थियो ।

झण्डै १५ हजार अर्जेन्टिनी आफ्नो टोलीलाई जिताउन प्लेट नदी तरेर मोन्तेभिदियो पुगेका थिए तर पहिलो विश्वकपको फाइलनमा पनि ओलम्पिककै फाइनल नतिजा दोहोरियो। उरुग्वे चार-दुईले विजयी हुँदै विश्वकप उपाधि जित्न सफल भयो ।
त्यसपछि सन् १९५० मा उरुग्वेले दोस्रोपटक विश्वकपको उपाधि जित्यो । त्यसपछि भने उरुग्वे फाइनलसम्म पनि पुग्न सकेको छैन । उरुग्वेमा आयोजना भएको विश्वकप पनि १९३० कै पहिलो र अन्तिम हो ।
विश्वकप २०२२
कतारमा आयोजित २२ औं विश्वकपमा आठ समूहमा ३२ टोलीले प्रतिस्पर्धा गर्दै छन् जसमा उरुग्वे, घाना, साउथ कोरिया र पोर्चुगलसहित ग्रुप एचमा रहेको छ । विश्वकप शुरु भएको झण्डै सय वर्ष पुग्न लाग्दा ब्राजिल सबैभन्दा बढी पाँचपटक विश्व विजेता बनेको छ भने इटाली र जर्मनीले चारचार पटक विश्वकप जितेका छन् । पहिलो विश्वकपमा उरुग्वेसँग हारेको अर्जेन्टिना पनि सन् १९७८ र १९८६ मा विश्व विजेता बन्यो ।
फिफाको वर्तमान वरीयता अनुसार ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिनासहित बेल्जियम, फ्रान्स, बेलायत, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क बलिया टोलीमध्येमा गनिन्छन् । फिफा वरीयतामा उरुग्वे १३ औँ नम्बरमा रहेको छ ।

२०२२ सम्म आइपुग्दा दुई सयभन्दा बढी देशमा २५ करोडभन्दा बढी खेलाडी सक्रिय रूपमा फुटबल खेल्ने गर्छन् भने साढे तीन अर्बले पछ्याउने गर्छन् । जसले गर्दा फुटबल वर्तमान समयको सबैभन्दा लोकप्रिय खेल बनेको छ ।

यति वेला विश्वकप खेल्दै गरेका वा विश्वकपमा छनोट हुन नसकेका सबै देश फुटबलमय बनेका छन् । कुनै समय खेलसमेत नमानिएको फुटबलको विश्वकपलाई खेल जगत्को सबैभन्दा ठूलो पर्वको रूपमा लिने गरिन्छ ।

सबैभन्दा पाको टोली अर्जेन्टिना
विश्वकप आज (आइतबार)देखि शुरु हुँदैछ । यो बीचमा कतारमा खेल्ने सबै राष्ट्रभन्दा पाको टोली अर्जेन्टिनाको रहेको छ । टोलीमा रहेका खेलाडीको उमेरका हिसाबले औसत निकाल्दा अर्जेन्टिना बूढो टोलीका रूपमा देखिएको हो ।

अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ । टोलीमा रहनुभएका कप्तान लियोनल मेसी र तीनैजना गोलकिपरसहित नौ जना कम्तिमा ३० वर्ष उमेरका हुनुहुन्छ । सबैभन्दा कान्छा खेलाडीका रूपमा २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज हुनुहुन्छ । ६ जना २४ वर्षका खेलाडी छन् । २२ र २३ वर्षका पनि एक–एक खेलाडी छन् ।

कतार विश्वकपको सबैभन्दा युवा भने अमेरिकी टोली रहेको छ । टोलीमा रहेका खेलाडीको औसत उमेर २४.५ वर्ष रहेको छ । टोलीमा कम्तिमा ३० वर्ष उमेरका तीन जना खेलाडी छन् । २५ वा त्यसभन्दा कम उमेरका खेलाडीको संख्या १५ रहेको छ । यस्तै, २० वा त्यसभन्दा कम उमेरका तीन जना छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?