विश्वकपमा आज : साउदीविरुद्ध स्पष्ट जित चाहन्छ अर्जेन्टिना

Read Time = 9 mins

दोहा । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा साउदी अरेबियाको सामना गर्दैछ । समूह ‘सी’को यो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुनेछ । बहुप्रतिक्षित यस खेलमा अर्जेन्टिनाले विजयी सुरुवात चाहेको छ । कोपा अमेरिकाको उपाधि जितेर आएकाले पनि अर्जेन्टिनाको आत्मविश्वास बलियो छ । २०२१ मा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य उपाधि जितेको थियो । १९८६ को विश्वकप जितेपछि अर्जेन्टिनाले जितेको त्यो नै ठूलो उपाधि हो ।

कप्तान लियोनल मेस्सीका लागि यो अन्तिम विश्वकप हुनेछ । पाँचौँ विश्वकप खेल्न चाहेका मेस्सीले पनि सुखद अन्त्यको विश्वास लिनुभएको छ । लुसेल स्टेडियममा एसियाली राष्ट्र साउदी अरेबियाविरुद्ध अर्जेन्टिना उत्रिँदा धेरैका लागि अर्जेन्टिना नै फेवरेट हुनेछ । यसपछि अर्जेन्टिनाले तुलनात्मकरूपमा मेक्सिको र पोल्याण्डको सामना गर्ने भएकाले अर्जेन्टिनाको ध्येय यस खेलमा जसरी पनि तीन अंक जोड्ने हुनेछ । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलनीले आफूहरूले साउदीको टोलीलाई राम्रोसँग चिनेको र जितका लागि खेल्ने बताउनुभयो ।

‘हामी साउदी अरेबियाको फुटबलबारे राम्रो जानकारी राख्दछौँ । उनीहरू एकदमै राम्रो टोली हो । प्राविधिकरूपमा पनि बलियो छन् । खेलाडीहरू तीव्र छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूले हामीलाई निकै कठिन बनाउनेछन् । यो हाम्रो विश्वकपको पहिलो खेल पनि हो । पहिलो खेल जहिले पनि चुनौतीपूर्ण हुन्छ । तर, यो विश्वकप हो, यहाँ हरेक खेल चुनौतीपूर्ण हुन्छ भनी हामी खेल्नेछौँ ।’

अर्जेन्टिनाको टोलीलाई कुनै दबाब नरहेको र आफूहरूले उत्कृष्ट दिएर खेल्ने प्रशिक्षक स्कोलनीले बताउनुभयो । अर्जेन्टिना विश्वकप उचाल्ने दक्षिण अमेरिकी तीनमध्येको एक देश हो । दक्षिण अमेरिकाबाट ब्राजिलले पाँच र उरुग्वेले दुईपटक उपाधि उचालिसकेका छन् । १९८६ मा डियगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउनुभएको थियो ।

सन् २०१४ को विश्वकपको फाइनलमा पुगेर पनि अर्जेन्टिना उपाधि विमुख भएको थियो । यस्तै, सन् २०१८ को विश्वकपमा अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरियो । यता, साउदी अरेबिया पनि अर्जेन्टिनालाई चुनौती दिन तयार छ । हार्भे रेनाल्डको टोली अर्जेन्टिनाले विश्वकप छनोटमा खेलको १८ मध्ये १३ जित हात पार्दै विश्वकपमा स्थान बनाएको हो । त्यसमा पनि हार जम्मा एकमात्रै थियो । यसअघि उहाँले सन् २०१८ मा मोरक्कोलाई पनि विश्वकपमा उतार्नुभएको थियो । यस वर्ष पनि रेनाल्डले साउदी अरेबियाबाट जादुमय प्रदर्शनको अपेक्षा राख्नुभएको छ ।

