बेन्जेमाले विश्वकप गुमाउने

Read Time = 4 mins

दोहा । फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमाले फिफा विश्वकप कतार २०२२ गुमाउने हुनुभएको छ । प्रशिक्षण दौरान तिघ्रामा चोट लागेपछि बेन्जेमाले विश्वकप गुमाउने हुनुभएको हो । योसँगै साबिक विजेता टोलीलाई ठूलो धक्का लागेको छ । यसअघि नै क्रिस्टोफर एनकुन्कु, मिडफिल्डर पउल पोग्बा र एंगोलो कान्टेलाई पनि फ्रान्सले गुमाइसकेको छ ।

फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ)ले बेन्जेमालाई तिघ्रामा समस्या भएको र प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएको छ । ‘सम्पूर्ण टोलीले करिमको दुःख साझा गर्दछ र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत सातादेखि टोलीसँगै प्रशिक्षणमा रहनुभएका बेन्जेमालाई शनिबार प्रशिक्षणका दौरान चोट लागेको थियो । एमआरआई स्क्यानले तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि गरेको छ । यो पूर्णरूपमा ठीक हुन कम्तीमा तीन साता लाग्नेछ ।

बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गर्नुभएको छ । गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउनुभएको बेन्जेमा २०२२ को बालोन डी’ओर र वर्षको उत्कृष्ट खेलाडी बन्नुभएको थियो ।

उहाँका स्थानमा टोलीले कसलाई खेलाउँछ अहिले पुष्टि गरिसकेको छैन । ‘म करिमका लागि धेरै दुखी छु जसले यो विश्वकप गुमाउनेछन् ।’ प्रशिक्षक डेसच्याम्प्सले भन्नुभयो, यस नयाँ झड्काका बाबजुद पनि, मलाई मेरो समूहमा पूर्ण विश्वास छ । हामीले पर्खिरहेको ठूलो चुनौतीलाई सामना हामी सबै मिलेर गर्नेछौँ ।’

समूह ‘डी’ मा फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ ।
यसअघि सेनेगलका कप्तान तथा महत्वपूर्ण फरवार्ड साडियो मानेले पनि चोटका कारण विश्वकप गुमाउने निश्चित भइसकेको छ । दुई साताअघि जर्मन बुन्डेसलिगा दौरान वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका कप्तान मानेलाई सेनेगल फुटबल फेडेरेसनले चोटका बाबजुद टोलीमा समावेश गरेको थियो । तर, बिहीबार उहाँको खुट्टाको शल्यक्रिया भएपछि उहाँले विश्वकपका सबै खेल गुमाउने पक्का भएको हो ।
दुईपटकको अफ्रिकन फुटबलर अफ द इयर माने सेनेगलका आइकन हुनुहुन्छ । उहाँले सेनेगललाई अफ्रिका कप अफ नेसन्सको च्याम्पियनसँगै विश्वकपमा पु¥याउनुभएको थियो । दुवै खेलमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दा मानेले विजयी पेनाल्टी गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?