प्रोष्टेट ग्रन्थिशोथ-प्रोष्टाइटिस

A A- A+

✍️ प्रा.डा.अर्जुनदेव भट्ट

भ्रूण १० हप्ता हुँदा भविष्यमा हुने प्रोष्टेट ग्रन्थि अंकुरित भएर विकसित हुन थाल्छ । ग्रन्थिको समुचा वृद्धिको निमित्त पुरुष हार्मोनको संलग्नता अनिवार्य हुन्छ । भर्खर जन्मेको बच्चामा र त्यसपछि तरुण अवस्थासम्म ग्रन्थि सानै हुन्छ । प्रोष्टेट ग्रन्थिको लागि शुक्रग्रन्थि सक्रिय भएर पुरुष हार्मोन टेष्टाष्टरोन प्रशस्त मात्रामा बन्नुपर्दछ । टेष्टास्टेरोन हार्मोन प्रोष्टेट ग्रन्थिमा हिडाइड्रो टेष्टाष्टेरोनको रूपमा जम्मा हुन थालेपछि ग्रन्थि विकसित भएर पुरुष प्रजनन् अंगको महत्वपूर्ण हिस्साको रूपमा स्थापित हुन्छ । फलस्वरूप लिंग, अण्डकोष र प्रोष्टेट ग्रन्थि स्वयंको रूप पनि वृद्धि हुन्छ र कपालको घेरामा पनि परिवर्तन आउँछ । युवक जवानीमा प्रवेश गर्दछ ।

७० प्रतिशत ग्रन्थियुक्त कोष र ३० प्रतिशत रेसा तथा मांसपेशीयुक्त तन्नुबाट प्रोष्टेट बनेको हुन्छ । प्रोष्टेट ग्रन्थिमा भएको डिहाइड्रो टेष्ट्राष्टेरोनले सम्पूर्ण जीवनभर ग्रन्थिको विकास र यौनक्रियाशीलतामा असर पार्दछ । प्रोष्टेट ग्रन्थिले वीर्य २० प्रतिशत उत्पादन गर्दछ । यसमा भएका तत्वले शुक्रकीटको पोषण, गति र अरू थुप्रै महत्वपूर्ण क्रियामा असर पार्दछ । यसले उत्पादन गर्ने पिएसएप पदार्थको जाँचबाट प्रोष्टेट क्यान्सर भएका बिरामीको निदान तथा उपचारमा उल्लेखनीय सहयोग मिल्न सक्छ । पिएसए ग्रन्थिशोथ हुँदा पनि उच्च हुन्छ । यसैले पिएसएलाई प्रोष्टेट क्यान्सर निश्चित मान्नु हुँदैन ।

प्रोष्टेट ग्रन्थि उग्रशोथ
प्रोष्टेट ग्रन्थिका थुप्रै रोगव्यधि हुन सक्छन् । त्यसमध्ये ग्रन्थिको शोध संक्रमणको कारण देखापर्ने एउटा प्रचलित रोग हो । संक्रमणको कारणले प्रोष्टेट ग्रन्थिको सुजन हुन्छ । यस्तो अवुथा झण्डै ५० प्रतिशत मानिसको जीवनकालमा देखापर्दछ । सामान्यतया बीसदेखि ५० वर्षको उमेरमा यो रोग सबैभन्दा बढी देखापर्दछ तर सत्तरी वर्षको उमरेपछि पनि यो रोग औधी देखापर्दछ ।

यस ग्रन्थिको शोथको उग्र अवस्थामा ग्रन्थिको सबैभन्दा सानो भाग कोष्ठको वरिपरि लिम्फोसाइट (श्वेत-रक्तकोषिका)ले घेरेको हुन्छ । संक्रमणको कारण मोटो आन्द्रामा पाइने लाम्चोखालको सूक्ष्म किटाणु (ईं कोली) ८० प्रतिशत हुन्छ । त्योबाहेक स्युडोमोनास् क्लेवसेल्ला, प्रोटियस र अरू विभिन्न किटाणु पनि कारक बन्न सक्दछन् । प्रायःजसो ग्रन्थिशोथको कारण मूत्रसंक्रमणबाट सुरु हुन्छन् । प्रोष्टेट ग्रन्थिबाट वीर्यमा तरलपदार्थ जाने नली हुँदै संक्रमित मूत्रनलीभित्र प्रतिप्रवाह भएर छिरेपछि संक्रमणले ग्रन्थिलाई आक्रमण गर्दछ र यो नली सुजनको कारणले पूरै टालिन्छ । संक्रमण छिरेपछि सुजन हुने भएकाले ग्रन्थिबाट किटाणुहरू बाहिर निस्कन सक्दैनन् र भित्रै थुनिन्छन् । फलस्वरूप संक्रमणले झन् चर्को रूप लिन्छ र ग्रन्थिको सुजन बढ्दै जान्छ ।

