Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्यालिब्रेसन उडान सुरू भएको छ । उक्त विमानस्थलमा एरो थाई जहाजले एक सातासम्म क्यालिब्रेसन उडान सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले जनाएको छ । एरो थाईले मंसिर ११ गतेसम्म विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने बताइएको छ ।

क्यानका अनुसार एरो थाईले दैनिक अधिकतम छ घण्टा उडान गर्नेछ । नयाँ विमानस्थलको यान्त्रिक परीक्षणमा चारवटा प्रविधि तथा उपकरणको परीक्षण गरिनेछ । सो अवधिमा विमानस्थलको डिभिओर, आइएलएस, डिएमआई र पिएपिआईको मुख्य परीक्षण गरिन्छ । क्यालिब्रेसन उडानपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि कम्पनीहरूले अनुमति पाउनेछन् । सरकारले आगामी पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरेको छ ।

यसैबीच नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ । मंसिर १२ देखि काठमाडौं–दिल्ली, दिल्ली-भैरहवा र भैरहवा-काठमाडौं उडान गर्ने भएको हो । जसका लागि क्यानसँग उडान अनुमति माग गरिसकिएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडानका लागि अनुमति मागेको हो ।

अनुमतिपछि एयरलाइन्सले काठमाडौंबाट भैरहवा र भैरहवाबाट दिल्लीका लागि उडान गर्ने बताइएको छ । नेपाल एयरलाइन्सले उडान सुरू गरेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या तीन पुग्नेछ । हाल कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । जजिराले जेठ २ गतेदेखि र हिमालयले कात्तिक १७ गतेदेखि दैनिक चार्टर्ड उडान गरिरहेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?