एपेक शिखर सम्मेलन सम्पन्न

Read Time = 3 mins

ब्याङ्कक । सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवद्र्धनको प्रतिबद्धताका साथ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने शिखर सम्मेलन ब्याङ्कक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सन् २०४० सम्ममा एसिया-प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रूपमा विकास गर्ने तथा एसिया-प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ । नेतृत्व पंक्तिले यो वर्ष एसिया-प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउन भएको प्रगतिको स्वागत गरेको छ भने त्यसको गतिलाई गुणस्तरीय ढंगले निरन्तरता दिन सहमति जनाएको छ ।

घोषणापत्रमा भौतिक, संस्थागत र जनताबीचको सम्पर्कलाई सुदृढ गर्ने, ‘डिजिटल कनेक्टिभिटी’बाट अधिकतम् लाभ लिने, गुणस्तरीय पूर्वाधार विकास र लगानीका माध्यमबाट क्षेत्रीय, उपक्षेत्रीय र दुर्गम क्षेत्र जोड्न आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

एसिया-प्रशान्त क्षेत्रको प्रमुख आर्थिक मञ्च एपेकलाई आधुनिक, कुशल र प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सदस्य राष्ट्रबीच सहयोग बढाउने, हरित अर्थतन्त्रको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिने, नेतृत्वलाई सुदृढ पार्ने प्रयासमा जोड दिने, साझा चुनौतीको व्यावहारिक समाधानमा योगदान पुर्‍याउने, दिगो विकासका लागि संयुक्त राष्ट्रसंघले सन् २०३० भित्र हासिल गर्ने लक्ष्य निर्धारण गरेका विश्वव्यापी प्रयासमा हातेमालो गर्दै अघि बढ्ने दृढता घोषणापत्रमा व्यक्त गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?