मतदाताको उपस्थित कम : ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन् ।

आईतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए । आईतवार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरुको उपस्थिति कम पाएको बताउनु भयो । उहाँले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो । ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन ग¥यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहीत भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताउनु भयो । उहाँले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मतदाताहरुको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा । सुरक्षाकर्मीहरु सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ । कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो । कोर शहरी एरियामा उपस्थिति अलि कम थियो । बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो ।’

त्यस्तै पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरुको उत्साह कम देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको देखियो । कोर एरियामा मतदाता कम उत्साहीत भएको देखियो ।’त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिनुभयो । उहाँले मतदान केन्द्रमा चाप कम रहेको बताउनु भयो । उहाँले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताउनु भयो । उहाँले मतदात स्थलमा कुनै दबाब नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरुले नै मतदाताको उपस्थिति कम रहेको कुरा आयो । मतदान केन्द्रमा चाप छैन । वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखियो । मतदान शान्त छ, दबाब छैन । पहिलाको अनुपातमा मतदाताको सहभागिताको अनुपात नबढ्ला की भन्ने भय छ ।’

त्यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले वितका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरुको उपस्थिति कम रहेको बताउनु भयो । उहाँले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आँकलन गर्नुभयो । उहाँले विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदानलाई हेर्दा शुरुदेखि नै मतदाता कम उत्साहीत रहेको पायौँ । पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ । मान्छेहरुको संख्या पातलो छ । समष्टिगत ७० प्रतिशतसम्म मतदान हुन्छ जस्तो लाग्यो, पहिला देखेको निर्वाचन जस्तो माहोल छैन ।’

त्यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताउनु भयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?