इरानमा सरकारविरोधी प्रदर्शनमा दुई अभिनेत्री पक्राउ

Read Time = 3 mins

तेहरान । सरकारविरोधी प्रदर्शनको खुला रूपमा समर्थन गरेका इरानका दुई अभिनेत्री पक्राउ परेका छन् । अभिनेत्री हेन्गामेह गाजियानी र कातायोअन रियाहीलाई इरानी अधिकारीको विरोधमा काम गरेको तथा साँठगाँठको अभियोग लगाइएको समाचार संस्था इर्नाले जनाएको छ । दुवै अभिनेत्रीहरू टाउको छोप्ने गम्छा (रुमाल) बिना सार्वजनिक स्थानमा प्रस्तुत हुनुभएको थियो ।

उहाँहरूले सरकार विरोधी प्रदर्शनको समर्थनमा यस्तो गर्नुभएको थियो । प्रहरी हिरासतमा रहेकी युवतीको गएको सेप्टेम्बरमा मृत्यु भएपछि इरानमा प्रदर्शन हुँदै आएको छ । २२ वर्षकी महसा अमिनीलाई इरानको अनुशासन प्रहरीले राजधानी तेहरानबाट नियन्त्रणमा लिएको थियो ।

उहाँमाथि हिजाब लगाउनुपर्ने कडा नियम उल्लंघन गरेको आरोप लगाइएको थियो । पक्राउ परेको तीन दिनपछि सेप्टेम्बर १६ मा उहाँको मृत्यु भएको थियो । प्रहरीको ज्यादतीका कारण उहाँको मृत्यु भएको आरोप लाग्दै आएको छ । उहाँको प्रहरीले हत्या गरेको आरोप प्रदर्शनकारीले लगाउने गरेका छन् । तर, प्रहरीले भने ज्यादती नभएको दाबी गर्दै आएको छ ।

अमिनीको निधनपछि इरानमा विशेषगरी युवतीहरूले प्रदर्शन गरे, त्यसको समर्थनमा समाजका अरू पक्ष पनि आएका छन् । महिला तथा युवतीहरूले हिजाब नलगाउने, कपाल काट्ने सहितका अभियान अपनाएर विरोध गर्दै आएका छन् । अभिनेत्रीहरूले पनि सो प्रदर्शनमा ऐक्बद्धता जनाउनुभएको हो । विभिन्न अवार्ड जित्नुभएका दुवै अभिनेत्रीलाई आइतबार पक्राउ गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानी समाचार संस्थाले जनाएको छ ।

‘जेसुकै होस्, तर यो कुरा ख्याल राख्नु म जहिले पनि इरानी नागरिकको पक्षमा उभिनेछु । सायद यो नै मेरो अन्तिम पोष्ट हुन सक्छ’, पक्राउ पर्नुअघि अभिनेत्री गाजियानीले सामाजिक सञ्जालमा लेख्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?