सप्तरीका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरीका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको छ । राजविराज नगरपालिका–७ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्रमा सबै महिला कर्मचारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । उक्त मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी र सुरक्षाकर्मी सबै महिलालाई खटाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिला परिचालन गरिएको जानकारी दिनुभएको छ । महिला कर्मचारी परिचालन भएको उक्त मतदान केन्द्रमा एक÷एकजना मतदान अधिकृत, एक/एकजना सहायक मतदान अधिकृत, चार÷चारजना सहायक कर्मचारी र दुई/दुईजना सहयोगी पनि महिलालाई नै नियुक्त गरिएको छ ।

उक्त मतदानस्थल ‘क’ मतदान केन्द्रको मतदान अधिकृत गंगा सुनुवार र ‘ख’ मतदान केन्द्रको मतदान अधिकृतमा निशाकुसुम पौडेल हुनुहुन्छ । उक्त मतदान केन्द्रमा ‘क’ र ‘ख’ मा गरी कुल एक हजार ५५७ मतदाता छन् ।

सूचना अधिकारी मेहताका अनुसार जिल्लाभरमा कुल ५३६ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये एक दर्जनभन्दा बढी मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई पनि प्रदान गर्ने उद्देश्यले जिल्लाका एक दर्जनभन्दा बढी स्थानमा महिलालाई मतदान अधिकृत बनाइएको सूचना अधिकारी मेहताले जानकारी दिनुभयो ।

यसैबीच सप्तरीमा चारवटा प्रतिनिधि र आठवटा प्रदेशसभा सिटका लागि १७६ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन् । जिल्लाभरमा पाँचजनाले उम्मेदवारी फिर्ता लिएसँगै अब सप्तरीमा २० महिलासहित १७६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा चार प्रतिनिधिसभाका लागि ६९ र आठ प्रदेशसभा सदस्य पदका लागि १०७ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमध्ये विभिन्न दलबाट १३ जना र स्वतन्त्र सात गरी २० महिला पनि चुनावी प्रतिस्पर्धामा छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि जिल्लामा ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ भने कुल मतदाता संख्या चार लाख १८ हजार ३७४ छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?