निर्वाचनमा निजी क्षेत्रको उत्साहजनक सहभागिता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको आशा

Read Time = 6 mins

काठमाडौं । यसपटकको आमनिर्वाचनमा सर्वसाधारण नागरिकमा उत्साह नदेखिए पनि निजी क्षेत्रको भने मतदानमा उत्साहपूर्वक सहभागिता देखिएको छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा जोड दिँदै आएको निजी क्षेत्रले यसपटकको आमनिर्वाचनबाट मुलुकले निकास पाउने विश्वासका साथ आफ्नो मत जाहेर गरेको हो । व्यवसायीहरूले आर्थिक विकास र देशको समृद्धि चाहनेलाई आफूहरूले भोट दिएको जनाएका छन् । अबको एजेण्डा आर्थिक समृद्धिको भएकाले बुझेर नै मतदान गरेको उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौं निर्वाचन क्षेत्र ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गर्दै देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकालाई जिताउनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष गोल्छाले भन्नुभयो, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउन सक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिन सक्छ, त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । कानुनी जिम्मेवारी पनि हो ।’

व्यवसायीहरूले आर्थिक विकास र देशको समृद्धि चाहनेलाई आफूहरूले भोट दिएको जनाएका छन् । अबको एजेण्डा आर्थिक समृद्धिको भएकाले बुझेर नै मतदान गरेको उनीहरूको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि नेपालको आर्थिक विकासको एजेण्डा अघि सार्ने नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । काठमाडौंको विशालनगर मतदान केन्द्रमा मतदान गर्नुभएका ढकालले निर्वाचन देशको भविष्य निर्माणको पहिलो खुड्किलो भएकाले उम्मेदवार चयनमा चुक्नुनहुने बताउनुभयो । महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि यसपटकको आफ्नो भोटले आर्थिक क्रान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले थापाथली केन्द्रबाट मतदान गर्नुभएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले यो निर्वाचनका कारण देशले नयाँ गति लिने विश्वास व्यक्त गर्दै नयाँ बन्ने सरकारले दोहोरो आर्थिक वृद्धि गर्ने गरी काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले काठमाडौंको रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ स्थित बालविकास प्रावि मतदान केन्द्रबाट मतदान गर्दै आफूले दिएको मतले आगामी पाँच वर्षका लागि सवल नेतृत्व चयन हुनेमा आशावादी रहेको बताउनुभयो भने नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि काठमाडौं-२ बाट देशका लागि योग्य प्रतिस्पर्धीलाई मत दिएको बताउनुभयो ।

त्यसैगरी बैंकर्सले मतदानमा सक्रियरूपमा सहभागिता जनाएका छन् । विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा पूर्वसिइओहरूले चुनावमा सक्रियरूपमा सहभागिता जनाएका हुन् । देशको सुशासन र विकासका लागि मतदान गरेको उनीहरूले बताए ।

बैंकर तथा नबिल बैंकका पूर्वसिइओ अनिलकेशरी शाहले काठमाडौं महानगरपालिका–१ स्थित हिटी दरबार क्षेत्रबाट मतदान गर्नुभयो भने सिटिजन्स बैंकका सिइओ गणेशराज पोखरेलले ललितपुरको भैंसेपाटीस्थित जनोदय विद्यालयबाट मतदान गर्नुभयो । नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ पृथ्वीबहादुर पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतले विभिन्न मतदान केन्द्रबाट मत जाहेर गर्नुभएको छ ।

स्थिर सरकारबिना मुलुकमा स्थिरता कायम नहुने र स्थिरताबिना लगानी विस्तार पनि हुन नसक्ने भन्दै निजी क्षेत्रले आर्थिक मुद्दा सबै राजनीतिक दलको साझा एजेण्डा हुनुपर्ने माग गर्दै आएको छ । नेपालको आर्थिक विकास, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनामा निजी क्षेत्रले महŒवपूर्ण योगदान पु¥याउँदै आएको छ भने राजनीतिमा विस्तारै निजी क्षेत्रको सहभागिता बढ्न थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?