प्रोष्टेट ग्रन्थि उग्रशोथ संक्रमणले अपर्झट हुने रोग हो । यसको सुरुवात प्रायः मूत्रसंक्रमण हुँदा प्ररितक्षाप्रणाली कमजोर भएका विभिन्न रोगग्रस्त पुरुषमा सम्पूर्ण शरीर दुख्ने, जाडो भएर ज्वरो आउने, मुटुको चाल बढ्ने, नाडी कमजोर हुने, पिसाब फेर्न गाह्रो हुने र पोल्ने, पेटको तल्लो भाग, कम्मर गुदद्वार वरिपरि पोल्ने र दुख्ने हुन्छ ।

बिरामीले यस्तो अवस्थामा ज्यादै कमजोर अनुभव गर्दछ र शरीर दुख्ने, वाकवाक लाग्ने र बान्ता हुने गर्दछ । पिसाबनलीको पछाडिको भाग, गदुद्वारतिर र पेटको तल्लो भाग दुख्ने र पोल्ने हुन्छ । पिसाब गर्न धेरैबेर कुर्दा थोपाथोपामात्र हुन्छ र एक किसिमले पिसाब पूरै रोकिन्छ । संक्रमणको विषले बिरामीको ज्वरो बढ्दछ । मुटुको धड्कन छिटोछिटो र रक्तचाप कम हुन्छ । पिसाब जाँच्दा पीर र रगत देखापर्दछ । पिसाबको कल्चरमा किटाणु देखापर्ने हुन्छ । रक्तपरीक्षणबाट संक्रमणको स्थिति र मृगौलाको कार्यक्षमता हेर्नुपर्दछ । अल्ट्रासाउण्ड (भिडियोजाँच) गराउँदा प्रोष्टेट ग्रन्थि ठूलो भएको र मूत्रथैलीमा थुप्रै पिसाब ननिख्रेर बाँकी रहेको देखापर्दछ ।

उपचार, प्रशस्त मात्रामा झोलपदार्थ, नदुख्ने औषधि र एन्टिबायोटिक औषधि सेवन गरेर सुरु गर्नुपर्दछ । ज्वरो धेरै भए, रक्तचाप घटे र पिसाब फेर्न औधी कठिन वा असम्भव भए सुरुमा यो रोगको उपचार अस्पतालमा भर्ना भएर गराउनु सुरक्षाको दृष्टिले प्रायः अनिवार्य हुन्छ । होइन भने मूत्रसंक्रमणको विष शरीरमा फैलिएर सूक्ष्मरक्तनसा फुल्ने हुन्छ र मुटुमा आवश्यक मात्रामा रगत पुग्न सक्दैन । फलस्वरूप मुटुको आघात हुन सक्ने, मृगौलाको काम गर्ने क्षमतामा ह्रास आउने हुन्छ ।

रक्तसञ्चार र रक्तचापका कमीले गर्दा मृगौलाले प्रर्याप्त मात्रामा रक्त छान्न नसक्ने भएर पिसाबको मात्रा घट्न सक्छ । बिरामीको शरीरमा फुस्रोपन देखापर्दछ, नाडी क्षीण हुन्छ र रक्तचाप औधी कम हुन्छ । बिरामी आघातको अवस्थामा पुग्छ । उसको होस प्रष्ट हुँदैन र ऊ विचलित र तनावमा हुन्छ । व्यापक उपचार गरेपछि बिरामीको अवस्था राम्रो हुँदै गए बाँकी उपचार बिरामी घरमै बसेर गर्न सक्दछ । तर, कम्तीमा चारदेखि ६ हप्ता प्रोष्टेट ग्रन्थिशोथको एन्टिबायोटिक (प्रतिजीवाणु) उपचार गर्नु अनिवार्य हुन्छ । होइन भने संक्रमण बाँकी रहेर पछि जीर्णशोथमा परिणत भई जीवनभर समस्या कायम हुन्छ ।

