गुल्मी–२ मा मतगणना सुरु : विष्ट र झाँक्री मध्ये कस्ले मार्ला बाजी ?

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी  । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं–२ मा सुरु भएको छ । जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा रहेको मतगणना स्थलमा मतगणनाको कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

यस अघि दिउँसो जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले दिउँसो ४ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । निर्धारित समय भन्दा केही अबेर गरी सुरु गरिएको मतगणनामा इस्मा गाउँपालिकाको वडा नंं- १ मा रहेको हिमाल माध्यमिक विद्यालयको केन्द्रमा खसेको मतको मतगणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

अहिले प्रत्यक्ष तर्फको मतगणना चलिरहेको छ । मतगणना स्थलमा सिसिटिभि क्यामेरा सहित कडा सुरक्षा व्यवस्था सहित मतगणनाको कार्यलाई सुचारु गरिएको हो । अहिले एउटा टोलीबाट मतगणनाको कार्य चलिरहेको छ । साथै सोही क्षेत्रको प्रदेश सभाकोे मतगणना समेत गरीनेछ । मतगणना गर्ने प्रत्येक टोलीमा एक उम्मेदवारको तर्फबाट १ जनाका दरले मतगणना प्रतिनिधि राखिएको छ । एक लाख चार हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७७३ मत खसेको थियो ।

यस क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा (एमाले) का केन्द्रीय सचिव गोकर्णराज विष्टबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सोही क्षेत्रको प्रदेश सभा ९क० मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल तथा प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थीबीच प्रतिस्पर्धा हुनेभएको छ ।

त्यस्तै, क्षेत्र नं–१ को मतगणना भने मंगलबारबाट मात्र सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं-१ का सबै पालिकाको मतदान कार्य सम्पन्न भएपनि कालीगण्डकी गाउँपालिकाको वडा नं–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा स्थगित भएको थियो ।

मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको मतदान भोली हुँदैछ । सो निर्वाचन सम्पन्न भएपछि मात्र क्षेत्र नं।१ को मतगणनाको कार्य सुरु गरिने जनाईको छ ।

आइतबार भएको निर्वाचनमा यस जिल्लामा ५७.०४ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीको प्रारम्भिक विवरण अनुसार यस जिल्लामा कुल १ लाख २७ हजार ५४० मत खसेको हो । यस जिल्लामा कुल २ लाख २३ हजार ६१५ मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?