संसद्मा तीन नयाँ दलको उदय हुँदै, राप्रपा बलियो शक्ति बन्ने आँकलन

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा यसपालि तीन नयाँ दलको उदय हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक मतपरिणअनुसार संसद्मा चार नयाँ दलको उपस्थिति हुने देखिएको हो । चुनावको केही महिनाअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालिको चुनावमा राम्रो नतिजा ल्याउने प्रारम्भिक मत परिणामले देखाएको छ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आधा दर्जन बढी उम्मेदवारले अग्रता बनाएका छन् । प्रत्यक्षमा आधा दर्जन बढी ठाउँमा अग्रता बनाएको रास्वपाले समानुपातिकमा पनि राम्रो मत ल्याउने आंकलन गरिएको छ । देशभरी रविको पक्षमा राम्रो माहौल देखिएको छ । प्रारम्भिक मतपरिणामले रास्वपा राष्ट्रिय दल बन्ने निश्चत बनेको हो । मतदानको दिन पनि देशभर रास्वपाको पक्षमा राम्रो माहोल देखिएको थियो । ठूला दलप्रति असन्तुष्ट मदाताले यसपाली विकल्पको रूपमा रास्वपालाई रोजेको प्रारम्भिक मत परिणामले देखाएको छ ।

रास्वपासँगै स्थानीय चुनावताका दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको पनि संसद्मा उपस्थिति हुने देखिएको छ । कारागारमा रहेका रेशम चौधरी पत्ती रन्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले कैलालीका केही क्षेत्रमा राम्रो नतिजा ल्याउने देखिएको छ । सोमबार अबेरसम्म कैलालीमा तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । अध्यक्ष श्रेष्ठ कैलाली-१ मा निरन्तर अग्र स्थानमा हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा रेशम चौधरी निर्वाचित भएको कैलाली १ मा यसपाली श्रीमती रञ्जिताले बाजी मार्ने प्रारम्भिक मत परिणामले देखाएको छ । कैलाली-३ र ४ पनि नागरिककै उम्मेदवार अगाडि देखिएका छन् । क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्तिकै उम्मेदवार मूख्य प्रतिस्पर्धामा छन् । प्रारम्भिक मत परिणाम हेर्दा नागरिक उन्मुक्ति पार्टीको पनि संसद्मा उपस्थिति हुने निश्चित देखिएको छ । समानुपातिकमा भने नागरिक उन्मुक्तिले कति मत ल्याउँछ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन ।

तराईमा सीके राउत नेतृत्वको जनमुक्ति पार्टीले पनि तराईंमा राम्रो मत ल्याउने देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार जनमुक्ति पार्टीका अध्यक्ष राउत जसपा अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ । राउतसहित जनमुक्ति पार्टीका दुई उम्मेदवार अगाडि छन् । यसपालि जनमुक्ति पार्टीको पनि संसद्मा उपस्थिति हुने देखिएको छ । समानुपातिकमा भने जनमुक्तिले कति मत ल्याउँछ भन्ने यकिन छैन । तराईमा पृथकतावादी गतिविधि गरिरहेको राउत नेतृत्वको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि विगतको भन्दा यसपालि बलियो उपस्थिति हुने देखिएको छ । गत निर्वाचनमा एकजना मात्रै सांसद रहेको राप्रपाले यसपालि सिट संख्या बढाउने देखिएको हो । प्रारम्भिक मत परिणामअनुसार सोमबार अबेरसम्म राप्रपाका चार उम्मेदवार अग्र स्थानमा छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित काठमाडौं-१ मा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, जुम्लामा प्रवक्ता ज्ञानेन्द्र शाही र नेपालगञ्जमा धवलशमशेर राणा अग्र स्थानमा हुनुहुन्छ । गत निर्वाचनमा राष्ट्रिय पार्टीसमेत हुन नसकेको राप्रपाले यसपालि समानुपातिकमा पनि राम्रो मत ल्याउने आँकलन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?