बलिउडका नायिका प्रधान चलचित्र

Read Time = 6 mins

मुम्बई । बलिउडमा सधैं नायकको नै बर्चस्व हुने गर्दछ । सोहराब मोदीदेखि लिएर राजकपूर, देव आनन्द हुँदै धर्मेन्द्र, अमिताभ र अहिलेसम्म तीन खान रहनुभएको छ । सधैं नायकको बर्चस्व रहँदै आएको छ बलिउडमा । बलिउडका चलचित्रमा पटकथा र कथामा सधैं नायकलाई नै हावी गराइन्छ । चलचित्र निर्माता, निर्देशक र कथा-पटकथाकारहरूले सधैं नै नायिकालाई दोयम दर्जामा राखेका हुन्छन् ।

उनीहरूको सोचमा चलचित्रको सफलताका लागि नायकको नै हात रहन्छ । नायिका केवल ‘बार्बी डाल’जस्तै हो । जसको काम केवल नायकसँग गीत गाउनु, नाच्नुमात्र हो । तर, अब समय फेरिएको छ । बलिउडमा अब नायिकाको मुख्य भूमिकामा चलचित्र निर्माण हुन थालेका छन् । नायिकाको भूमिका दह्रोसँग लेखिन थालेको छ र फिल्माइएको पनि छ । पछिल्लो समयमा बनेको चलचित्र ‘द डर्टी पिक्चर’, ‘क्वीन’, ‘मर्दानी’, ‘मैरी काम’, ‘पीकू. . .मस्तानी’ यसका केही उदाहरण हुन् । यी चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्नुका साथै धेरै पुरस्कार पनि हात पार्न सफल रहे ।

द डर्टी पिक्चर
परिवर्तनको सुरुवात गर्ने अभिनेत्री रहनुभएको छ विद्या बालन । जसले बायोपिकको सुरुवात गर्नुभयो । उहाँले अभिनय गरेको चलचित्र ‘द डर्टी पिक्चर’मा दक्षिणकी सुप्रसिद्ध अभिनेत्री सिल्क स्मिताको जीवनलाई पर्दामा खरोरूपमा उतार्नुभयो । उहाँको अभिनयको तारिफसँगै चलचित्रले बक्स अफिसमा एक सय करोडभन्दा धेरैको व्यापार ग¥यो । नायिका प्रधान चलचित्रमा आज पनि उहाँ पहिलो र एकल हुनुहुन्छ जो एक सय करोडको क्लबमा समावेश छ ।

क्वीन
पहिलो चलचित्र ‘गैंगस्टार’बाट बलिउडमा आउनुभएकी हिमाचल प्रदेशको सानो गाउँकी कंगना रनौतले ‘बी’ ग्रेडका नायकसँग काम गर्दै स्वयंलाई सुपर बनाउनुभयो । उहाँले हरेक भूमिका यस्तो जीवन्त गर्नुभएको कि जसले आज उहाँलाई यो स्थान प्राप्त भएको छ । विकास बहलको चलचित्र ‘क्वीन’मार्फत् उहाँले दर्शकमाझ जुन आफ्नो छाप छोड्न सफल हुनुभएको छ त्यो यत्तिकै मेटिने खालको छैन । पहिलो ‘फैशन’, फेरि ‘क्वीन’ र पछिल्लो समयको ‘तनु वेड्स मनु रिटन्र्स’का लागि भारतको राष्ट्रिय पुरस्कार पाउने यी अभिनेत्रीले समकालीन तरिकाहरूलाई धेरै पछाडि छोड्नुभएको छ ।

मर्दानी
शाहरूख, सलमान र आमिर खानसँग रोनाधोना र गीत गाउने दृश्यहरूमा आफूलाई सीमित बनाउनुभएकी रानी मुखर्जीलाई एक दशकसम्म चलचित्रमा काम गरेपछि यो महसुस भयो कि यी चलचित्रले उहाँलाई चाहे जस्तो सफलता दिँदैनन् । आफ्नो सोच पूरा गर्नका लागि उहाँले आफ्ना श्रीमान्को चलचित्र ‘मर्दानी’मा यस्तो भूमिका निभाउनुभयो कि जुन चलचित्रले उहाँलाई चाहे जस्तो सफलता दिलायो । पूरै नायिका प्रधान यो चलचित्रलाई प्रदीप सरकारले निर्देशन गर्नुभएको थियो ।

मैरी काम
सौन्दर्य प्रतियोगिता जितेपछि बलिउडमा आउनुभएकी नायिका प्रियंका चोपडा एक दशकभन्दा धेरै समयदेखि बलिउडमा हुनुहुन्छ । नायिकासँगसँगै खलनायिका बनेर पनि उहाँले दर्शकको वाहवाही पाउनुभयो । तर, उहाँलाई चलचित्र ‘मैरी काम’ले जस्तो सफलता अरूले दिन सकेका छैनन् । ओलम्पिक पदक विजेता महिला बक्सरको जीवनमा आधारित यो चलचित्रबाट उहाँले धेरै नै वाहीवाही बटुल्न सफल हुनुभयो । आज प्रियंका बलिउडमा मात्र सीमित नभएर हलिउडसम्म पनि चर्चा कमाउन सफल हुनुहुन्छ ।

‘पीकू. . .मस्तानी’
शाहरूख खानसँग बलिउडको सफर सुरु गर्नुभएकी दिपीका पादुकोण धेरै चलचित्रमा काम गरे पनि चर्चामा आउन सक्नुभएन । तर, पछिल्ला चलचित्रले उहाँलाई ए ग्रेडका चलचित्रमा राम्रो नायिकाका रूपमा स्थापित गराएको छ । यसको सुरुवात उहाँले सञ्जय लीला भंसालीको ‘गोलियों की रासलीला-रामलीला’बाट सुरु गर्नुभयो । त्यस्तै ‘पीकू’ र फेरि ‘मस्तानी’ले उहाँलाई सशक्त नायिकाका रूपमा स्थापित गराएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?