म्याग्दीमा रोकिएन बसाइँसराइ, विकास गाउँतिर, गाउँले शहरतिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 13 mins

म्याग्दी । संघीय व्यवस्था लागू भएयता विकास र पूर्वाधार निर्माणको गति तीव्र रूपमा बढेको भए पनि म्याग्दीका ग्रामीण बस्तीहरूबाट बसाइँसराइ गर्ने क्रम रोकिएको छैन । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका ६ वटा पालिकामा ४५ वटा वडाहरूमध्ये ४४ वटा वडाहरूमा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक ६ वटा पालिका अरू सबै वडासम्म सडक सञ्जाल पुगेको हो ।
सडक संजालको पहुँच पुगेसँगै पालिकाहरूले विकासमा तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना वस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच, औषधोपचार मात्रै होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नयाँ–नयाँ रणनीतिक योजनासमेत पालिकाहरूले ल्याएका छन् ।

केही वर्ष अघिसम्म टुकी वा दियालोको भरमा साँझ र रात बिताउन बाध्य गाउँलेहरूको घरमा अहिले विजुली बत्तीको झिलीमिली उज्यालो छ । गाउँमागाउँका स्वास्थ्यचौकीको स्तर वृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहितका सुविधा सम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् ।
विकासका हरेक मोडेलको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागिपरेको भए पनि गाउँलेहरूमा भने थातथलो छोड्ने क्रम घटेको छैन, झन बढेर गएको छ  । जनसांख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयता दुई दशकमा भएका जनगणनाका तथ्यांकले समेत म्याग्दीको जनसंख्या क्रमशः घट्दो क्रममा छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजाअनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो । २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार ३७२ जना भएको जिल्ला जनजणना अधिकारी घनश्याम सापकोटाले बताए । एक दशकमा म्याग्दीबाट ६ हजार २६९ जना व्यक्ति घटेका छन् ।

स्थानीय जनप्रतिनिधिहरूले पालिका वर वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवासुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्ण रूपमा पूरा गरेको दाबी गरिरहँदा बढ्दो बसाइँसराइले भने ती जनप्रतनिधिहरूको भनाइलाई गिज्याइरहेको छ ।
जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधाहरू पुगेका छन् । स्थानीय सरकार सञ्चालन भएको पाँच वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका वस्ती जोड्ने सडकहरू निर्माण भएका छन् । अरू शाखा सडकको पनि स्तर वृद्धि तथा सडक चौडा पार्ने काम तीव्र रूपमा अघि बढेको छ । कतिपय पालिकाले त मुख्यमुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् ।

ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटीएको समेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ ।

ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारेको भए पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने वढ्दै गएको पाइएको छ । जिल्लाको मालिका गाउँपालिकाले गत वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका १९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो ।

त्यस्तै, बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्ष मात्रै करिब एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए । अन्नपूर्ण, धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकाको हालत पनि उस्तै छ । गतवर्ष मंगला र रघुगंगाका विभिन्न वडाबाट मात्रै करिब दुई सय परिवारले बसाइँसराइ गरेको तथ्यांक छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्यांक पनि बर्सेनि बढ्दो छ ।

बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न सहरबजारमा गएको पालिकाले जनाएका छन् । म्याग्दीका सबैजसो बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्यांक निकालिएको पञ्जीकरण शाखाले जनाएका छन् । ‘सुविधाको खोजीमा मानिसहरू गाउँ छोडेर सहर र तराइतिर झर्ने गरेका छन्’ रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारी भन्नुहुन्छ, ‘गाउँमा विकास पुगे पनि हरेक मानिसले त्यहाँभन्दा बढी अपेक्षा गरेर अन्यत्र जाने गरेका छन्, बसाइँसराइको सिफारिस लिन आएकालाई गाउँ छोडेर नजाउ भन्न मिलेन ।’

बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइको कारण खुलाइएको छ । स्थानीय जनप्रतिनिधिहरूले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताउछँन् । बसाइँसराइ गरेकाहरू भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् । बेनी नगरपालिका वडा नं २ बाट बसाइसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा जानुभएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा आर्थिक उपार्जन र छोराछोरीको शिक्षादिक्षाको लागि बसाइसराइ गरेको बताउनुभयो ।
जनसंख्या घट्नुको कारण

म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइसराई गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसंख्या घटेको पाइएको छ । ‘म्याग्दीको जनसंख्या घट्नुमा वैदेशिक रोजगार र बसाईसराई नै प्रमुख कारण हो’ सापकोटाले भन्नुभयो । जनगणनाबाट वैैदेशिक रोजगारीमा गएको तथ्यांक हाल सार्वजनिक भए पनि ग्रामिण क्षेत्रबाट बसाईसराई र वैैदेशिक रोजगारीमा गएर उतै बस्नेको संख्या पछिल्ला बर्षमा ह्वात्तै बढेको कारण जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको उहाँको भनाइ छ ।

कोभिड-१९ महामारीको पहिलो र दोस्रो लहरमा खाडीमुलक तथा छिमेकी राष्ट्र भारतबाट घर फर्किएकाहरू जनगणनमा समेटिएकाले समेत जनसंख्याको घट्दो क्रम रोकिएको जनगणना कार्यालयले जनाएको छ । ‘जनगणनाको अर्को चरणमा म्याग्दीको सम्रग चित्र आउँछ’ कार्यालय प्रमुख सापकोटाले भन्नुभयो । २०७८ कात्तिक र मंसिर महिनामा गरिएको जनगणनाको नतिजा अनुसार म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८१८ र पुरुषको संख्या ५२ हजार ५५४ जना भएको छ ।

वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्याधिक छ । पछिल्ला बर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको तथ्यांकले देखाउँछ । म्याग्दीबाट वैदेशिक रोजगारीमा ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीअन्र्तगत छिमेकी भारतमा गएको तथ्यांक नै नभएकाले यो संख्या अझै बढ्न सक्छ । जिल्लाभित्र २५ हजार ३७४ घरधुरीमा २९ हजार २४२ परिवार संख्याको बसोबास छ । ९५.८७ लैंगिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ। सात हजार २०२ घर र नौ हजार ४६५ परिवार भएको बेनी नगरपालिकामा १७ हजार ४९० महिला र १५ हजार ५७२ पुरुष गरि कुल ३३ हजार ०६२ जनसंख्या छ ।

तीन हजार ३४० घरमा तीन हजार ६१८ परिवारको बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको जनसंख्या १२ हजार ३५१ जना छ । तीन हजार आठ घरमा तीन हजार १९२ परिवार रहेको धवलागिरिमा १२ हजार ६०४, चार हजार ३३६ घर र चार हजार ८१८ परिवार भएको मालिकाको जनसंख्या १८ हजार ३४६, तीन हजार ६९९ घर र तीन हजार ९३४ परिवार भएको मंगलाको १४ हजार ७७२ र तीन हजार ७६७ घर, चार हजार १७४ परिवार भएको रघुगंगाको जनसंख्या १४ हजार २३२ जना छ ।

१० वर्ष अगाडीको गाविसस्तरको जनगणना विवरणलाई हेर्दा पनि पालिकास्तरमा समेत जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ । संघीय व्यवस्था लागू भएपछि पहिलोपटक जनणना भएकाले जिल्लाको लंैगिक र आर्थिक अवस्थाको डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?