विजयखर्कको नमुना बस्ती अलपत्र, बस्ती बाख्राको खोरमा परिणत

अलपत्र रामनाथ एकीकृत नमुना बस्ती ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा निर्माण गरिएको एकीकृत नमुना बस्ती अलपत्र परेको छ । एक करोड एक लाख ४४ हजार वजेटमा निर्माण गरिएको रामनाथ एकीकृत नमुना बस्ती अलपत्र परेको हो ।

२०७२ सालको भूकम्पबाट पीडित लाभग्राहीको एकै ठाउँमा आवास निर्माण गर्दै एकीकृत बस्ती विस्तार गर्ने योजना सम्पन्न नहुँदै बस्ती अलपत्र परेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १९ जना लाभग्राहीले पाउने तीन लाखमध्ये दुई लाख ५० हजार, तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), ओखलढुंगाबाट प्राप्त ५२ लाख, स्थानीय शारदाप्रसाद ढकाल र कृष्णकुमारी ढकालले सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि २०७५ सालदेखि भूकम्पपीडित लाभग्राहीलाई आवास घर निर्माण गरिएको हो ।

तर, शौचालय, खानेपानी, विद्युत् विस्तार, रङरोगनलगायतका पूर्वाधारको काम बाँकी नै छ । एउटा घरको कोठालाई बाख्रा खोर तथा कतिपय घरको कोठाभित्र दाउरा, मकैको खोस्टा र ढोड भण्डार गरिएको छ ।

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त ५२ लाखले एकीकृत बस्तीमा आवासबाहेक मेसिनरी पर्खाल, नाली, भ्युटावर, मन्दिर, स्टेज, चिल्ड्रेनपार्क, सडक, पार्किङ, भोजनालयलगायतका संरचना निर्माण गरिएको र १९ जना लाभग्राहीको दुई लाख ५० हजारले घर आवास निर्माण गरिएको हो । प्रथम किस्ताबापतको ५० हजारले भने सम्बन्धित घरधनीले झ्यालढोका हाल्ने, भुइँ ढलान गर्ने र शौचालय व्यवस्था गर्नुपर्ने सहमति भएको थियो ।

हालसम्म एकीकृत बस्तीका दुईवटाबाहेक अन्य घरहरू अलपत्र छन् । १७ लाभग्राही एकीकृत बस्तीमा सर्न सकेका छैनन् । उनीहरूलाई आफ्नो घर कुन भन्ने समेत थाहा छैन । एकीकृत बस्तीको घडेरी सम्याउन नगरपालिकाले जेसिभी उपलब्ध गराएको थियो । वर्षाको बेला भत्किएको पर्खाल मर्मतका लागि एक लाख र गेट निर्माणका लागि ९४ हजार बजेट दिएको थियो भने दुई थान सौर्यबत्ती राखिदिएको थियो ।
तत्कालीन मेयर दिपनारायण रिजालले २०७५ असोज ५ गते शिलान्यास गर्नुभएको एकीकृत बस्ती निर्माणको काममा व्यापक अनियमितता भएको स्थानीयको दाबी छ । ‘निर्माण सम्पन्न गरिसकेपछि जहाँबाट जे-जे गर्नुपर्ने भनेको थियो त्यहीअनुसार काम गरेर वडालाई हस्तान्तरण गरेका थियौँ,’ निर्माण समिति संयोजक प्रमेश ढकालले भन्नुभयो, ‘वडाले नगरपालिकामा पहल गरेर हस्तान्तरण गर्नुपर्ने हो, वडाले त्यो नगर्दा बस्ती अहिलेसम्म यत्तिकै छ ।’

नमुना बस्ती अलपत्रका विषयमा गहन ढंगले अध्ययन गरिरहेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । बुझ्ने र छानबिनका क्रममा रहेको पनि मेयर भट्टराईले बताउनुभएको छ ।
क्याप्सन ः अलपत्र रामनाथ एकीकृत नमुना बस्ती ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?