उत्कृष्ट एकजना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने

हिमालय टाइम्स
Read Time = 2 mins

टीकापुर । कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एकजना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो ।

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले गत शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरूमध्येबाट प्रत्येक महिना एकजना पाठकले पुरस्कार पाउने भएका छन् । समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताउनुभयो ।

‘काठमाडौंदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ,’ अर्यालले भन्नुभयोे, ‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ ।’ उहाँले पठन संस्कृति प्रवद्र्धन गर्न शुरुमा एक वर्ष कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने जानकारी गराउनुभयो ।

पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३०-३५ जना नियमित पाठक रहेको बताइएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ । बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करिब दुई दर्जन ल्यापटप र कम्प्युटर रहेको सूचना प्रविधि कक्ष छ । यहाँ बालबालिकालाई कम्प्युटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?