Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins
A A- A+

बागलुङ । ‘गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई÷चार हजार कमाइ हुन्छ ।’ सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरीको भनाइ हो यो । उहाँ दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्डमा काम गर्दै आउनुभएको छ ।

गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई आइतबार (आज) प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदै छ भन्ने थाहा छ । तर, उहाँ यसपालि गाउँमा मतदान गर्न जानुभएन । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौतारिएर काम खोज्दै बागलुङ आउनु परेको बताउनुहुन्छ ।

‘मैले अहिलेसम्म तीन/चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताहरूले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ’ पगरीले भन्नुभयो, ‘त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूहरूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानुपर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।’

काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराख्नु भएको छ । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगरले दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिनुभएका मगर बाध्यताले बागलुङसम्म आएको बताउनुहुन्छ ।

‘म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खान लाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एकजना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ’ मगरले भन्नुभयो, ‘विदेश जान लागेको मान्छेलाई यहीँ काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?’

मगरले एकदिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताउनुभयो । उहाँले चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको बताउनुहुन्छ । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकोमा दुःख व्यक्त गनुभयो ।

‘म अघिल्लो निर्वाचनहरूमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्लै भए, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई ?’ उहाँले भन्नुभयो, ‘भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनु परेको हो ।’

रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडक खण्डमा ढुंगा बोक्ने र गिट्टी बालुवा मुछ्ने काम गर्दै आउनुभएको छ । उहाँले रामेछापदेखि बागलुङसम्म रहरले नभई बाध्यताले आउनु परेको बताउनुभयो । उहाँले गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउनुहुन्छ । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरि काम गरिरहेको खत्रीको भनाइ छ ।

खत्रीले भन्नुभयो, ‘हामी रहरले आएका हैनौँ, बाध्यताले आएका हौँ, घरमा स-साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्न, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।’ उहाँले गाउँबाट दैनिक दर्जन बढी युवाहरू रोजगारीका लागि देश विदेशमा भौतारिँदा जनप्रतिनिधिले यस तर्फ ध्यान नदिएको उहाँको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेताले हामीहरूलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुन सकेको छैन, भाषण मात्रै ठूला ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनै सकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन ।’

लोकमार्गको घोँडाबाँधेदेखि गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पुरा नगरेपछि निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?