‘विश्वकप छनोटमै हामीले कडा प्रतिस्पर्धी देशहरूको चुनौती पार गर्दै आएका हौँ । समूह चरणमा पनि हाम्रा अघि ठूलो चुनौती छ,’ उहाँले भन्नुभयो, ‘हरेक देशको विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्य हुन्छ । हामी पनि त्यही लक्ष्यका साथ अघि बढेका छौँ । अर्जेन्टिना प्रतियोगिताको दाबेदार टोली हो तर उसलाई रोक्ने हाम्रो प्रयास रहनेछ ।’

प्लेयर्स टू वाच
अर्जेन्टिना : लियोनल मेस्सी
पेरिस सेन्ट जर्मनका स्टार मेस्सी पछिल्ला दिनहरूमा राम्रो लयमा हुनुहुन्छ । यस सिजनमा उहाँ २६ गोलमा संग्लन हुनुहुन्छ । ३५ वर्षे मेस्सीका लागि यो अन्तिम विश्वकप हो । अघिल्लो वर्षमात्रै कोपा अमेरिकाको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मेस्सीले यसपटक आफ्नो टोलीलाई च्याम्पियन बनाउन हरसम्भव प्रयास गर्नुहुनेछ । मेस्सीले विश्वकपको समूह चरणमा ६ गोल गर्नुभएको छ ।

साउदी अरेबिया : सालेह अल सेहरी
साउदी अरेबियाका लागि अल सेहरी प्लेमेकर हुनुहुन्छ । एएफसीको तेस्रो चरणको छनोटमा उहाँले प्रहार गर्नुभएको चारवटै सट गोलमा परिणत भएका थिए । उहाँ उक्त छनोटको उच्च स्कोरर पनि बन्नुभएको थियो । प्रशिक्षक रेनाल्डले सेहरीमाथि ठूलो विश्वास गर्नुभएको छ ।

डेनमार्क भर्सेस ट्युनिसिया
डेनमार्क र ट्युनिसिया साँझ पौने ७ बजे आमनेसामने हुनेछन् । यो समूह ‘डी’को पहिलो खेल हुनेछ । डेनमार्कले २०२० को युरोकपमा आश्चर्यजनक नतिजा निकालेको थियो । सुरुवाती दुई खेल हारे पनि लिग चरणमा उसले रसिया र वेल्सलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । यस्तै, क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै सेमिफाइनलमा पुगे पनि सेमिफाइनलमा भने इंग्ल्याण्डसँग रोकिएको थियो । ट्युनिसियाविरुद्ध मैदानमा उत्रिँदा त्यही युरोकपको प्रभावलाई पुनः देखाउने दाउमा डेनमार्क हुनेछ ।

जेलाल केड्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि ट्युनिसियाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अफ्रिका कप अफ नेसन्समा बुर्किना फासोसँग क्वाटरफाइनलमा पराजित भएपछि ट्युनिसियाले जेलाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसपछिका लगातार ६ खेलमा ट्युनिसियाले जित हात पार्दै आफ्नो लय समातेको थियो । प्रशिक्षक जेलालले आफूहरूको लक्ष्य कम्तीमा विश्वको नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताउनुभएको छ ।

मेक्सिको भर्सेस पोल्याण्ड
मेक्सिकोले पोल्याण्डको सामना राती पौने दश बजे गर्नेछ । मंगलबार हुने समूह ‘सी’को यो अर्को खेल हो । यस खेलमा धेरैको नजर पोल्याण्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथि हुनेछ । विश्वकप छनोटमा पनि उहाँले नौ गोल र चार गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

मेक्सिकोविरुद्ध मैदान उत्रिँदा लेवान्डोक्सी आफ्नो लयलाई निरन्तरता दिन चाहनुहुन्छ । पोल्याण्डले पछिल्ला पाँचमध्ये तीन विश्वकप खेलेको छ । तर, सन् १९८६ पछि उसले समूह चरणभन्दा माथि स्थान बनाउन सकेको छैन । विश्वकपको पहिलो खेलको इतिहास भने मेक्सिकोको पक्षमा छ । उसले विश्वकपका ६ मध्ये पाँच पहिलो खेल जितेको छ । सोही कारण पोल्याण्डविरुद्ध तीन अंक जोड्ने दाउमा मेक्सिको हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?