Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सुरक्षाकर्मी र कर्मचारीलाई मतदानस्थलमा भ्याइनभ्याई

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins
A A- A+

सिन्धुली । शनिबार एकाबिहानै जेसिबीले जमिन सम्याउँदै थियो । प्रहरी जवान नवीन घिमिरे गलले खाल्टो खन्दै हुनुहुन्थ्यो । सहायक कर्मचारी शिव सिग्देल माटो निकाल्न व्यस्त देखिनुहुन्थ्यो । सहायक हवल्दार टंक कार्कीलाई बाँस गाड्न भ्याइनभ्याई थियो । निर्वाचन अधिकृतहरू गोपालबहादुर कार्की, सन्तोष हुमागाईं र रमा श्रेष्ठ सुरक्षित मतदानस्थल र मतदान केन्द्र (बुथस्थल) निर्माणका लागि आवश्यक तयारी गर्दै हुनुहुन्थ्यो । सुरक्षाकर्मी र कर्मचारी मध्येका कोही खाना बनाउन खटिएका थिए ।

आइतबार बिहान ७ बजेदेखि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुट्दा यहाँ खटिएका सुरक्षाकर्मी र कर्मचारीले दिउँसोको १२ बज्दासमेत खाजा खाना खान भ्याएका थिएनन् । सबैजनालाई निर्वाचन तयारीको हतारो थियो । यो दृश्य दुधौली नगरपालिका-३ मा रहेको मतदानस्थलको हो । यहाँको वडा कार्यालयनजिकै रहेको मतदानस्थलमा तीनवटा मतदान केन्द्र रहेका निर्वाचन अधिकृत गोपालबहादुर कार्कीले जानकारी दिनुभयो । यसैको तयारी स्वरूप शनिबार काम भएको उहाँले बताउनुभयो ।

बिहीबार अबेर मतदानस्थलमा आइपुगेका कर्मचारी र सुरक्षाकर्मीले शुक्रबार सर्वदलिय बैठकबसी आवश्यक छलफल तथा समन्वय गरेका थिए । निर्वाचनलाई भयरहित ढंगले सभ्य भव्य रूपमा सम्पन्न गर्न स्थानीयवासीहरूको पनि सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यस मतदानस्थलमा म्यादी प्रहरी ११ जना, नेपाल प्रहरी सातजना, तीनजना मतदान अधिकृत, तीनजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोग खटिएका छन् ।

प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चारवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा १५३ वटा मतदानस्थल र दुई अस्थायीसहित २६९ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रमध्ये सिन्धुली निर्वाचन क्षेत्र नं.-१ मा १३७ वटा र निर्वाचन क्षेत्र नं.-२ मा दुई अस्थायीसहित १३२ वटा मतदान केन्द्र छन् ।

निर्वाचन सम्पन्न गर्न दुई हजार १३६ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो । सिन्धुली निर्वाचन क्षेत्र नं.-१ मा एक हजार ९६ जना कर्मचारी र २ मा एक हजार ४० जना कर्मचारी परिचालन गरिएको छ । जिल्लामा कुल दुई लाख आठ हजार ३६९ जना मतदाता छन् । तीमध्ये एक लाख सात हजार ४१० पुरुष र एक लाख ९५९ जना महिला मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?