जीप दुर्घटनामा चार प्रहरीको मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा सोमबार बिहान प्रहरी सवार जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४, निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जीप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेशसिंह साउद र विर्खबहादुर विष्ट रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर अन्य आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टिकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक दिनेश महर रहनुभएको छ । घाइतेमध्ये गणेश, पुतली, आशा, भानु र दिनेशलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ । नरेश, गोपाल, टेकेन्द्र र चन्द्र सिंहलाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । धनगढी लगिएकामध्ये नरेश कठरियाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उद्धार पश्यात शुरुमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो ।

जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । जीपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर पाटन फर्कंदै गरेको जीप अनियन्त्रि भएर सोमबार बिहान ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको थियो । चालक बोल्न नसक्ने अवस्थामा रहेका कारण दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?