निर्वाचन आम रूपमा शान्तिपूर्ण र व्यवस्थित : पर्यवेक्षण संस्था

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार भएको निर्वाचन छिटपुट घटनाबाहेक आम रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिंग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आमनिर्वाचन पर्यवेक्षण समिति नेपालले जानकारी दिएको छ । निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका अध्यक्ष प्रदीप पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनको पर्यवेक्षणको लागि यस संस्थाको तर्फबाट ७७ वटै जिल्लामा ५२३ जना राष्ट्रिय पर्यवेक्षकहरू, सार्वजनिक सेवामा महŒवपूर्ण योगदान गरेका राष्ट्रिय व्यक्तित्वहरू, र अन्य स्वतन्त्र बुद्दिजीवीहरूको सहभागिता रहेको थियो । उहाँहरूले निर्वाचन केन्द्रहरूको स्थलगत भ्रमण गरी पर्यवेक्षण गर्नुभएको थियो ।

स्थलगत पर्यवेक्षणबाट आइतबार अपरान्हसम्म प्राप्त भएको तथ्य, प्रमाण र विवरणहरूलाई आधार मानेर विश्लेषण गर्दा निष्कर्षमा निर्वाचन अनपेक्षित रूपमा केही मतदान केन्द्रहरूमा द्वन्द्व, झडप, मुठभेड, र विवादको कारणले असर गरे तापनि निर्वाचनको बृहत् उद्देश्य प्राप्तिमा अपेक्षाकृत रूपमा निर्वाचन शान्तिपूर्ण वातावरणमा नै सम्पन्न भएको देखिन्छ । यस्तै, समितिका अनुसार यो निर्वाचनमा केही मूलभूत दृश्यहरू सामुन्ने आएको छ । प्रकट रूपमा मतदाताहरूको सक्रिय उत्साहमा कमी देखियो भने पर्यवेक्षणको अवधिमा युवा मतदाताको सहभागिता समेत न्यून देखिएको छ । बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो ।

समितिले विशेष गरेर महिलाहरूको लागि र शारिरिक फरक क्षमता भएका मतदाताहरूको लागि मतदानस्थलमा मतदान गर्न पहुँचको सुविधाको व्यवस्थापनमा कमी कमजोरीको निरन्तरता कायमै रहेको देखिएको जनाएको छ । कुनै कुनै मतदानस्थालमा शारीरिक क्षमता कमजोर भएका मतदाताहरू वैशाखी टेकेर, ज्येष्ठ नागरिकहरू आफन्तको काँधमा झुण्डिएर, गएका दृश्यहरू पनि दोहोरिएको संस्थाले जनाएको छ । यस्तै, अशक्त र सहारा चाहिने व्यक्तिहरूको लागि मतदान गर्न आफ्नो नजिकको नातेदारले सहयोग गर्न पाउने कानुनी अधिकारको दुरुपयोग गरेको समेत देखिएको समितिको निष्कर्ष छ ।

दार्चुला, दोलखा, गोरखा, सिरहा, सप्तरी, रौतहट, दैलेख, चितवन, धनगढी, बर्दिया, स्याङ्जा, पाँचथर, मुगु, हुम्ला, पश्चिम नवलपरासी, कैलाली, मोरङलगायत ५० भन्दा बढी क्षेत्रहरूमा फायर, हवाई फायर र बम जस्ता शंंकास्पद वस्तु राखिएको, कतिपय स्थानमा विस्फोटका घटनासमेत भएको जानकारी समितिले पाएको जनाएको छ । साथै निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको समितिको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, समितिले यसपालि पनि निर्वाचन शिक्षा, मतदाता शिक्षाको प्रभाव भौतिक रूपमा धेरैले महसुस गर्न नपाएको गुनासा यथावत नै रहेको जनाएको छ । यद्यपि, मतदान केन्द्रमा गरिएको व्यवस्थापन सरल र मतदानको लागि सहज देखिएको समितिले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधिमा भोज भतेर, धनराशिको वितरण, लत्ताकपडा वितरण गर्ने कार्यले निरन्तरता पाएको र आचारसंहिताको उल्लंघन फरक शैलीमा व्यापक रूपमा भएको गुनासो रही नै रह्यो । हाम्रा पर्यवेक्षकहरू पर्यवेक्षणको सिलसिलामा मतदानस्थलमा पुग्दा प्रायः सबै स्थानमा मत दिएर फर्कने मतदाताहरूलाई भोज भतेरको प्रबन्ध गरेको पाइयो । भोज भतेर गर्न नसक्ने उम्मेदवारको प्रतिनिधिले चुरोट खान भन्दै सय दुई सय बाँडेका समेत देखियो । साथै राजनीतिक दल र उम्मेदवारका डर त्रास र धमास र मिथ्या सूचना घृणास्पद अभिव्यक्तिका करण मतदाताहरू भयभित हुनुपर्ने वातावरण यथावत नै रह्यो । कुनै कुनै मतदान केन्द्रमा स्वयंसेवकको बिल्ला भिराएर मतपत्रमा छाप लगाउने स्थानमा राखेको समेत देखियो । अतः निर्वाचनको निष्पक्षतामा सिधै प्रश्न गर्ने स्थान नभए तापनि निर्वाचनका स्वच्छता र अझै उत्तरदायी बनाउन आवश्यक देखिन्छ ।’

निर्वाचन पर्यवेक्षण समिति-नेपालले गरेको सूक्ष्म अध्ययन÷अनुसंन्धान र पर्यवेक्षणको आधारमा विश्लेषणात्मक सुझाव निष्कर्ष सहितको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?