बाँकेमा ३० प्रतिशत गरिबीको रेखामुनि

हिमालय टाइम्स
Read Time = 6 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको ३०.१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्यांक छ । बाँकेमा एक उपमहानगरपालिकासहित एक नगर र ६ स्थानीय सरकार छन् । तीमध्येको एक हो, जानकी गाउँपालिका । यहाँको आधा जनसंख्या गरिबीको रेखामुनि छ । कुल ४६ हजार जनसंख्या रहेको जानकीमा करिब ४० प्रतिशत गरिबी छ । गाउँपालिकाकी सूचना अधिकारी शोभा कँडेलका अनुसार गाउँपालिकामा अनुमानित ३८ देखि ४० प्रतिशत गरिबी रहेको छ । उहाँले गरिबी निवारणका लागि रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै, खजुरा गाउँपालिकाको गरिब घरपरिवार पहिचान सर्वेक्षणअनुसार १२ सय ७० जना गरिबीको रेखामुनि छन् । खजुरामा कुल जनसंख्या ५५ हजार रहेको छ ।

बैजनाथ गाउँपालिकामा हाल १८ प्रतिशत निरपेक्ष गरिबी छ । गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजनाका अनुसार गाउँपालिकाको बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत छ । आवधिक योजनामा आर्थिक वर्ष २०८२/८३ सम्म निरपेक्ष गरिबी पाँच प्रतिशतमा झार्ने लक्ष्य छ । यस्तै, बहुआयामिक गरिबीमा रहेको जनसंख्या १० प्रतिशतमा झार्ने गाउँपालिकाको लक्ष्य छ ।

यस्तै, राप्तीसोनारी गाउँपालिकाको राप्तीसोनारी घरधुरी सर्वेक्षण २०७५ का अनुसार राप्तीसोनारीमा ५.६ प्रतिशत घरधुरी धेरै गरिब छन् । ३७.८ प्रतिशत गरिब छन् भने निम्न मध्यम वर्ग ३६.१ प्रतिशत रहेका छन् । १७.८ मध्यम वर्ग १.२ प्रतिशत जनसंख्या उच्च मध्यम वर्ग रहेको छ । राप्तीसोनारीमा यस्तै खाद्य निर्भरताका आधारमा आफ्नो आम्दानीमा तीन महिना कम खान पुग्ने घरधुरी १४.७ प्रतिशत छ ।
गाउँपालिकाका सूचना अधिकारी तप्पराज आचार्य आवधिक योजनाअनुसार नै गाउँपालिका गरिबी घटाउने कार्यमा सक्रियरूपमा लागिपरेको बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत गरिबी निवारण गरेर रोजगारी सिर्जना गर्नेखालका कार्यक्रम र बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७७ अनुसार १५ देखि ५९ वर्षसम्मको सक्रिय जनसंख्या ६१ प्रतिशत छ । १५ देखि ३९ वर्षसम्मको अति सक्रिय युवाको जनसंख्या ४९.७ प्रतिशत रहेको छ । बैजनाथ गाउँपालिकामा ५६. २६ प्रतिशत जमिन खेतीयोग्य रहेको छ । डुडुवा गाउँपालिकामा २६ प्रतिशत गरिबी रहेको छ । डुडुवा गाउँपालिकामा कृषि उत्पादनको आत्मनिर्भरताको अवस्था हेर्ने हो भने आठ हजार २७७ जना नागरिकलाई तीन महिनादेखि १२ महिनासम्म खान पुग्ने गरेको घरधुरी सर्वेक्षण २०७५ ले देखाएको छ । त्यसमध्ये तीन महिनासम्म खान पुग्ने घरधुरी संख्या एक हजार ४४६ छ ।

४ देखि ६ महिना खान पुग्ने एक हजार ७९४, ७ देखि ९ महिनासम्म खान पुग्ने एक हजार ७८५ र नौ महिनादेखि एक वर्षसम्म खान पुग्ने तीन हजार २२५ जना रहेका छन् । डुडुवा गाउँपालिकाको कुल जनसंख्याको १७.८४ प्रतिशत नागरिक कृषि र पशुपालनमा निर्भर छन् । गाउँपालिकामा वार्षिक आम्दानी ५० हजारभन्दा कम गर्ने घरपरिवारको संख्या एक हजार २४९ जना रहेका छन् ।

नरैनापुर गाउँपालिकामा आर्थिकरूपमा सक्रिय जनसंख्या ३४ हजार ९४२ जना रहेका छन् । तीमध्ये महिला ४८.९८ र पुरुष ५१.६ प्रतिशत रहेका छन् । यस्तै, गाउँपालिकाको कुल जनसंख्या १८ हजार ५५६ छ । तीमध्ये ५३.११ प्रतिशत जनसंख्या आर्थिकरूपमा सक्रिय छ । आर्थिकरूपमा निष्क्रिय जनसंख्याको प्रतिशत ४६.८९ रहेको छ ।

रोजगारीको पर्याप्त व्यवस्था नहुनु पनि गरिबीको एउटा कारण भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । ‘जनचेतना, शिक्षालगायतले गरिबीको दर शून्यमा झरेको छैन,’ उहाँले भन्नुभयो, ‘तर पनि गरिबीको दर भने घट्दै गएको छ ।’ गरिबीले यहाँका केही नागरिकलाई समस्या हुने गरेको छ । उनीहरू विभिन्न रोग र भोकले छटपटिरहेको अधिकारकर्मीहरू बताउँछन् ।

अपेक्षाअनुसार बाँकेमा गरिबीको दर घट्न नसकेको पालिकाहरूले जनाएका छन् । जनसंख्या दर वृद्धिसँगै गरिबीको दर घटाउन चुनौती भएको पालिकाहरूको भनाइ छ । कोभिड–१९ (कोरोना भाइरस) का कारण पनि गरिबी दरलाई उकास्न केही समस्या भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?