शीर्ष नेता र चर्चित उम्मेदवारको मतदान

सबैको आ-आफ्नै दलले जित्ने दाबी, कतिपयले आफैँलाई हाल्न पाएनन् भोट

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि आइतबार देशभर मतदान सम्पन्न भएको छ । केही ठाउँबाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शीर्ष नेता सहितका मतदाताले आइतबार मतदान गरेका छन् । तर, केही शीर्ष नेता र चर्चित उम्मेदवारहरूले भने आफैँलाई मतदान गर्न पाएनन् । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मौन अवधि सुरु भएपछि डडेल्धुराको रातो गुराँस रिसोर्टमा मुकाम बनाएर बस्नुभएका देउवाले बिहान १० बजे मतदानस्थल पुगेर मतदान गर्नुभएको हो । देउवासँगै पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजू देउवाले पनि मतदान गर्नुभएको छ । प्रधानमन्त्री देउवा सातौँपटक डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताउनुभयो । मतदानपछि पनि प्रधानमन्त्रीले स्थानीयहरूसँग भेटघाट गर्नुभएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार बिहान भक्तपुरस्थित लोकन्थली, युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन–१४ भरतपुरको शिवपुरस्थित नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट पहिलो मतदान गर्नुभयो । तर, गोरखा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिनुभएका अध्यक्ष दाहालले आफैँलाई मत दिन पाउनुभएन । दाहाल गोरखाबाट उम्मेदवार भए पनि उहाँको मतदाता नामावली चितवनमा भएकाले आफैँलाई मत दिन नपाउनुभएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर-४ स्थित कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । नेपाल यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीस्थित मैतीदेवी मन्दिर केन्द्रबाट मतदान गर्नुभयो । महामन्त्री थापा काठमाडौं–४ का उम्मेदवार हुनुहुन्छ । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री गगनकुमार थापाले सांसदमा निर्वाचित भएलगत्तै संसदीय दलको नेताको निर्वाचनको तयारी थाल्ने बताउनुभयो । प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको थापाको भनाइ छ । कांग्रेसबाहेक अरू कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने टिप्पणी गर्दै थापाले भन्नुभयो, ‘जहाँ संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रस्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाँबाट सांसद भएर गएको भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्ने हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनाइलाई पार गर्ने हो भने मेरो संकल्प हो ।’

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहजिल्ला रोल्पामा मतदान गर्नुभएको छ । पुनले आइतबार बिहान साढे ७ मा रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि केन्द्रबाट मतदान गर्नुभएको हो । पुन सत्तारूढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहन्छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृहजिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि केन्द्रबाट मतदान गर्नुभएको छ । तिमिल्सिनाले पशुपति केन्द्रबाट बिहान साढे ७ मा मतदान गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको कुभिण्डेस्थित सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनुहँको व्यासस्थित सत्यवती माविको मतदानस्थलबाट मतदान गर्नुभएको छ । पौडेल आफैँ सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चावहिल महांकालको पानी ट्यांकी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदानका लागि लामिछाने आइतबार बिहान ७ बज्नुअघि नै मतदानस्थल पुग्नुभएको थियो । मतदानपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नेतृत्वको पार्टीले देश समृद्ध, सुशासित बनाउने प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’ लामिछाने चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि मतदाता नामावली काठमाडौंमा भएकाले आफैँलाई मत दिन पाउनुभएन ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहनुभएकी मानुषी यमी भट्टराईले काठमाडौं-७ स्थित नरदेवीमा पुगेर मतदान गर्नुभएको छ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । भट्टराई एक मात्र निर्वाचन क्षेत्र रहेको उक्त जिल्लाको पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्छ । नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवं ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले ललितपुर-३ को कुपण्डोल बागमती किनारामा रहेको मतदानस्थलमा मतदान गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले गुल्मी मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ सेरिगाउँस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंको पकनाजोलस्थित युवक मावि केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट-८ स्थित सूर्य ज्योति मावि मेहलकुनाबाट मतदान गर्नुभएको छ । खड्का सुर्खेत-१ बाट पार्टीको तर्फबाट उम्मेदवार रहनुभएको छ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित आदर्श विद्यालयबाट मतदान गर्नुभएको छ । मोरङ क्षेत्र नम्बर-६ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका कोइरालाले आइतबार बिहान पौने ८ बजे मतदान गर्नुभएको थियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार बिहान ८ बजे टोखा नगरपालिका-६ स्थित हात्तीचोक बुथमा मतदान गर्नुभएको छ । पोखरेल सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले हेटौँडा-६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । अध्यक्ष थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेका नेता डा.भीम रावलले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गर्नुभएको छ । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गर्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गर्नुभएको छ । पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका बोहराले बिहान साढे ७ मा मतदान गर्नुभएको हो । बोहरालाई एमाले र जसपाको समर्थन छ भने ६ दलीय गठबन्धनबाट गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ (२) स्थित मेचीनगर–९ मा रहेको कविशिरोमणि माविमा मतदान गर्नुभएको हो । मतदानपछि पत्रकारहरूसँग शर्माले गठबन्धनले देशभरि नै जित हासिल गर्ने कुरामा आफू ढुक्क रहेको, योपटक मतदाताले आफूलाई माया गरेको र जित निश्चित रहेको दाबी गर्नुभयो ।
संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुवासचन्द्र नेम्बाङले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गर्नुभएको छ । नेम्वाङसँगै क्षेत्र नं. १ का उम्मेदवार महेश बस्नेतले पनि मतदान गर्नुभएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको जिकिर गर्नुभयो । मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्ने महासचिव पोखरेलको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्रबहादुर केसीले पनि मतदान गर्न पाउनुभएन । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाउनुभएको हो । अध्यक्ष केसी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै हुनुहुन्छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उपाध्यक्ष पौडेल रुपन्देही-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै खनालले भन्नुभयो, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’ खनाल प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार हुनुहुन्छ ।

दुई उम्मेदवारले एकसाथ गरे मतदान
तेह्रथुममा प्रतिस्पर्धीले एकसाथ मतदान गरेका छन् । प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गर्नुभएको हो । दुवै जनाले तेह्रथुम १ (ख) बाट उम्मेदवारी दिनुभएको छ । दुवै उम्मेदवारले जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि मतदान केन्द्रमा एकसाथ मतदान गर्नुभएको छ । मतदानपछि दुवै उम्मेदवारले एकसाथ मतपत्र मतपेटिकामा खसाल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?