पूर्णतः शान्तिपूर्ण हुन सकेन मतदान

विभिन्न स्थानमा विस्फोट, दर्जनौँ ठाउँमा हवाई फायर

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन ठाउँ ठाउँमा हिंसात्मक घटना भएका छन् । आइतबार मतदान भएका देशभरका विभिन्न ठाउँमा विवाद र झडपका घटना भएका हुन् । मतदानका क्रममा कतिपय ठाउँमा झडप भएका छन् भने कतिपय ठाउँमा गोली चलाउनुपर्ने सम्मको अवस्था आएको हो । देशका विभिन्न ठाउँमा बम विस्फोट भए भने कतिपय ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका दलहरू र समूहहरूले निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । उनीहरूले देशका विभिन्न ठाउँमा निर्वाचन अवज्ञा कार्यक्रम नै सञ्चालन गरेका थिए । ठाउँ ठाउँमा भएका विस्फोट र शंकास्पद वस्तु राख्नेमा उनीहरूकै हात हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले देशभरका विभिन्न ठाउँबाट निर्वाचन अवज्ञामा सामेल उनीहरूका दर्जनौँ नेता कार्यकर्तालाई पक्राउ गरेको छ । निर्वाचनविरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिष्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए । तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बाजुरामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु
बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर सोही ठाउँका सुरेन्द्र ऐडीको ज्यान गएको हो । वडाध्यक्ष जुद्धबहादुर ऐडीका अनुसार प्रहरीको गोली लागेर आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको उहाँले जानकारी दिनुभयो । एकजना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गरेको थियो ।

चुनावका क्रममा देशभरका दर्जन बढी जिल्लामा गोली चलेको छ । ती जिल्लामा सुरक्षाका लागि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ताप्लेजुङ, रौतहटको गरुडा र कन्कपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा तीन राउण्ड गोली चलेको छ । चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । राप्ती नगरपालिका-८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ । दोलखाका सात ठाउँमा तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन २६ राउण्ड गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गौरीशंकर गाउँपालिका-२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर-१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर-७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका-९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका-३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १५ राउण्ड गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै, मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ । बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य मावि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावि गोपाघाटमा चार राउण्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।

मतदानका क्रममा तीन जनाको मृत्यु
यस्तै, मतदान गर्न जाने क्रममा देशका विभिन्न ठाउँमा तीन जनाको ज्यान गएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एकजना वृद्धको मृत्यु भएको छ । कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको हृदयाघातका कारण मृत्यु भएको जनाइएको छ । त्यस्तै, रामेछापको एक मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गर्नुभएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गर्नुभएका ठगबहादुर सुनुवारको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कनेबित्तिकै उहाँ बेहोस हुनुभएको थियो । उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यता, मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न हिँड्नुभएका गाउँपालिका-३ का ७५ वर्षीय जोख्या दमाईंको लडेर मृत्यु भएको छ । मतदान गर्न खत्याड गाउँपालिका जाँदै गर्नुभएका उहाँको शनिबार खत्याड गाउँपालिका सेरी भन्ने स्थानमा लडेर मृत्यु भएको हो ।

तीन ठाउँका मतपेटिकामा आगजनी
नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभा तर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका-९ बस्ने ३२ वर्षीय सूर्य परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । मतपेटिका फुटाएका परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ । मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गर्दा मतपेटिकामा धुवाँ निस्किएको देखिएको थियो । पेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको मतदान अधिकृत रामकुमार यादवले बताउनुभयो । आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उहाँले बताउनुभयो ।

१५ स्थानमा मतदान स्थगित, फेरि मतदान हुने
दोलखाका पाँच केन्द्रमा पुनः मतदान गर्न एमालेको माग
गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । मतदान केन्द्रमा पुनः मतदान अधिकृतसहितको टोली पठाएर मतदान गर्ने निर्णय भएको छ । तर, मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । निर्वाचन आयोगका अनुसार देशका विभिन्न चार जिल्लाका १५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाले जानकारी दिनुभयो । मतदान स्थगित भएका १५ मतदान स्थलमा दुई दिनभित्र मतदान हुने थपलियाले जानकारी दिनुभयो । त्यस्तै, दोलखामा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी गरेको आरोपमा नेकपा एमालेले पुनः मतदानको माग गरेको छ । दोलखा निर्वाचन क्षेत्र नं १ मा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः मतदानको माग गर्नुभएको हो । उम्मेदवार शिवाकोटीले गठबन्धनका नेता कार्यकर्ताले मतदानस्थलमा हातपात गरेर बुथ कब्जा गरेको दाबी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?