विश्वकप २०२२ मा के-के हुँदैछ पहिलो

Read Time = 3 mins

दोहा । कतारमा विश्वकप २०२२ को सुरुवात भएको छ । यो विश्वकपमा केही नयाँ कुरा देख्न पाइनेछ ।
कतारको पहिलो सहभागिता
कतारले पहिलोपटक विश्वकपमा सहभागिता जनाएको छ । खेलकुदको नियमनकारी निकाय फिफाले आयोजक राष्ट्रलाई विश्वकपमा छनोट चरणमा नगुज्रिइकन सहभागी हुन नपाउने अनुमति दिने नियमअनुसार यसपटक कतार छनोट भएको हो ।

जाडो महिनामा आयोजना भएको पहिलो विश्वकप
विगतमा विश्वकप मे, जुन वा जुलाईमा हुने गरेको थियो । तर, यसपटक कतार २०२२ ले यस्तो परम्परालाई तोड्दै नोभेम्बर–डिसेम्बरमा खेल आयोजना गरेको छ । मेदेखि जुलाई महिनाहरूमा कतारमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ । यसैलाई मध्यनजर गर्दै प्रतियोगितालाई जाडोमा गर्न लागिएको हो । तर, कतारमा जाडो भनेको सापेक्षिक कुरा हो, किनकि त्यहाँको जाडोको औसत तापक्रम करिब ३० डिग्री सेल्सियस हुन्छ, जुन अन्य धेरै मुलुकको गर्मीमा हुने तापक्रम हो ।

पहिलो मुस्लिम आयोजक
कतारलाई आयोजकको अधिकार दिएर फिफाले प्रतियोगितालाई विश्वको नयाँ भागमा लैजान खोजेको छ । यसअघिका २१ विश्वकपमध्ये कुनै पनि मुसलमान बहुल मुलुकमा भएका थिएनन् । कतार भने एक इस्लामिक मुलुक हो र इस्लामिक परम्परा पालना गर्ने मुलुक भएकाले प्रतियोगिताको समयमा केही परिवर्तन गरिएका छन् ।

एउटै शहरमा आयोजना हुन लागेको विश्वकप
कतार हालसम्मको सबैभन्दा सानो विश्वकप आयोजक मुलुक हो । अझ यसपटकको रंगशाला लगभग एउटै शहरमा हुँदैछ । विश्वकप आयोजनाका लागि कतारले बनाएका आठ रंगशाला राजधानी दोहा र मुख्य शहरको छेउछाउ ५० किमी व्यासभित्र छन् । सबै एक–अर्काबाट एक घण्टाको दूरीमा छन् ।

पहिलोपटक महिला रेफ्री
कतार २०२२ मा पहिलोपटक महिला रेफ्रीहरू पनि देखिनेछन् । यामाशिता योशिमी, सलिमा मुकानसांगा र स्टेफनी फ्रापार्ट ३६ फुटबल अधिकारीहरूमध्ये छानिएका महिला रेफ्री हुनुहुन्छ । उहाँहरूको साथमा न्युजा ब्याक, करेन डियाज मेडिना र अमेरिकी क्याथरिन नेस्बिट सहायक (असिस्टेन्ट)का रूपमा कतारमा हुनुहुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?