इफाप्काको अध्यक्षमा रवि सिंह

Read Time = 4 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनको छाता संगठन (इफाप्का) को अध्यक्षमा चयन हुनुभएको छ । माल्दिभ्सको राजधानी मालेमा शुक्रबार सम्पन्न इफाप्काको ४५ औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो । इफाप्काको महासचिवमा महासंघका सल्लाहकार इन्जिनियर वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन हुनुभएको छ । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ इफाप्का अध्यक्ष चयन हुनुभएको थियो ।

इफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलिया र ४६ औँ इफाप्का सम्मेलन सोही वर्षको नोभेम्बर तेस्रो साता काठमाडौंमा हुने भएको छ ।

कार्यक्रममा इफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले इफाप्काको नयाँ अध्यक्षका रूपमा सिंहलाई कार्यभार हस्तान्तरण गर्नुभयो । अध्यक्ष सिंहसहित नयाँ कार्यसमितिका सबै बोर्ड पदाधिकारी र सदस्यले सोही दिन पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

सपथपछि सिंहले इफाप्कालाई सशक्त संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इफाप्काका नयाँ महासचिव इन्जिनियर पाण्डेले ४६औँ इफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौंमा आयोजना गरिने जानकारी दिनुभयो । सोही अवसरमा पाँचौंपटक इफाप्का सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा महासंघ अध्यक्ष सिंहसहित निर्माण व्यवसायी शिव चौलागाईं, कृष्ण गौतम, निर्मल सिटौला र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेको महासंघले जनाएको छ ।

यसैबीच इफाप्काका नवनियुक्त अध्यक्ष सिंहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बोर्ड बैठकले इफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६औँ इफाप्का सम्मेलन सोही वर्षको नोभेम्बर तेस्रो साता काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालतर्फबाट नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा इफाप्काको सदस्यता लिएको हो । इफाप्कामा हाल एसिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आबद्ध रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?