एपचार ढिलो सुरु भए वा प्रतिजीवाणु औषधि उपयुक्त नभए अथवा असर गर्न असफल भए ग्रन्थिका केही तन्तुको क्षय र मृत्यु हुन्छ र खटिरा बन्छ । खटिरा उत्पन्न भएपछि प्रायः बेलुका ज्वरो आउने, पिसाब फेर्दा खुलेर नहुने र गुदद्वार, तल्लो पेट र कम्मर दुख्ने हुन्छ । यस्तो अवस्था हप्ता वा महिनौँ लम्बिन सक्छ र शल्यउपचारको आवश्यकता पर्दछ । आफैँ खटिरा फुटे पिसाब धमिलो, बाक्लो र गनाउने हुन्छ । गुदद्वारतिर खटिरा फुटे दिसामा वा गुदद्वारबाट पीप र मृत तन्तु बग्दछ र त्यसपछि केही दिनमा अवस्था सुल्झँदै आउँछ ।

उपयुक्त प्रतिजीवाणु उपचार गर्दागर्दै पनि लामो समयसम्म सफलता हासिल गर्न नसके टियुआरपी शल्यक्रियाको आवश्यकता पर्दछ । खास गरेर मूत्रसञ्चारमा अवरोध भएको अवस्थामा वा ग्रन्थिमा पत्थरीहरू भए वा पीप जमेर खटिरा भए शल्यक्रिया प्रायः अनिवार्य हुन्छ । उपचारको सिलसिलामा पिसाब फेर्न नसके बिरामीलाई मूत्रशयमा नली राखेर पिसाब गराउनुपर्ने हुन्छ । संक्रमणले गर्दा मूत्रनलीबाट पिसाब सञ्चालन गर्ने प्रयास गर्दा किटाणु छिटो रक्तसञ्चारमा प्रवेश गर्ने सम्भावना भएकाले पेटको तल्लो भागबाट सोझै मूत्राशयमा नली राख्नुपर्ने हुनसक्छ । प्रोष्टेट ग्रन्थिशोथ हुने बिरामीहरूको स्वास्थ्य प्रायः ज्यादै कमजोर हुन्छ । मधुमेहबाट पीडित प्रतिरक्षाप्रणालीमा ह्रास, विभिन्न किसिमका रोगव्याधि भएका प्रोष्टेट ग्रन्थि वृद्धि भएको अवस्था भए बिरामीको उपचार अस्पतालमा हुनुपर्छ ।

निचोड
प्रोष्टेट ग्रन्थि उग्रशोथ संक्रमणले अपर्झट हुने रोग हो । यसको सुरुवात प्रायः मूत्रसंक्रमण हुँदा प्ररितक्षाप्रणाली कमजोर भएका विभिन्न रोगग्रस्त पुरुषमा सम्पूर्ण शरीर दुख्ने, जाडो भएर ज्वरो आउने, मुटुको चाल बढ्ने, नाडी कमजोर हुने, पिसाब फेर्न गाह्रो हुने र पोल्ने, पेटको तल्लो भाग, कम्मर गुदद्वार वरिपरि पोल्ने र दुख्ने हुन्छ । समयमै प्रभावशाली प्रतिजीवाणुको प्रयोग वा कुशल चिकित्साबाट उपचार भए रोगले भयानक रूप लिँदैन । प्रतिजीवाणु उपचार कम्तीमा चारदेखि छ हप्ता हुनुपर्दछ । हेल्चक्र्याइँपूर्ण उपचारले ग्रन्थिमा पीप जमेर खटिरा बन्ने तथा रोग जीर्णशोथमा रूपान्तरण हुने ठूलो सम्भावना हुन्छ । मधुमेह, मृगौलाको कमजोरी, प्रोष्टेट ग्रन्थि बढेर मूत्रसञ्चारमा अवरोध भएका तथा अरु रोगहरूले निकै गलेका बिरामीको उपचार अस्पतालमै हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?