काठमाडौं । योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता बन्नुभएको छ । नेपाली कांग्रेसका उम्मेद्वार २९ वर्षीय योगेश गौचन थकाली नेकपा एमालेका उम्मेद्वार ६० वर्षीय प्रेम तुलाचनलाई पराजित गर्दै आमनिर्वाचन २०७९ को पहिलो विजेता बन्नुभएको हो । योगेश नेपाली कांग्रेस मुस्ताङ जिल्लाका पार्टी सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । योगेश तीन हजार ९९२ मत ल्याएर निर्वाचित हुनुभएको हो । योगेशका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा सात हजार २३० मत खसेको थियो ।
कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्यसमेत रहनुभएका योगेश पार्टीको वडा सभापति र जिल्ला सदस्य हुँदै मुस्ताङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहनुभएको छ । बिबिएसम्मको अध्ययन गर्नुभएका योगेश होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका युवा व्यवसायीसमेत हुनुहुन्छ । योगेश मुस्ताङबाट कांग्रेसको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस हुनुभएको थियो ।
२०७४ को चुनावमा पराजित भएपछि योगेशका बाबु रोमी गौचन थकालीले विशेष परिस्थितिबाहेक चुनाव नलड्ने घोषणा गर्नुभएको थियो । २०७० को चुनावमा झिनो मतान्तरले विजयी हुँदै संसद् प्रवेश गर्नुभएका रोमी वाणिज्य तथा आपुर्तिमन्त्री हुनुभएको थियो । त्यसअघि गिरिजाप्रसाद कोइरालाको सरकारमा रोमी परराष्ट्र सहायकमन्त्री हुनुभएको थियो । २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेद्वार एमालेका प्रेम तुलाचनसँग रोमी झिनो मतले पराजित हुनुभएको थियो । एमालेले पाँच वर्ष पहिले कै उम्मेदवारलाई दोहोर्याएपनि २०७४ को निर्वाचनमा आफ्नै बाबुलाई हराउनुभका प्रेमप्रकाशविरुद्ध योगेशले बदलासमेत लिनुभएको छ ।
निर्वाचनअघि सत्तागठबन्धनले गरेको एउटा चुनावी आकलनमा मुस्ताङका कांग्रेस उम्मेदवार योगेश गौचन थकालीलाई एलो जोन (कम सुरक्षित) मासमेत राखेको थिएन । तीन सुरक्षा निकायले दिएको रिपोर्टका आधारमा २९ कात्तिकमा गठबन्धनले तयार गरेको एउटा चुनावी आंकलनमा कांग्रेस उम्मेदवार योगेश जित्दै नजित्ने क्षेत्र अर्थात् ‘रेड जोन’ का उम्मेदवारका रुपमा हुनुहुन्थ्यो । तर, आइतबार भएको निर्वाचनमा योगेश एमाले उम्मेदवार प्रेमप्रकाश तुलाचनलाई पराजित गर्न सफल हुनुभएको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा कहिले जित र कहिले हार बेहोर्दै आउनुभएका रोमीलाई यसपटक नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो । तर, उहाँले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर छोरा योगेशलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउनुभएको थियो ।
यसरी उम्मेदवार बनाइएका छोराले आम निर्वाचन-२०७९ मा नेपाली कांग्रेसलाई पहिलो जित दिलाउनुभएको छ । त्यसो त बुवा रोमी पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचित हुने पहिलो जिल्ला सभापति हुनुहुन्छ । रोमी मुस्ताङबाट निर्विरोध सभापति चुनिनुभएको थियो ।
दुर्ई-दुई पटक मन्त्री भइसक्नुभएका व्यक्ति ‘लो प्रोफाइल’ को जिल्ला मानिने मुस्ताङ कांग्रेसको सभापति भएकोमा महाधिवेशनको बेला कांग्रेसवृत्तमा आश्चर्य व्यक्त गरिएको थियो । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०५९ र २०६४ मा केन्द्रीय सदस्य मनोनित गर्दा रोमीले त्यसलाई अस्वीकार गर्नुभएको थियो । आफूलाई ‘कांग्रेसभित्रको क्रान्तिकारी’ परिभाषित गर्दै क्रान्तिकारीका लागि मनोनित पद स्वीकार्य नहुने रोमीको प्रतिक्रिया थियो । मुस्ताङमा कांग्रेसलाई विजय गराउनकै लागि दुई पटक मन्त्री भइसक्नु भएका व्यक्ति जिल्ला सभापति बनेको रोमीको कथन प्रमाणित भयो । आफ्ना छोरा योगेशलाई प्रतिस्पर्धामा उतारेर मुस्ताङमा कांग्रेसको झण्डा फहराउन रोमी सफल हुनुभएको छ । ६ महिनाअघि गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा नेकपा एमालेले जितेको थियो । तर, ६ महिनापछिको चुनावमा भने कांग्रेसले बदला लिएको छ ।
वडाध्यक्षमा पराजित गुरुङ प्रदेशसभा सदस्यमा विजयी
हिमालपारिको मुस्ताङ जिल्लाको प्रदेशसभा (क) मा कांग्रेसका नाम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङले एक हजार ४८ मत पाउँदा एमालेका उम्मेद्वार इन्द्रधारा ड्याडु विष्टले ७९३ मतमात्रै प्राप्त गर्नुभयो । उहाँहरूबीच २५५ मत फरक छ । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद हुनुहुन्थ्यो । उक्त क्षेत्रमा एक हजार ८५५ मत खसेकोमा १४ मत बदर भएका छन् । विजेता गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर–४ को वडा अध्यक्षमा पराजित हुनुभएको थियो । यतिबेला गुरुङले ९९ मत ल्याउँदा एमालेका छिरिङ धिण्डु गुरुङले १२६ मत ल्याएर विजयी हुनुभएको थियो ।
यस्तै, मुस्ताङको प्रदेशसभा (ख) मा पनि कांग्रेसका विकल शेरचन विजयी हुनुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई १७६ मतान्तरले पराजित गर्नुभएको हो । शेरचनले एक हजार ७४६ मत ल्याउँदा एमालेका गौचनले एक हजार ५७० मत प्राप्त गर्नुभयो । योसँगै नेपाली कांग्रेसले मुस्ताङ जिल्लामा ‘क्लिन स्विप’ गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच