महापर्वको समापन

बहुप्रतीक्षित आमनिर्वाचन समापन भएको छ । अब लामो समयदेखिको प्रतीक्षा समाप्त भएको छ र निर्वाचनका सन्दर्भमा सिर्जना भएका विभिन्न जिज्ञासाहरू पनि यसका साथै समाप्त भएका छन् । निर्वाचनसम्बन्धी विभिन्न भ्रमहरू थिए र ती केही भ्रममा अरू धेरै काल्पनिकीहरू जोडिएका थिए । ती सबैको टुंगो हिजोबाट लागेको छ । सत्तारुढ र सत्ताइतरको गठबन्धनका चर्चापरिचर्चाहरू पनि अब पहिलेको किसिमले हुने छैनन् र अब भने निर्वाचन परिणामको चर्चाले केही दिनको समय ओगट्नेछ । समयले निर्वाचनको सन्दर्भ पनि परिवर्तन गर्दै लानेछ । सत्तारुढ गठबन्धनलाई आवश्यकताको गठबन्धन र सत्ताइतरको गठबन्धनलाई प्रतिकारको गठबन्धन मानिएको थियो । अब भोलिका दिनहरूले त्यसको पुष्टि गर्दै लानेछन् । विद्वान्हरूबाट त्यसको आवश्यक व्याख्या विश्लेषण पनि हुने नै छ ।

सम्पूर्ण विश्लेषण आइसकेपछि सरकार बनाउने प्रक्रिया सुरु होला । त्यहाँ पनि अनेकौं खेल हुने नै छन् । राजनीति भनेकै यस्तै खेलहरूको अनवरत शृंखला हो भन्दा फरक नपर्ला । आजका मित्रशक्ति भोलि शत्रु बन्न सक्लान् अनि शत्रु भनिएका राजनीतिक शक्तिहरूबीच पुनः मित्रता कायम हुन पनि सक्ला । त्यो भोलिको कुरा हो । मूलभूतरूपमा यसपटकको आमनिर्वाचन सम्पन्न भएको छ । त्यसलाई ठूलो कुरा मान्नुपर्छ । हुन त यो निरन्तरको प्रक्रिया हो पनि भनिएला तर यसले लोकतन्त्र र वर्तमान संविधानको भावना स्थापित गराउन ठूलो मद्दत पुग्नेछ । वर्तमान संविधानअनुसार संघीय संसद् र प्रदेशसभा संसद्का लागि सम्पन्न भएको यो दोस्रो आमनिर्वाचन हो ।

यत्रो चुनावी अभियानमा केही सानातिना घटनाहरू हुनु स्वाभाविक हो । यसपटक पनि यस्ता घटनाहरू भए, त्यसलाई स्वाभाविक मान्नुपर्छ । हो, केही ठाउँमा मतदान स्थगित भए र पुनः सम्पन्न भए, केही ठाउँमा हिंसात्मक घटना पनि भए । आपराधिक मानसिकता लिएका, निर्वाचन नहोस् भन्ने मनोभावनाका तत्वहरूले अराजकता फैलाउने मौकाका रूपमा यस्ता निर्वाचनहरूलाई लिएका हुन्छन् । पराजित मनस्थितिबाट गुज्रिरहेकाहरूलाई पनि यो राम्रो मौका हो भन्ने लागेको हुन्छ । हिजोको निर्वाचनमा पनि यस्तो भएको देखियो र केही ठाउँमा मतदान स्थगन गर्नुपर्‍यो, कतिपय ठाउँमा भएका हिंसात्मक घटना त्यस्तै मानसिकताका उपज हुन् । तर, समग्रमा २०७९ सालको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । यसका लागि यस निर्वाचन सम्बद्ध सबै धन्यवादका पात्र छन् ।

नेपाल सरकार, निर्वाचन आयोग, निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरू, राजनीतिक दल तथा सम्पूर्ण उम्मेदवारहरू, आममतदाताहरूलगायत सम्पूर्ण नेपाली यसका लागि धन्यवादका पात्र छन् । अब केही दिनसम्म पराजित हुने व्यक्ति र पक्षले धाँधली भएको, मतपेटिकाहरू साटिएको, नक्कली मतपत्र छापेर खसालिएको, मतदाता संख्या, खसेको मत र गणना गर्दाको संख्या फरक परेको जस्ता चर्चा चल्ने नै छन् । निर्वाचनको यत्रो अभियानका क्रममा कसैले केही भन्यो भने त्यो खास महत्वको भनाइ मानिने छैन । त्यस्तो भई नै रहन्छ । उम्मेदवारहरूले रातारात पैसा बाँडे भन्ने चर्चा हिजोअस्ति पनि भएकै हो । त्यसमा सत्यता पनि थियो होला र कतिपय काल्पनिक भनाइ पनि जोडिएका थिए होलान् । कतिपय उम्मेदवारहरूले खर्च गरे भनिएको पैसाको परिमाण सुन्दा आश्चर्य लाग्नेछ तर यसमा धेरै सत्यता र केही अतिरञ्जना रहेको छ भन्न जसले पनि सक्छ ।

भोलि निर्वाचन आयोगले त्यसको राम्ररी खोजी गर्‍यो भने चाहिँ त्यसको सत्यता पनि पुष्टि होला । अहिलेका लागि यत्ति भन्नु उचित होला कि लोकतन्त्रको एउटा अभ्यास निर्वाचन नै हो र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भएपछिको दोस्रो कार्यकालका लागि यो अभ्यास पूरा भएको छ । निर्वाचनमा भएका कमीकमजोरीहरूलाई सुधार्दै लगेर लोकतन्त्र जोगाउनु थियो, त्यो भएको छ । लोकतन्त्र जोगियो भने यसको संबद्र्धनका क्रमका भएका अभ्यासहरूमा केही त्रुटि भएका भए तिनमा सुधार गर्दै जान भने नसकिने होइन । यस महाअभियानलाई सफल पार्ने सम्बद्ध सबै धन्यवादका पात्र छन् । निर्वाचनमा जसको पराजय र जसको विजय होस्, त्यो फरक कुरा हो तर यो निर्वाचन सफल हुनु भनेको समग्र प्रणालीको विजय हो भन्नेमा दुईमत रहँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?